News

Jun 25, 2010

अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्वस सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/राजेश राई
राजधानीमा आज (शुक्रबार) देखि चौथो अन्तर्राष्ट्रिय आदिवासी जनजाति फिल्म महोत्वस सुरु हुँदै छ । 'ज्ञानको हस्तान्तरण' मूल लक्ष्यसहित इन्डिजिनियस फिल्म आर्काइभ (आइफा) को आयोजनामा हुन लागेको महोत्सवमा १२ देशका ३३ जनजाति फिल्म प्रदर्शन गरिँदै छ ।राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा नेपाली १४ र १९ विदेशी आदिवासी फिल्मका साथै डकुमेन्ट्री, छोटा फिल्म र म्युजिक भिडियोसमेत प्रदर्शन हुनेछ । महोत्सवका निर्देशक दीपेन्द्र लामाका अनुसार महोत्सवमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, अर्जेन्टिना, स्विडेन, नर्वे र कम्बोडियाका फिल्म सहभागी छन् । त्यस्तै, नेपालका राई, लिम्बू, मगर, तामाङ, नेवार, गुरुङ, सुनुवार, धिमाल, सौका र बान्तावा राई मातृभाषाका फिल्म प्रदर्शन हुनेछ । प्रदर्शित फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः गोल्डेन ड्रम, सिल्भर ड्रम र ब्रोन्च ड्रम प्रदान गरिनेछ । यस्तै, दर्शकले छनोट गरेको एउटा फिल्म र अर्को एउटा फिल्मलाई प्रोत्साहनस्वरूप क्रिटिक्स अवार्ड दिइनेछ । महोत्सवमा प्रदर्शन हुने सबै फिल्म आदिवासी जनजातिको इतिहास, संस्कृति, जनजीवनको विषयमा निर्माण गरिएको निर्देशक लामाले बताए । मातृभाषा र अन्य विदेशी भाषाका फिल्म भने नेपालीमा सबटाइटल राखेर प्रदर्शन गरिँदै छ । फिल्म छनोटका लागि युवराज लामाको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिति बनाइएको छ । समितिमा समाजशास्त्री कृष्ण भट्टचन, रंग पत्रकार अशोकप्यासी राई, रंगकर्मी शोभा चन्द र अनुभव अजित छन् । महोत्सव प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति अम्बर गुरुङ र ललितकला प्रतिष्ठानका कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गर्दै छन् ।

No comments: