News

Jun 28, 2010

कर्जाईद्वारा तालिवानसँग भेटवार्ता गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल/ अफगानी राष्ट्रपति हमिद कर्जाईले सशस्त्र विद्रोही समूहका नेता सिराजुद्दिन हक्वानीसँग भेटवार्ता गरेका छन् । अलजजिरा टेलिभिजनका अनुसार, गत साताको सुरुतिर हक्वानी र कर्जाईको भेटघाट भएको हो । भेटघाटमा पाकिस्तानी सैनिक प्रमुख र खुफिया एजेन्सीका प्रमुख पनि सहभागी भएको अलजजिरा स्रोतले बताएको छ । हक्वानीको सन्जाल अफगानिस्तान-पाकिस्तान सीमामा क्रियाशील रहेको विश्वास गरिएको छ । संयुक्त राज्य अमेरिकाले हक्वानीको सन्जाललाई अफगानिस्तानमा क्रियाशील तीन मुख्य सरकारविरोधी हतियारधारी समूहमध्ये एक मानेको छ । अन्य सरकारविरोधी दुई मुख्य सशस्त्र समूहमा तालिवान र अल-कायदा रहेका छन् । हक्वानीको समूहले काबुल र अफगानिस्तानका अन्य स्थानमा ठुल्ठूला आक्रमण गरेको छ ।तर, राष्ट्रपति कार्यालयले भने हक्वानीसँग त्यस्तो कुनै भेटवार्ता नभएको आइतबार जनाएको छ । यसैगरी, पाकिस्तान सेनाका प्रवक्ता मेजर जनरल अख्तर अब्वासले पनि त्यस्तो कुनै भेटघाटको जानकारी नभएको बताएका छन् । पाकिस्तानको मध्यस्थतामा अफगानिस्तानमा क्रियाशील सशस्त्र समूह र सरकारबीच सम्झौता हुन लागेको अनुमान गरिएको छ ।
अमेरिकी युद्ध प्रयास कमजोर हुँदै गएको र ह्वाइटहाउसले २०११ जुलाईबाट सैनिक फिर्ता गर्न सुरु गर्ने योजना रहेकाले अफगानिस्तान पाकिस्तानसँग नजिकिँदै गरेको विश्लेषकले बताएका छन् ।केही समयअघि मात्र तालिवानका विरोधीका रूपमा चिनिएका अफगानी गृहमन्त्री र गुप्तचर संस्थाका प्रमुखले राजीनामा दिएका थिए ।

No comments: