News

Nov 6, 2010

अख्तियारका सचिवलाई सरुवा गर्ने प्रधानमन्त्रीको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ कात्तिक,नेपाल वायुसेवा निगमको जहाज खरिद-प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय-प्रक्रिया रोक्दै आइरहेका प्रधानमन्त्री माधवकुमार नेपालले अन्ततः आयोगका सचिव नै फेर्ने गृहकार्य सुरु गरेका छन् । यसअघि उनले अख्तियारका सचिव भगवतीकुमार काफ्लेलाई बालुवाटारमै बोलाएर निगमबारे थप अनुसन्धान नगर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री नेपालले अख्तियारका सचिवलाई फिर्ता बोलाउने विषयमा निकटस्थ मन्त्री तथा सचिव हेरफेर गर्नेसम्मको छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् निकटस्थ स्रोतको दाबी छ । 'सचिव काफ्लेलाई हटाई अनुकूलको सचिव राख्ने गृहकार्य सुरु भएकाले अनुकूलको सचिव खोजी भइरहेको छ,' स्रोतले भन्यो । सो प्रकरणमा अख्तियारले निगमका अध्यक्ष सुगतरत्न कंसाकारले जहाज खरिद-प्रक्रियामा अनियमितता गरेको निष्कर्षसहित उनलाई हदैसम्मको कारबाही र बिगोसहितको जरिवाना गर्ने निर्णय गर्न खोजेको थियो । तर, प्रधानमन्त्रीको कडा दबाबबीच अख्तियारले त्यस्तो निर्णय गर्न सकेको छैन ।प्रधानमन्त्री नेपालले काफ्लेलाई बोलाई वायुसेवा निगमले चालेको प्रक्रिया र अध्यक्ष कंसाकारविरुद्ध निर्णय नगर्न दबाब दिएपछि आयोगका प्रमुख आयुक्तको समेत जिम्मेवारी पाएका सचिव काफ्ले हच्किएका हुन् । जहाज खरिदबारे अख्तियारले गत आइतबार नै निर्णय गर्ने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीको निर्देशनअनुसार मुख्यसचिव माधव घिमिरेले आइतबार बिहान आयोग सचिव काफ्लेसँग गोप्य भेटघाट गरी जहाज खरिद-प्रकरणमा अख्तियारको निर्णय रोक्न दबाब दिएका थिए ।

No comments: