News

Nov 16, 2010

नियमावली संशोधनका लागि संसदमा प्रस्ताव दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) सहितका आठ राजनीतिक दलले पटकपटक निर्वाचन गरिरहँदा पनि प्रधानमन्त्रीको चयन हुन नसकेको भन्दै आज व्यवस्थापिका-संसदको कार्यसञ्चालन नियमावली संशोधन गर्न संसद सचिवालयमा सूचना दर्ता गरेका छन् ।संयुक्तरुपमा सो सूचना दर्ता गराउनेमा एनेकपा (माओवादी), नेकपा -एमाले), राष्ट्रिय जनमुक्ती पार्टी, मधेसी जनअधिकार फोरम, नेपाली जनता दल, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेकपा (माले-समाजवादी) र नेपाः राष्ट्रिय पार्टी रहेका छन् ।प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा १६ औँ पटकसम्म निर्वाचन हुँदासमेत सकारात्मक परिणाम नआएपछि अहिलेको निर्वाचन प्रक्रिया अन्त्य गर्न संसदको नियमावली संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको सो सूचनामा उल्लेख गरिएको छ ।प्रधानमन्त्री चयनका सन्दर्भमा दर्ता भएका निवेदनमध्ये पहिलो निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका दुईवटा प्रस्तावलाई पुनः निर्णयार्थ प्रस्तुत गर्ने र सो निर्वाचनमा कसैले बहुमत नपुर्‍याएमा पुनः अन्तिम पटकका लागि निर्वाचन हुने र त्यसमा पनि कसैले बहुमत नल्याएमा सो निर्वाचन प्रक्रिया नै अन्त भएको सभामुखले घोषणा गर्नसक्नेगरी संशोधन प्रस्ताव गरिएको छ ।हाल संसदको नियमावलीमा प्रधानमन्त्रीका कुनै उम्मेदवारले संसदको बहुमत प्राप्त नगर्दासम्म निर्वाचनलाई सभामुखले निरन्तरता दिनुपर्ने प्रावधान छ ।

No comments: