News

Dec 29, 2010

प्राधिकरणको बक्यौता साढे ६ अर्ब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक वर्ष २०६६/०६७ सम्म नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बक्यौता ६ अर्ब ५७ करोड रुपियाँ पुगेको छ। प्राधिकरणले महसुल उठाउन ताकेता नगर्दा र सरकारको लापरबाहीले करिब १ अर्ब युनिट विद्युत्को महसुल उठेको छैन। गत आवमा ५ अर्ब ३८ करोड रुपियाँ रहेको महसुल बक्यौतामा यो वर्ष १ अर्ब १९ करोड रुपियाँ थपिएको हो। हरेक वर्ष लोडसेडिङसँगै विद्युत् महसुल पनि बक्यौता रहँदै आएको छ। महसुल नतिर्नेमा महानगरपालिका तथा नगरपालिका सरकारी निकाय र औद्योगिक संस्थानलगायतका क्षेत्रहरु रहेका छन्।महसुलको कुल बक्यौतामध्ये सबैभन्दा बढी घरायसी प्रयोग महानगरपालिका तथा नगरपालिकाहरुको रहेको छ। हालसम्म नगरपालिकाहरुले करिब २० करोड युनिटभन्दा बढीको १ अर्ब ३५ करोड रुपियाँ महसुल तिरेका छैनन्। यस्तै सरकारी कार्यालयहरुको महसुल बक्यौता ४० करोड रुपियाँ रहेको प्राधिकरणले जानकारी दिएको छ। काठमाडौं उपत्यकाको मात्र १ अर्ब ५ करोड रुपियाँ बक्यौता रहेको छ।प्राधिकरणले औसत ६ रुपियाँ ७० पैसा प्रतियुनिटमा ग्राहकलाई विद्युत् बेच्दै आएको छ। यसैका आधारमा घरायसी प्रयोजनका रुपमा प्रयोग हुँदै आएको करिब ३८ करोड युनिट विद्युत्कॊ २ अर्ब ५२ करोड रुपियाँ महसुल बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ। यस्तै सरकारी कार्यालयहरुले करिब ६ करोड युनिट विद्युत्को ४० करोड रुपियाँ महसुल तिरेका छैनन्। ग्रामीण क्षेत्रमा विद्युत् उत्पादन गरिरहेका साना तथा मझौला आयोजनाको करिब ४ करोड ५३ लाख रुपियाँ महसुल उठ्न बाँकी छ।

No comments: