News

Jan 5, 2013

नेपाली सेनाका कर्णेल कुमार लामालाई दुई अभियोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पुस २१ - बिहीबार बेलायतमा पक्राउ परेको नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले युद्धको क्रममा दुई जना मानिसलाई जानाजान यातना दिएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । सुडानका लागि शान्ति मिसनमा खटिएका कर्णेल लामा बेलायतमा रहेको परिवार भेट्न ससेक्सस्थित आफ्नो घर पुगेका थिए । उनलाई बेलायती प्रहरीको प्रति आतंकदाबी व्यूरोको टोलीले पक्राऊ गरेको थियो । उनलाई तेस्रो पक्षले दिएको सूचनाको आधारमा पक्राउ गरिएको बीबीसीले जनाएको छ । नेपालमा भएको सशस्त्र द्वन्द्वको क्रममा दुई व्यक्तिलाई जानीजानी यातना दिएको आरोप लागेको छ । सन् २००५ अपि्रल र मे महिनामा ती दुई व्यक्तिलाई यातना दिएको आरोप लगाइएको छ । उनीबारे थप अनुसन्धान गरी उनलाई वेस्टमिनिस्टर म्याजिस्टे्रट कोर्टमा उपस्थित गराइने प्रहरीको भनाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । लामालाई बेलायतको फोजदारी न्याय ऐन १९८८को धारा १३४ अन्तर्गत पक्राउ गरिएको हो । बेलायती प्रहरीमा भएका युद्ध अपराधसम्बन्धमा अनुसन्धान गरी बिशेषज्ञता हासिल गरेको टोलीले यसबारे छानबिन गर्छ । बेलायतको फौजदारी न्याय ऐनले युद्ध अपराध, यातनाजस्ता अपराध अभियोग लागेका व्यक्तिलाई बेलायती प्रहरीले पक्राउ गरी कारवाही गर्न सक्छ । नेपाली सेनाका बहालवाला कर्णेल बेलायतमा पक्राउ परेको प्रति नेपाल सरकारले यसअघि नै आपत्ति जनाइसकेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसलाई नेपाली स्वाधिनतामाथिको हस्तक्षेप भनी टिप्पणी गरेका छन् । सरकारले नेपालस्थित बेलायति राजदुत जोन टकनटलाई यसबारे बिरोध पत्र (प्रोटेस्ट नोट) बुझाइसकेको छ । बेलायती प्रहरीले यसअघि पनि बिभिन्न व्यक्तिलाई यस्तै अभियोगमा पक्राउ गरी कारवाही चलाइसकेको छ ।

No comments: