News

Mar 24, 2008

पुर्वका ९ जिल्ला पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्रको घोषणा (दमक)

लिम्वूवान डट व्लगस्पोट डटकम,कञ्चन लिम्वू, दमक, चैत्र, १०
संविधानसभाको चुनाव नजिकिंदै गर्दा पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्च नामक एक संगठनले पूर्वका ९ वटा जिल्लालाई " पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्र " को घोषणा गरेका छन् । मञ्चले आइतवार दमकमा एक कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन् । सो कार्यक्रममा पल्लो किरात लिम्बूवान राष्ट्रको प्रस्तावित राष्ट्रिय झण्डा पनि प्रदर्शन गरिएको थियो । रातो रंगमा वरिपरि निलो रंगको किनारा रहेको आयातकार सो झण्डा भित्र माथि आठ कुने सुर्य र मुनी फक्ताङलुङ (कुम्भकर्ण) हिमालको आकृति रहेको छ । कार्यक्रम सकिएपछि मञ्चका उपस्थित सयौंको सँख्यामा रहेको कार्यकर्ताहरुले स्वतन्त्र र शान्तिपूर्ण राष्ट्रको माग गर्दै जुलुश प्रदर्शन गरेका थिए । किरात भवनबाट बाजागाजासहित निस्किएको जुलुशले दमक चौक र नगरका केही भाग परिक्रमा गरेका थिए । उनीहरुले स्वतन्त्र राष्ट्र घोषणा भएको भन्दै दमक चौकमा पटका पड्काएर हर्षोल्लास मनाएका थिए । मञ्चले आइतबार साँझ नै पत्रकार सम्मेलन आयोजना गरी पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्र रहेको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा मञ्चका प्रमुख सल्लाहकार चन्द्रप्रसाद योङयाले वि.सं. १८१४ मा पृथ्वी नारायण शाहले सन्धिमार्फत राज्यसत्ता हडपेको तर्क प्रस्तुत गर्दै अव स्वतन्त्र पल्लो किरात लिम्बूवान राष्ट्र हुनुपर्ने बताए । योङयाले पल्लो किरात लिम्बूवान राष्ट्र अव नेपालको नक्सा भित्र अटाउन नसक्ने बताए । पत्रकारहरुको प्रश्नको जिज्ञासा मेटाउँदै योङयाले त्यो स्वतन्त्र राष्ट्र एक्काइसौं शताब्दी अनुसारको लोकतान्त्रिक पद्धतिको शासन व्यवस्था हुने बताउनुभयो । पल्लो किरात राष्ट्र इतिहासदेखि नै स्वतन्त्र रही आएको प्रमाण भएकोले आफूहरु पृथकतावादी नभएको योङयाको कथन थियो । स्वतन्त्र राष्ट्रको घोषणा भइसकेले पल्लो किरात राष्ट्रभित्र गरिने संविधानसभाको चुनाव मञ्चलाई अस्विकार्य रहेको बताउँदै उहाँले निर्वाचनमा सहभागी नहुने जानकारी दिनुभयो । सोही पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष डम्बर लावती र महासचिव शेर्माहाङ याक्थुङवाद्धारा हस्ताक्षरित विज्ञप्ति पनि जारी गरिएको थियो । जारी विज्ञप्तिमा पृथ्वी नारायण शाह, त्रिभुवन हुँदै महेन्द्र राजाले स्वतन्त्र पल्लो किरात लिम्बूवान राष्ट्रमा हस्तक्षेप गरेको बताउँदै सो कुराले लाखौं लिम्बूवानवासीको भावनामा कुठाराघात भएको ठहर गर्दै त्यसको तत्काल खारेजीको माग गरिएको छ । साथै लिम्बूवान स्वतन्त्र राष्ट्रको मुद्धा अर्न्तराष्ट्रिय अदालतमा पुर्‍याउने पहल भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

No comments: