News

Mar 12, 2008

लिङदेन पक्षधरलाई पालुङवा पक्षधरले कारबाहीको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बूवान राज्य परिषद् सञ्जुहाङ पालुङवा पक्षधरले आफूबाट फुटेर गएको लिङदेन पक्षधरलाई कारबाहीको घोषणा गर्दै सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।फागुन २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटीको बैठक झापाको विर्तामोडमा सम्पन्न गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । पालुङवा पक्षधरले आफूबाट फुटेर गएको लिङदेन पक्षधरलाई ‘नालायकीपन’को सँज्ञा दिंदै लिङदेन पक्षधरका कुमार लिङदेनलगायतका १५ जनालाई परिषद्को साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । बैठकको निर्णय सार्वजनिक गर्दै सातदल सम्मिलित सरकारी वार्ता टोलीसँग वार्ता गरी आफ्ना मागहरु पूरा गराउन सञ्जुहाङ पालुङवाको संयोजकत्वमा छ सदस्यीय वार्ता टोली गठन गरेको छ । यसरी सरकारसँग वार्ता गर्ने टोलीमा फागोहाङ बनेम, छवी सङ्वाङझे, दिलेन्द्र कुङम्बाङ, निसाम्सा सिंघङ र सुरेन्द्रप्रकाश जवेगु सदस्य रहेका छन् । वार्ताका लागि पालुङवा पक्षधरलाई वार्तामा बस्न यसअघि नै पत्र पठाइसकेको छ भने जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्तराज्य घोषणा सुनिश्चितताको माग उठाउँदै आएको परिषद्ले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै चैत १देखि आन्दोलनको घोषणासमेत गरेको छ ।

No comments: