News

Nov 1, 2008

महासचिव मुनद्वारा संविधानसभालाई सम्बोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महामहिमहरू, संविधानसभाका सम्माननीय अध्यक्ष
सुभाषचन्द्र नेम्वाङ,
यो संविधानसभालाई सम्बोधन गर्न पाउने संयुक्त राष्ट्रसंघको पहिलो महासचिव हुन पाएकोमा म गौरवान्वित छु । यहाँहरूको मुलुकले हासिल गरेको ऐतिहासिक रूपान्तरण र यसमा तपाईँहरूले खेल्नु भएको उल्लेखनीय भूमिकाका लागि म हार्दिक बधाई दिन चाहन्छु । अगष्ट र सेप्टेम्बरको विनासकारी बाढीका कारण भएको जनधनको क्षतिबाट म मर्माहत भएको कुरा पनि यहाँ बताउन चाहन्छु । नेपालस्थित राष्ट्रसंघीय निकायहरू तथा मिसनले नेपाल रेडक्रससँग निकटतम सहकार्य गरेको ठूलो मात्रामा राहत सामग्री बाढी पीडितसम्म पुर्‍याएका छन् । निरन्तर राहत वितरण तथा पुनस्थापनाका काममा नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारलाई निरन्तर सहयोग गरिरहेको छ । हामी तपाईँहरूको प्रगति, सुरक्षा र कल्याणमा समर्पित साझेदार हौं । महामहिमहरू,चैतमा यहाँ सम्पन्न भएको निर्वाचनले नेपाली जनताको भावना प्रस्फुटित भयो र उनीहरूले शान्ति, विकास र परिवर्तनका बारेमा आवाज उठाए । यो संविधानसभा तपाईँहरूको देशको इतिहासकै सबैभन्दा समावेशी व्यवस्थापिका हो । यो कक्षमा हेर्दा म नेपालका जनता र साँस्कृतिक विविधताको वैभव देख्दैछु ।यो संविधानसभा नै तपाईँहरूको उल्लेख्य प्रगतिको प्रमाण हो । नेपाली जनताको नयाँ र समृद्ध भविष्यका आशाहरूलाई मूर्त रूप दिन ठूलो सम्भावना सामुहिक रूपमा तपाईँहरूले बोक्नु भएको छ । तपाईँहरू सबैजना र नेपालका सम्पूर्ण जनताले शान्ति प्रक्रियालाई अगाडि बढाउनु भएको हो र यस ऐतिहासिक परिवर्तनको हिस्सा हुन पाएकोमा संयुक्त राष्ट्रसंघ गौरवान्वित छ । तपाईँहरूको साझेदारका हैसियतमा हामीले विभिन्न ठोस कदमहरू चालिरहेका छौं । उदाहरणका लागि राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपालको राष्ट्रसंघीय शान्ति
कोषका लागि एक करोड डलर निकासा गरेको छ । यो रकम स्थानीय स्तरका शान्ति निर्माण कार्यक्रमहरूमा खर्च गरिने छ । यसैगरी यो रकम पूर्व लडाकुहरूलाई पुनस्थापना, युवा रोजगारी सिर्जनालगायत अन्य कार्यक्रमहरूमा पनि खर्च गरिनेछ ।मैले प्रधानमन्त्री प्रचण्डलाई न्युयोर्कमा भेट्दा उहाँले राष्ट्रसंघीय सहयोगमा नेपाललाई "शान्तिका लागि नमूना" बनाउन चाहेको उल्लेख गर्नुभएको थियो । यो सुन्दर लक्ष्य हो । यसको अर्थ हामी दुबैको काँधमा महत्वपूर्ण जिम्मेवारीहरू हुनेछ । नेपालको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका लागि मेरो व्यक्तिगत सहयोग र सम्पूर्ण संयुक्त राष्ट्रसंघको सहयोग रहने कुरामा विश्वस्त पार्न चाहन्छु । हामीले आफ्नो जिम्मेवारी बहन गर्ने नै छौं र तपाईँहरूले त्यसै गर्नका लागि प्रोत्साहन गर्छु । शान्ति प्रक्रियाको निरन्तर प्रगतिले नै अन्तर्राष्ट्रिय सहयोगलाई सुनिश्चित गर्नेछ ।तत्कालको सबैभन्दा ठूलो चुनौतीमा माओवादी लडाकुहरूको समायोजन र पुनस्थापना गर्नु हो । यस सन्दर्भमा माओवादी सेनाका सदस्यहरूको समायोजन, पुनस्थापना तथा निरिक्षणका लागि विशेष समितिको हालै गरिएको गठनको म स्वागत गर्छु । म उक्त समितिमा प्रतिनिधित्व गर्ने पक्षहरूलाई समितिको महत्वपूर्ण काम चाँडोभन्दा चाँडो सुरु गर्न प्रोत्साहित गर्छु । यसैगरी म सरकारलाई उमेर नपुगेका र योग्य नठहरिएका लडाकुहरूको औपचारिक बिदाइको प्रव्रिmया छिटो सुरु गर्न आव्हान गर्छु ।नेपाली महिलाहरूले द्वन्द्वको सबैभन्दा बढी पीडा झेलेका छन् । शान्तिको सुदृढीकरणका लागि अनेकन उपायद्वारा कार्यरत नेपालका कयौँ महिलालाई म यहाँ सम्मान प्रकट गर्न चाहन्छु । शान्ति प्रक्रियाका हरेक तहमा सम्भव भएसम्म महिलाहरूलाई समावेश गरियो भने यो प्रक्रिया अझै बढी सशक्त हुन्छ ।शान्तिलाई दिगो बनाउन द्वन्द्वका आला घाउहरूलाई पुर्ने प्रयास गर्नु पनि आवश्यक छ । यसको अर्थ बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गरिनुपर्छ र पीडितहरूलाई क्षतिपूर्ति दिइनुपर्छ । यसको अर्थ विस्थापित व्यक्तिहरूलाई घर फर्कन सक्षम तुल्याउनु पनि हो । यसैगरी विगतमा भएका मानवअधिकारको हननको अपरिहार्य रूपमा दुखका साथ आत्मस्वीकारोक्ति र दण्डहिनताको अन्त्य गर्नु पनि हो ।तपाईँहरूले नयाँ संविधानको निर्माण गर्नैपर्छ । यो अत्यन्तै कठिन त हुनेछ तर अभूतपूर्व प्राप्ति पनि हुनेछ । यस प्रक्रियामा तपाईँहरूको राज्य पुनसंरचनाजस्ता चर्का विषयहरूको सामना गर्नुपर्नेछ । तपाईँहरूले राष्ट्रिय एकतालाई कायम राख्दै विभिन्न जातीय समूहहरूलाई सशक्त तुल्याउने संघीय राज्यको सिर्जना गर्नुछ ।मलाइ आशा छ तपाईँहरू सहकार्यको भावनासहित अघि बढ्नु हुनेछ । छलफलको माध्यमबाट तपाईँहरूले एउटा साझा लक्ष्य बनाउन सक्नुहुन्छ । यो पुस्तौं पुस्ताका लागि स्थिर नेपालको जग निर्माण गर्ने ठूलो अवसर हो । म तपाईँहरूलाई आफ्नो नातिनातिनाहरू र उनीहरूका पनि नातिनातिनाहरूलाई राष्ट्रको इतिहासमा तपाईँको भूमिका गौरवका साथ सम्झने वातावरण बनाइ दिन आग्रह गर्दछु ।तपाईँहरू जनताका ऋणी हुनुहुन्छ । उनीहरूले शासनमा प्रगति देख्नुपर्छ । उनीहरूले शान्तिको प्रतिफलको अनुभूति पाउनुपर्छ । उनीहरूलाई रोजगारीका अवसर, स्वास्थ्य सेवा र शिक्षा माथिको पहुँचमा सुधार आवश्यक छ । अहिले विश्वव्यापी रूपमा देखिएको वित्तीय संकट अनि खाद्यान्न र इन्धनको मुल्य नाटकीय रूपले बढेको समयमा त्यसको अझै आवश्यकता छ । विश्वभरि नै अति गरिब मानिसहरू यी अन्तरसम्बन्धित संकटबाट ग्रस्त भइरहेका छन् । हरेक दिन धेरै मानिसहरू गरिबी र भोकमरीमा फसिरहेका छन् । उनीहरूको आवाज सुनिनुपर्छ र उनीहरूको व्यथालाई बुझ्नुपर्छ । म सबै सरकारहरूलाई सहस्राब्दी विकास लक्ष्यमा पुग्ने र जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्ने आफ्नो प्रतिबद्धताबाट पछि नहट्न आव्हान गरिरहेको छु ।यो संकटको घडीमा हाम्रो विचार दुरदर्शी हुनुपर्छ । हामीले हाम्रो पृथ्वी र यहाँ जोखिममा परेका मानिसहरूको संरक्षण गरेमात्र हाम्रो भविष्य सुरक्षित हुन्छ । धेरै नेपालीहरूले दुखकष्ट भोगिरहेको कुरा मलाइ थाहा छ । महत्वपूर्ण विकास सहायता वा रेमिन्टेन्समा गिरावट जस्ता अतिरिक्त समस्याहरूका लागि नेपालसँग शाब्दिक तथा आलङ्कारिक रूपमा "कुनै शक्ति" छैन । नेपालस्थित राष्ट्रसंघीय टोलीले भोकालाई सहयोग गर्न र भविष्यमा खाद्य सुरक्षा हासिल गर्न सरकारसँग सहकार्य गरिरहेको छ । अझ भन्नुपर्दा, नेपालको राजनीतिक रूपान्तरण सामाजिक र आर्थिक रूपान्तरण सँगसँगै अघि बढ्न सक्छ र बढ्नुपर्छ भन्ने मलाई विश्वास छ । चराका दुइवटा पखेटा झैँ यस देशलाई अघि बढ्न दुबै पक्षहरू आवश्यक छन् ।तपाईँहरूले विभिन्न परीक्षाहरू पार गरिसक्नु भएको छ । हरेकपटक तपाईँहरूले मतभिन्नतालाई चिर्दै सहमतीमा पुग्नुभएको छ । यो नै लोकतान्त्रिक प्रक्रिया हो । तपाईँहरूले वार्ता र सम्झौताबाट सम्भाव्य मनमुटाव कम गर्दै जानुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । म गठबन्धन सरकारका सम्पूर्ण दलहरूलाई मित्रता काम राख्न र साथसाथै सरकार बाहिरका दलहरूसँग सहकार्यको भावनासहित मिलेर अघि बढ्न आग्रह गर्छु । नेपाली काङ्ग्रेसले अन्तरिम सरकारमा नेतृत्वदायी भूमिकासहित शान्ति प्रव्रिmयामा अमूल्य योगदान पुर्‍याएको छ । अहिले यो प्रतिपक्षमा छ र यो महत्वपूर्ण निर्णयहरूमा निरन्तर सहभागी हुनेछ भन्ने मलाई आशा छ । यसले नै सफलतालाई सुनिश्चित गर्छ ।यसैसँगै शान्ति सम्झौतामा हस्ताक्षर गरेका सबै दलहरूले आफ्नो वचन प्रति प्रतिबद्ध हुनुपर्छ । यसका साथै सबै दलहरूले लोकतान्त्रिक सरकार तथा मानवअधिकारका नियमहरू सम्मान गर्नैपर्छ । म सरकारलाई सबै दलहरूसँग वार्ता र परामर्श जारी राख्न आव्हान गर्छु । उनीहरूले नेपाली जनताप्रति उत्तरदायी रहँदै शान्ति प्रक्रिया पूरा गर्न र सुदृढ गर्न सहयोग गर्ने छन् भन्नेमा म जोड दिन चाहन्छु ।माननीय सभासद्हरू, आफ्नो देशमा शान्ति कायम गर्नमा नेपालले विश्वव्यापी शान्तिका लागि गरेको योगदानका अनुभवको प्रयोग गर्न सक्छ । तपाईँको देशले आधा सताब्दीदेखि राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमार्फत अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नका लागि नेतृत्वदायी भूमिका खेलेको छ । विगत पचास वर्षमा तपाईँहरूले ४० वटा शान्ति स्थापना मिसनलाई ६०,००० शान्ति सेनाहरू उपलब्ध गराएर योगदान दिनुभएको छ । आफ्नो सैनिक तथा प्रहरी उपलब्ध गराएर योगदान गर्ने राष्ट्रहरूमा नेपाल पाँचौं स्थानमा पर्छ । हाम्रो ठूला शान्ति स्थापना मिसनहरू मध्येको एक सुडानको राष्ट्रसंघीय मिसनका फोर्स कमाण्डर नेपाली नै छन् ।तपाईँहरूले हामीलाई तपाईँहरूको सबैभन्दा उत्कृष्ट मानवीय स्रोत उपलब्ध गराउनु भएको छ । तीमध्ये केहीले संयुक्त राष्ट्रसंघीय झण्डामुनि रहेर शान्तिका लागि आफ्नो जीवनको वलिदान दिएका छन् । एक नेपाली सैनिकको वीरताको कथा मेरो दिमागमा अझै ताजा नै छ । जुन २००५ मा सेनानी कबिन्द्रजङ्ग थापाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको खतरनाक भूभागमा जाने समयमा एक मानव अधिकारकर्मीको टोलीलाई सुरक्षा प्रदान गर्न सहयोग गरिरहेका थिए । उनीहरूले त्यहाँको युद्धको सबैभन्दा निकृष्ट ज्यादती­सामूहिक वलात्कारका बारेमा छानबिन गर्दै थिए । उक्त टोलीको हिँड्ने काममा सयौं सशस्त्र मिलिसियाले हेलिकोप्टरलाई घेरे र गोली बर्साउन थाले । सेनानी थापाले प्रत्येक व्यक्ति सुरक्षित साथ हेलिकोप्टर चढाए । हेलिकोप्टरमा चढ्ने उनी अन्तिम व्यक्ति थिए । हेलिकोप्टरभित्र चढ्ने वित्तिकै उनीलाई गोली लाग्यो र उनको निधन भयो । सेनानी थापाले आफ्नो साथीहरूको सुरक्षा गर्दै ज्यान दिए । उनले शान्ति र मानवअधिकारको रक्षार्थ ज्यान दिए । उनले संयुक्त राष्ट्रसंघको रक्षा गर्दै ज्यान दिए । उनको वीरतामा हामीले नेपालका सम्पूर्ण जनताहरूले प्रधानमन्त्री प्रचण्डको देशलाई 'शान्तिको नमूना' बनाउने सपना चरितार्थ गर्ने सक्ने सम्भावना बोकेको देख्न सक्छौं । नेपालका जनताहरूले लोकतन्त्रका लागि अडान लिएका छन् । उनीहरूले अरु राम्रो जीवन खोजेका छन् । नेपालीहरू सुदृढ भविष्यको हकदार छन् र नेपाललाई त्यस दिशातिर डोर्‍याउने जिम्मेबारी तपाईँहरूको हो । यो लक्ष्य प्राप्त गर्न तपाईँहरूलाई म सफलताको कामना गर्छु ।
धन्यवाद ।००

No comments: