News

Nov 30, 2008

माओवादी आफ्नै कारण डुबिसके - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नयाँ-नयाँ शब्दजाल बुनेर अरूलाई फसाउने माओवादी अहिले आफ्नै कारण डुबिसकेको बताएका छन् । उनले डुबेका माओवादीलाई आफूले मात्रै बचाउन सक्ने दाबी गरे । कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै कोइरालाले माओवादी धोकेबाज र कपटी पार्टी भएको आरोपसमेत लगाए । 'उनीहरू धोकेबाज हुन्,' उनले भने, 'सम्झौता गर्दै अनि तोड्दै गर्ने माओवादीसँग अब कांग्रेसले कुनै सम्झौता गर्दैन ।'आफ्नो २३ मिनेटको सम्बोधनमा ६७ पटक माओवादीको नाम लिएका कोइरालाले माओवादीको शब्दजालबाट आफू 'बालबाल बचेको' समेत बताए । 'उनीहरू के-के शब्द बुन्दारहेछन्, झन्डै फसाएका,' कोइरालाले भने, 'गिरिजाप्रसादलाई फसाउन खोज्ने प्रचण्ड अहिले आफैं फसे ।' माओवादीले ज्ञानेन्द्रको भाषा बोल्न थालेको आरोप लगाउँदै कोइरालाले अब धेरै बकबक गरे प्रचण्डलाई पनि राजाकै बाटो लगाइदिने चेतावनी दिए । माओवादीले तानाशाही व्यवस्था ल्याउन संसदीय व्यवस्था असफल भएको तर्क गरेको उनको भनाइ थियो । 'जनगणतन्त्रको कुरा गरेर माओवादीले संविधान नबनाउने खेल सुरु गरे,' कोइरालाले भने, 'उनीहरूले संविधान बनाउँदैनन् । अब संबिधान कांग्रेसले मात्रै बनाउन सक्छ, गिरिजाप्रसादले बनाउँछ ।' माओवादी सेनालाई नेपाली सेनामा मिसाउन कुनै पनि हालतमा नदिने बताउँदै कोइरालाले माओवादीले अझै मान्छे मार्ने, अपहरण गर्ने र चन्दा उठाउने गरेको आरोप लगाए । 'तिम्रा मान्छे जता व्यवस्था गर्छौ गर, तर सेनामा मिसाउने सपना छोड,' कोइरालाले भने, 'आफैंले गरेको एगि्रमेन्ट तोड्ने, अनि अहिले एगि्रमेन्टका कुरा गरेर सेना मिसाउछौं भन्ने ?' कोइरालाले गोर्खा भर्ती केन्द्र बन्द गर्ने माओवादी भनाइको प्रतिवाद गर्दै गोर्खालीको इतिहास नबिगार्न चेतावनी दिए । 'बन्द गर्ने भए विकल्प देउ, नत्र नचाहिने कुरा किन गर्छौ ?'कोइरालाले अब कुनै कांग्रेस कार्यकर्तालाई हातपात गरे आफैं प्रतिवादमा उत्रने समेत बताए ।'को हुन् तिनीहरू, म लड्छु,' कार्यकर्तालाई आश्वस्त पार्दै कोइरालाले भने, 'तपाईंहरू किन डराउनुहुन्छ, जे गर्नुपर्छ गर्नुस् जेल जानुपरे गिरिजाप्रसाद जान्छ ।'नेपाली कांग्रेसले थुप्रै आन्दोलनबाट इतिहास बनाएको भन्दै कोइरालाले अब नयाँ संविधान लेखेर इतिहास बनाउने जिम्मेवारी पनि कांगे्रसकै भएको बताए । 'माओवादीले संविधान लेख्दैनन् भनेर म हिँडेको हुँ,' उनले भने, 'म बूढो भए पनि संविधान नबनाई मर्दिनँ ।'सभामा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले आर्थिक, प्रशासनिक, न्यायिक क्षेत्रमा कब्जा गर्दै प्रजातन्त्र मास्न खोजेको बताए । उनले राजा र राणाहरूसँग लडाइँ लडेको कांग्रेसले अन्तिम लडाइँ माओवादीसँग पनि लड्नुपर्ने बताए । कास्कीकै कांगे्रस नेता तथा पूर्वसभामुख तारानाथ रानाभाटलाई पटकपटक कार्यकर्ताले मञ्चमा बोलाउन चिट पठाए पनि आयोजकले बेवास्ता गरेका थिए । उनलाई पछि सभापति कोइराला कार्यक्रमस्थलमा आएपछि मञ्चमा बोलाइएको थियो ।

No comments: