News

Aug 23, 2009

उत्तर र दक्षिणका बीच सम्बन्ध सुधारका संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ राज्यद्वारा आयोजित पूर्वराष्ट्रपति किम दाय-जुङको अन्तिम संस्कारमा २० हजार मानिस उपस्थित भए । सन् २००० मा नोबेल शान्ति पुरस्कारद्वारा विभूषित स्व. जुङको यस अन्त्येष्टिका बेला उत्तर र दक्षिणका बीच सम्बन्ध सुधारका संकेत देखापरेका छन् । यस्तो लाग्छ, उनको निधनको समयले पनि केही सकारात्मक प्रभाव पार्दै छ । अन्त्येष्टिअघि, दक्षिणकोरियाली नेता ली म्युङ-बाकले पूर्वराष्ट्रपतिको निधनमा शोक-सन्देश लिएर आएका वरिष्ठ उत्तरकोरियाली दूतलाई भेटेका थिए । उत्तरले लीलाई देशद्रोही भनी निन्दा गरिरहेका बेला यस भेटलाई दुई कोरियाबीचको चिसो पगाल्ने महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । प्योङयाङबाट किम जोङ-इलको सन्देश लिएर दक्षिण आएको प्रमण्डलले द्विपक्षीय समस्यालाई सहज तुल्याउने आशा गरेको बतायो । सोलस्थित संसद्-भवनबाहिर आयोजित अन्त्येष्टिका अवसरमा विभिन्न आस्थाका बीसौँ हजार मानिसले भाग लिएको बताइएको छ । उनीहरूमध्ये धेरैले कालो पोसाक लगाएका थिए र चर्को गर्मीबाट बच्न सेतो कागजका भाइजरहरू लगाएका थिए । आफ्नो शोक-वक्तव्यमा प्रधानमन्त्री हान स्योङ-सूले स्व. किम दाय-जुङलाई आधुनिक इतिहासका महान् नेताका रूपमा सम्झना गरे । 'तपाईंको त्याग र समर्पणले कोरियामा स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रले पूरै फस्टाउने मौका पाए, तिनले आज हाम्रो मुलुकलाई विश्वमै गौरवपूर्ण र सम्मानित राष्ट्र बनाएको छ ।'
दिवंगत राष्ट्रपतिकी विधवा लि हि-हो अन्त्येष्टिमा सामेल मलामीहरूको नेतृत्व गर्दै सोलस्थित राष्ट्रिय अन्त्येष्टिस्थल पुगेकी थिइन् । दक्षिणकोरियाको इतिहासमा यो दोस्रो राजकीय सम्मानसहितको अन्त्येष्टि हो । अन्त्येष्टि-समारोहमा आएका विशिष्ट व्यक्तिहरूमा पूर्वअमेरिकी विदेशमन्त्री म्याडलिन अल्ब्राइट पनि थिइन् । श्रीमती अल्ब्राइटले स्व. किमलाई कोरियाली जनता तथा विश्व समुदायका लागि असल दृष्टान्त दिने अद्भूत नेताका रूपमा चित्रित गरिन् । दिवंगत राष्ट्रपति किमले दक्षिणकोरियाको उत्तरसँग संवाद कायम राख्ने सूर्योदय नीतिका सूत्रधारका रूपमा प्रजातन्त्र तथा पुनः एकीकरणका लागि बाँकी जीवन अर्पित गरेका थिए । कोरियाली प्रायद्वीपमा शान्ति-प्रवर्द्धनका लागि उनले गरेको योगदानका लागि उनलाई नोबेल शान्ति पुरस्कारले विभूषित गरिएको थियो । प्रधानमन्त्रीका एकजना प्रवक्ताले विषयवस्तुको संवेदनशीलतालाई ध्यानमा राखी उत्तरकोरियाबाट आएका सन्देशका शब्दहरू केकस्ता थिए भन्न इनकार गरे । तर, उत्तरकोरियाली प्रमण्डलका प्रमुख दूत किम की-नामले भने सबै कुरा राम्रो भएको टिप्पणी गर्दै विस्तृत विवरण दिन अस्वीकार गरे । उत्तरकोरियाली अधिकारी किम याङ-गोनले भने, 'यहाँ दक्षिण कोरियालीहरूलाई भेट्ता मलाई लाग्यो, सकेसम्म चाँडो अन्तर कोरियाली सम्बन्धमा सुधार हुनैपर्छ ।'

No comments: