News

Mar 11, 2010

परपुरुषसँग यौनसम्बन्ध राखेको भन्दै गाउँनिकाला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मार्च, २०१०,सप्तरी, २७ फागुन,परपुरुषसँग यौनसम्बन्ध राखेको भन्दै गाउँकै अगुवाले सप्तरीकी विवाहित महिलालाई निर्घात कुटपिट गरी गाउँनिकाला गरेका छन् । देउरी-८ स्वर्णटोलकी ३० वर्षीया ललितदेवी मण्डललाई स्थानीय युवकसँग यौनसम्बन्ध राखेको आरोपमा पूर्वगाविस अध्यक्षसमेतको समूहले लाठीले कुट्दै कपाल काटेर गाउँबाट निकालेको हो ।देउरी गाविसका पूर्वअध्यक्ष सूर्यनारायण साह, स्वर्णटोलका सुरज मण्डल, झोली मण्डल, पहाडी भन्ने बालेश्वर मण्डल, सुरजप्रसाद मुखिया, जुक्ति मण्डलसहितको समूहले मंगलबार घरमै आएर कुटपिट गरेको ललितादेवीले बताइन् । 'राति शौचालय जान बाहिर निस्केका वेला घरमा आएर जबर्जस्ती ताला लगाए,' ललितादेवीले भनिन्, 'गलत आरोप लगाउँदै निर्घात कुटपिट गर्दै निकाले ।' कुटपिटबाट ललिताको पिठ्युँमा नीलडाम छन् । घरमा ताला लगाएपछि लछार्दै सूर्यनारायणको घरमा लगेको उनले बताइन् । 'उनको घरमा पुर्‍याएपछि पुनः बेस्सरी कुटे, मेरो कपाल काटिदिए र परपुरुषसँग यौनसम्बन्ध राखेको स्वीकार गर भने,' ललितादेवीले भनिन्, 'मैले नमानेपछि गाउँबाट निकालेको घोषणा गरे ।'गाउँनिकाला भएपछि सोही दिन ललितादेवी पीडकलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बोदेबर्साइन पुगेकी थिइन् । 'तर, मंगलबार प्रहरीले मेरो कुरा सुन्न मानेन, बुधबार आउन भन्यो,' उनले भनिन्, 'बुधबार घटनाबारेमा जानकारी गराउनुका साथै पीडकमाथि कारबाही गर्न किटानी जाहेरी दिएँ ।' किटानी उजुरी दिए पनि प्रहरीले पीडकहरूमाथि कारबाही अघि नबढाएको ललितादेवीको आरोप छ । उनले भनिन्, 'बुधबार प्रहरीले मेरो घर पुगी ताल्चा फुटायो, तर कसैलाई पक्राउ गरेको छैन ।' बुधबार राति प्रहरीमा उजुरी गरेको भन्दै आफूलाई ज्यान लिने धम्की दिएको ललितादेवीले बताइन् । 'प्रहरी गाउँमै बस भन्छ, तर उनीहरू मार्ने धम्की दिन्छन्, यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ ?' उनको प्रश्न छ ।ललितादेवीले बिहीबार नै आफूलाई न्याय दिलाइदिन र पीडकहरूमाथि कारबाहीको गर्न पहल गरिदिन एकल महिला समूह राजविराजमा निवेदन दिएकी छिन् । एकल महिला समूह सप्तरीकी अध्यक्ष विमला पराजुलीले ललितादेवीलाई न्याय दिलाउन पहल गर्ने बताइन् ।ललिताका श्रीमान् विनोद मण्डल रोजगारीका सिलसिलामा नौ महिनादेखि मलेसियामा छन् । उनको घरमा हाल ७० वर्षीया वृद्ध सासू र दुई नाबालक छोरा छन् ।

No comments: