News

Mar 10, 2010

बाहुन र क्षत्रीले दमाह बजाउन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम, फागुन २६- सुन्दा अचम्म लाग्न सक्छ- दमाइले बजाउने दमाह बाहुन र क्षत्रीले समूह बनाएर बजाउन थाले भन्दा, तर यहाँ यस्तै भएको छ। यहाँका दमाइले परम्परागत दमाह बाजा बजाउन छाडेपछि बाहुन र क्षेत्री युवा मिलेर क्लब गठन गरी सोही क्लबको नामबाट सांस्कृतिकरुपमा लोप हुन लागेको बाजा दमाह बजाउन थालेका हुन। सधैं मर्दापर्दा चाहिने दमाह बाजा बजाउनका लागि अचेल रुकुमको साँखका बासिन्दालाई दमाइकहाँ जान पदैन। उनीहरू सरासर काम्ले सांस्कृतिक परिवारको कार्यालयमा गए पुग्छ। यस्तै भइरहेको छ रुकुमको सदरमुकामसँग जोडिएको साँख गाविसमा यस वर्षको दशैंदेखि। परम्पराअनुसार वेद पढ्ने, पूजापाठ गर्ने ब्राह्मणलाई उनीहरुले सो कार्यको नेतृत्वकर्ता बनाएका छन्। दमाह बजाउने कार्यको थालनी सबैभन्दा पहिले क्लबका अध्यक्ष वसन्तकुमार गौतमले गरेका हुन। दमाइले बालिघरे प्रथा भन्दै आफ्नो पुर्ख्यौली पेशा छोडेपछि चाडवाड, विवाह, ब्रतबन्धलगायत मरेको ठाउँमा समेत बाजा बजाउनेहरुको अभाव भएकाले यसो गर्नुपरेको काम्ले युवा क्लबका अध्यक्ष वसन्तकुमार गौतम बताउँछन्। गौतमले समाज परिवर्तन र पुरानो संस्कृतिलाई जोगाइराख्न आफूहरुले सो कदम उठाएको बताए। काम्ले क्लबको कार्यालयमा दमाइले बजाउन छाडेका पुराना पाँच वटा दमाह, सनई, झयाली, बाँसुरीलगायतका बाजा संरक्षित छ। साँखको काम्ले गाउँका युवाहरुको प्रयासबाट गठन गरिएको काम्ले युबा क्लब अहिले जिल्लामा सबैभन्दा नौलो काम गर्ने क्लबका रुपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ। आजकाल मान्छे मरेको ठाउँमा बाजा बजाउने पहिले दमाइ जाने गरेकोमा अहिले बाहुन र क्षेत्रीले सो काम गरेको देख्दा अचेल स्थानीयबासी अचम्ममा परेका छन्। स्थानीय ध्रुबकुमार भण्डारीले भने– हामीलाई आजकाल खासै अप्ठेरो छैन, दुईवटै काम एकजनाले गर्दा पैसा जोगिएको छ।'

No comments: