लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २५ - नेपाल आएलगत्तै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरले बिहीबार राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरेका छन् । ब्लाटरले प्रधानमन्त्री भट्टराईलाई सिंहदरवारमा भेटेलगत्तै राष्ट्रपति रामवरण यादव भेट्न शीतल निवास गए । भेटपछि ब्लाटरले नेपालमा फुटबल विकासको सम्भाव्यता औल्याए । स्विस नागरिक ब्लाटर विमानस्थलबाट सोझै उनी बस्ने होटल सोल्टी क्राउन प्लाजा पुगेका थिए । मध्यान्ह निजी विमानबाट नेपाल आएका ब्लाटरलाई त्रिभूवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री कमला रोकासहित खेल अधिकारीले स्वागत गरे । उनले बिहीबारै सुरु हुने एएफसी च्यालेञ्ज कप उदघाटन गर्ने काठमाण्डौ आएका हुन् । नेपाल भ्रमण गर्ने दोस्रो फिफा अध्यक्ष हुन् ब्लाटर । झण्डै दुई दशकअघि यसअघिका फिफा अध्यक्ष जाओ हाभेलान्ज नेपाल आएका थिए । फिफा अध्यक्ष ब्लाटरलाई स्वागत गर्न मन्त्री रोकासहित एसियाली फुटबल महासंघका अध्यक्ष झाङ जिरोङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, एन्फा अध्यक्ष गणेश थापालगायत विमानस्थल पुगेका थिए । ब्लाटरलाई स्वागत गर्न विभिन्न स्थानमा स्कूले बालबालिका पनि राखिएका थिए ।
No comments:
Post a Comment