News

Jul 28, 2013

बैद्य माओवादी चुनावप्रति सकारात्मक नभएको समितिको निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१३ साउन,उच्चस्तरीय राजनीतिक समितिले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी चुनावप्रति सकारात्मक नरहेको निष्कर्ष निकालेको छ । बिनासर्त वार्तामा आउन दुईपटक आग्रह गर्दा पनि हालसम्म वार्तामा नआएकामा गम्भीर आश्चर्य व्यक्त गरेको छ । समितिको कार्यालय, नयाँ बानेश्वरमा आइतबार बसेको बैठकले बैद्य माओवादीलाई वार्तामा ल्याउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका नेता रघुजी पन्तले अब पनि वार्तामा नआए बैद्य माओवादीलाई नपर्खने बताउनुभयो । वार्तामा आउँछु भनेर वार्ता समिति पनि गठन गर्ने तर वार्तामा नआउने स्थितिप्रति आफूहरू आश्चर्यमा परेको उहाँले बताउनुभयो । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले सो पार्टी र मोर्चाले वार्तामा आउन गरेको सार्वजनिक प्रतिबद्धताविपरीत हालसम्म वार्तामा नआएकोबारे बैठकले आश्चर्य व्यक्त गर्दै पुनः वार्ताको आहृवान गरेको बताउनुभयो । राजनीतिक समितिको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिन गठित कार्यदलले सुझाव प्रस्तुत गरेको छ । कार्यदलले संविधानबमोजिम निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भए पनि कतिपय विषयमाथि शीर्ष नेता तहमा छलफल गर्न सुझाव दिएको छ । कार्यदलले संविधानमा निर्वाचन क्षेत्रको संख्या दुई सय ४० रहेको, पुरानो दुई सय पाँचको संख्यामा हेरफेर गर्न नसकिने, तराई/मधेसमा जनसङ्ख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बढ्नुपर्ने र पहाडमा पनि जनसङ्ख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बढ्नुपर्ने अवस्थाका कारण क्षेत्र निर्धारणमा जटिलता देखिएकोले शीर्ष तहमा छलफल गरेर सहमतिमा पुग्न सुझाएको छ ।

No comments: