News

Nov 2, 2008

माओवादी सेनाको समायोजन र पुनस्थापनाका लागि परामर्श नगरेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माओवादी सेनाको समायोजन र पुनस्थापनाका लागि बिशेष समिति गठन गर्दा आफुहरुलाई परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।महोत्तरीमा आज आइतबार आयोजित एक कार्यक्रममा तमलोपाका अध्यक्ष ठाकुरले विषेस समितिले बिस्तृत शान्ति सम्झौता अनुरुप नै सेना समायोजन र पुनस्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग बिगतमा भएका सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

Nov 1, 2008

लुम्बिनी भ्रमणपछि महासचिव मुन बंगलादेशतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि-मुनले लुम्बिनीको सुन्दरता र वैभव देखेर आफू अत्यन्त भावविभोर भएको बताउनुभएको छ । शान्तिका दूत भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनीको भ्रमणपछि पत्रकारको जिज्ञासामा उहाँले यस्तो बताउनुभएको हो ।महासचिव मुनले बुद्धको शान्तिको सन्देशलाई सबै मिलेर विश्वभर फैलाउनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घको महासचिवको हैसियतले विश्वभर शान्तिको सन्देश फैलाउने आफ्नो दायित्वलाई निर्वाह गर्न बुद्धको सन्देश र आफ्नो भ्रमणले महत्वपूर्ण पे्ररणा दिएको पनि उल्लेख गर्नुभयो ।मानव जीवनमा भोग्नुपर्ने दुख कष्टबाट मुक्तिका लागि गौतमबुद्धले राजसी सुखसयल त्यागेको धारणा राख्दै उहाँले भन्नुभयो- "जीवनको वास्तविकता र दुखबाट मुक्तिका लागि बुद्धका उपदेश अत्यन्त महत्वपूर्ण छ ।" उहाँले मायादेवी मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । महासचिव मुनले लुम्बिनीका बारेमा जानकारी हासिल गर्न एक घण्टा १० मिनेट समय खर्चनुभएको थियो ।महासचिव मुन नेपालको भ्रमण पूरा गरी भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट बङ्गलादेशतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई परराष्ट्रमन्त्री उपेन्द्र यादव र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले बिदाइ गर्नुभएको थियो ।

पेट्रोलियम पदार्थमा मूल्य फेरि कमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगम लिमिटेडले डिजेल र मटि्टतेलको मूल्य एउटै कायम गरेको छ । ती दुवै पदार्थको मूल्य अब प्रति लिटर ६५ रुपैयाँ कायम भएको छ । लामो समयदेखि डिजेल र मटि्टतेलको मिसावटसम्बन्धी गुनासो खेप्दै आएको निगमले शनिबार बेलुका पत्रकार सम्मेलन गरी ती दुवै पदार्थको मूल्य एउटै कायम गरिएको जानकारी दिएको हो ।निगमले पेट्रोलको पनि हालको मूल्यमा पाँच रुपैयाँ घर्टाई प्रतिलिटर ९० रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटलाई ध्यानमा राखी त्यसको लाभ उपभोक्ताले पाउन् भन्ने उद्देश्यले मूल्य घटाइएको निगमले जनाएको छ । निगमले हवाई इन्धनमा पनि प्रतिलिटर पाँच घर्टाई ९५ रुपैयाँ नयाँ मूल्य कायम गरेको छ ।सधैँ मूल्य बढाएर आम उपभोक्ताको आलोचना खेप्दै आएको निगमले एक महिनाभित्र दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले हरेक अङ्गे्रजी महिनाको ३ तारिखमा अन्तर्राष्ट्रिय बजारको मूल्यअनुरूप पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्ने प्रतिबद्धता पनि जनाएको छ ।निगमले खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमलाई प्रति सिलिन्डर ३६१ रुपैयाँ घाटा रहेको जनाएको छ । त्यसको मासिक घाटा २८ करोड रुपैयाँ भएको पनि सम्मेलनमा जानकारी दिइयो । निगमले गरेको मूल्य समायोजनपछि सम्पूर्ण पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक ३५ करोड रुपैयाँ नाफा हुने जानकारी दिएको छ ।

नेपाल मानव अधिकार संगठनले शान्ति प्रक्रियामा ध्यानाकर्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल मानव अधिकार संगठनले राष्ट्रसंघिय महासचिव वान कि मुनको नेपाल भ्रमणको अवसर पारेर शान्ति प्रक्रियामा देखा परेका जटिलताबारे ध्यानाकर्षण गराएको छ। संगठनले आज एक विज्ञप्ती जारी गरी अन्मीनको निगरानीमा प्रमाणीकरणमा रहेका जनसेनामा करिब २ हजारको संख्यामा बाल सेना पाइएको भन्दै महासचिवको भ्रमणलगत्तै बाल सैनीक शिविरबाट निकाल्न अन्मीनसंग माग गरेको छ। शिविरमा राष्ट्रसंघले दर्ता गरेर स्टीकर टाँसेका हतियारहरु बाहिरीने गरेको पाइएकोले त्यस्ता घटना दोहोरिन नदिन आग्रह समेत गरेको छ। संगठनका अध्यक्ष सुदिप पाठकद्वारा हस्ताक्षरीत विज्ञप्तीमा माओवादीद्वारा द्वन्द्वकालमा कब्जामा लिइएका घरजग्गा अहिलेसम्म फिर्ता नगरेको तर्फपनि राष्ट्रसंघलाई ध्यानाकर्षण गराइएको छ।

महासचिव मुनद्वारा संविधानसभालाई सम्बोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महामहिमहरू, संविधानसभाका सम्माननीय अध्यक्ष
सुभाषचन्द्र नेम्वाङ,
यो संविधानसभालाई सम्बोधन गर्न पाउने संयुक्त राष्ट्रसंघको पहिलो महासचिव हुन पाएकोमा म गौरवान्वित छु । यहाँहरूको मुलुकले हासिल गरेको ऐतिहासिक रूपान्तरण र यसमा तपाईँहरूले खेल्नु भएको उल्लेखनीय भूमिकाका लागि म हार्दिक बधाई दिन चाहन्छु । अगष्ट र सेप्टेम्बरको विनासकारी बाढीका कारण भएको जनधनको क्षतिबाट म मर्माहत भएको कुरा पनि यहाँ बताउन चाहन्छु । नेपालस्थित राष्ट्रसंघीय निकायहरू तथा मिसनले नेपाल रेडक्रससँग निकटतम सहकार्य गरेको ठूलो मात्रामा राहत सामग्री बाढी पीडितसम्म पुर्‍याएका छन् । निरन्तर राहत वितरण तथा पुनस्थापनाका काममा नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारलाई निरन्तर सहयोग गरिरहेको छ । हामी तपाईँहरूको प्रगति, सुरक्षा र कल्याणमा समर्पित साझेदार हौं । महामहिमहरू,चैतमा यहाँ सम्पन्न भएको निर्वाचनले नेपाली जनताको भावना प्रस्फुटित भयो र उनीहरूले शान्ति, विकास र परिवर्तनका बारेमा आवाज उठाए । यो संविधानसभा तपाईँहरूको देशको इतिहासकै सबैभन्दा समावेशी व्यवस्थापिका हो । यो कक्षमा हेर्दा म नेपालका जनता र साँस्कृतिक विविधताको वैभव देख्दैछु ।यो संविधानसभा नै तपाईँहरूको उल्लेख्य प्रगतिको प्रमाण हो । नेपाली जनताको नयाँ र समृद्ध भविष्यका आशाहरूलाई मूर्त रूप दिन ठूलो सम्भावना सामुहिक रूपमा तपाईँहरूले बोक्नु भएको छ । तपाईँहरू सबैजना र नेपालका सम्पूर्ण जनताले शान्ति प्रक्रियालाई अगाडि बढाउनु भएको हो र यस ऐतिहासिक परिवर्तनको हिस्सा हुन पाएकोमा संयुक्त राष्ट्रसंघ गौरवान्वित छ । तपाईँहरूको साझेदारका हैसियतमा हामीले विभिन्न ठोस कदमहरू चालिरहेका छौं । उदाहरणका लागि राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपालको राष्ट्रसंघीय शान्ति
कोषका लागि एक करोड डलर निकासा गरेको छ । यो रकम स्थानीय स्तरका शान्ति निर्माण कार्यक्रमहरूमा खर्च गरिने छ । यसैगरी यो रकम पूर्व लडाकुहरूलाई पुनस्थापना, युवा रोजगारी सिर्जनालगायत अन्य कार्यक्रमहरूमा पनि खर्च गरिनेछ ।मैले प्रधानमन्त्री प्रचण्डलाई न्युयोर्कमा भेट्दा उहाँले राष्ट्रसंघीय सहयोगमा नेपाललाई "शान्तिका लागि नमूना" बनाउन चाहेको उल्लेख गर्नुभएको थियो । यो सुन्दर लक्ष्य हो । यसको अर्थ हामी दुबैको काँधमा महत्वपूर्ण जिम्मेवारीहरू हुनेछ । नेपालको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका लागि मेरो व्यक्तिगत सहयोग र सम्पूर्ण संयुक्त राष्ट्रसंघको सहयोग रहने कुरामा विश्वस्त पार्न चाहन्छु । हामीले आफ्नो जिम्मेवारी बहन गर्ने नै छौं र तपाईँहरूले त्यसै गर्नका लागि प्रोत्साहन गर्छु । शान्ति प्रक्रियाको निरन्तर प्रगतिले नै अन्तर्राष्ट्रिय सहयोगलाई सुनिश्चित गर्नेछ ।तत्कालको सबैभन्दा ठूलो चुनौतीमा माओवादी लडाकुहरूको समायोजन र पुनस्थापना गर्नु हो । यस सन्दर्भमा माओवादी सेनाका सदस्यहरूको समायोजन, पुनस्थापना तथा निरिक्षणका लागि विशेष समितिको हालै गरिएको गठनको म स्वागत गर्छु । म उक्त समितिमा प्रतिनिधित्व गर्ने पक्षहरूलाई समितिको महत्वपूर्ण काम चाँडोभन्दा चाँडो सुरु गर्न प्रोत्साहित गर्छु । यसैगरी म सरकारलाई उमेर नपुगेका र योग्य नठहरिएका लडाकुहरूको औपचारिक बिदाइको प्रव्रिmया छिटो सुरु गर्न आव्हान गर्छु ।नेपाली महिलाहरूले द्वन्द्वको सबैभन्दा बढी पीडा झेलेका छन् । शान्तिको सुदृढीकरणका लागि अनेकन उपायद्वारा कार्यरत नेपालका कयौँ महिलालाई म यहाँ सम्मान प्रकट गर्न चाहन्छु । शान्ति प्रक्रियाका हरेक तहमा सम्भव भएसम्म महिलाहरूलाई समावेश गरियो भने यो प्रक्रिया अझै बढी सशक्त हुन्छ ।शान्तिलाई दिगो बनाउन द्वन्द्वका आला घाउहरूलाई पुर्ने प्रयास गर्नु पनि आवश्यक छ । यसको अर्थ बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गरिनुपर्छ र पीडितहरूलाई क्षतिपूर्ति दिइनुपर्छ । यसको अर्थ विस्थापित व्यक्तिहरूलाई घर फर्कन सक्षम तुल्याउनु पनि हो । यसैगरी विगतमा भएका मानवअधिकारको हननको अपरिहार्य रूपमा दुखका साथ आत्मस्वीकारोक्ति र दण्डहिनताको अन्त्य गर्नु पनि हो ।तपाईँहरूले नयाँ संविधानको निर्माण गर्नैपर्छ । यो अत्यन्तै कठिन त हुनेछ तर अभूतपूर्व प्राप्ति पनि हुनेछ । यस प्रक्रियामा तपाईँहरूको राज्य पुनसंरचनाजस्ता चर्का विषयहरूको सामना गर्नुपर्नेछ । तपाईँहरूले राष्ट्रिय एकतालाई कायम राख्दै विभिन्न जातीय समूहहरूलाई सशक्त तुल्याउने संघीय राज्यको सिर्जना गर्नुछ ।मलाइ आशा छ तपाईँहरू सहकार्यको भावनासहित अघि बढ्नु हुनेछ । छलफलको माध्यमबाट तपाईँहरूले एउटा साझा लक्ष्य बनाउन सक्नुहुन्छ । यो पुस्तौं पुस्ताका लागि स्थिर नेपालको जग निर्माण गर्ने ठूलो अवसर हो । म तपाईँहरूलाई आफ्नो नातिनातिनाहरू र उनीहरूका पनि नातिनातिनाहरूलाई राष्ट्रको इतिहासमा तपाईँको भूमिका गौरवका साथ सम्झने वातावरण बनाइ दिन आग्रह गर्दछु ।तपाईँहरू जनताका ऋणी हुनुहुन्छ । उनीहरूले शासनमा प्रगति देख्नुपर्छ । उनीहरूले शान्तिको प्रतिफलको अनुभूति पाउनुपर्छ । उनीहरूलाई रोजगारीका अवसर, स्वास्थ्य सेवा र शिक्षा माथिको पहुँचमा सुधार आवश्यक छ । अहिले विश्वव्यापी रूपमा देखिएको वित्तीय संकट अनि खाद्यान्न र इन्धनको मुल्य नाटकीय रूपले बढेको समयमा त्यसको अझै आवश्यकता छ । विश्वभरि नै अति गरिब मानिसहरू यी अन्तरसम्बन्धित संकटबाट ग्रस्त भइरहेका छन् । हरेक दिन धेरै मानिसहरू गरिबी र भोकमरीमा फसिरहेका छन् । उनीहरूको आवाज सुनिनुपर्छ र उनीहरूको व्यथालाई बुझ्नुपर्छ । म सबै सरकारहरूलाई सहस्राब्दी विकास लक्ष्यमा पुग्ने र जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्ने आफ्नो प्रतिबद्धताबाट पछि नहट्न आव्हान गरिरहेको छु ।यो संकटको घडीमा हाम्रो विचार दुरदर्शी हुनुपर्छ । हामीले हाम्रो पृथ्वी र यहाँ जोखिममा परेका मानिसहरूको संरक्षण गरेमात्र हाम्रो भविष्य सुरक्षित हुन्छ । धेरै नेपालीहरूले दुखकष्ट भोगिरहेको कुरा मलाइ थाहा छ । महत्वपूर्ण विकास सहायता वा रेमिन्टेन्समा गिरावट जस्ता अतिरिक्त समस्याहरूका लागि नेपालसँग शाब्दिक तथा आलङ्कारिक रूपमा "कुनै शक्ति" छैन । नेपालस्थित राष्ट्रसंघीय टोलीले भोकालाई सहयोग गर्न र भविष्यमा खाद्य सुरक्षा हासिल गर्न सरकारसँग सहकार्य गरिरहेको छ । अझ भन्नुपर्दा, नेपालको राजनीतिक रूपान्तरण सामाजिक र आर्थिक रूपान्तरण सँगसँगै अघि बढ्न सक्छ र बढ्नुपर्छ भन्ने मलाई विश्वास छ । चराका दुइवटा पखेटा झैँ यस देशलाई अघि बढ्न दुबै पक्षहरू आवश्यक छन् ।तपाईँहरूले विभिन्न परीक्षाहरू पार गरिसक्नु भएको छ । हरेकपटक तपाईँहरूले मतभिन्नतालाई चिर्दै सहमतीमा पुग्नुभएको छ । यो नै लोकतान्त्रिक प्रक्रिया हो । तपाईँहरूले वार्ता र सम्झौताबाट सम्भाव्य मनमुटाव कम गर्दै जानुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । म गठबन्धन सरकारका सम्पूर्ण दलहरूलाई मित्रता काम राख्न र साथसाथै सरकार बाहिरका दलहरूसँग सहकार्यको भावनासहित मिलेर अघि बढ्न आग्रह गर्छु । नेपाली काङ्ग्रेसले अन्तरिम सरकारमा नेतृत्वदायी भूमिकासहित शान्ति प्रव्रिmयामा अमूल्य योगदान पुर्‍याएको छ । अहिले यो प्रतिपक्षमा छ र यो महत्वपूर्ण निर्णयहरूमा निरन्तर सहभागी हुनेछ भन्ने मलाई आशा छ । यसले नै सफलतालाई सुनिश्चित गर्छ ।यसैसँगै शान्ति सम्झौतामा हस्ताक्षर गरेका सबै दलहरूले आफ्नो वचन प्रति प्रतिबद्ध हुनुपर्छ । यसका साथै सबै दलहरूले लोकतान्त्रिक सरकार तथा मानवअधिकारका नियमहरू सम्मान गर्नैपर्छ । म सरकारलाई सबै दलहरूसँग वार्ता र परामर्श जारी राख्न आव्हान गर्छु । उनीहरूले नेपाली जनताप्रति उत्तरदायी रहँदै शान्ति प्रक्रिया पूरा गर्न र सुदृढ गर्न सहयोग गर्ने छन् भन्नेमा म जोड दिन चाहन्छु ।माननीय सभासद्हरू, आफ्नो देशमा शान्ति कायम गर्नमा नेपालले विश्वव्यापी शान्तिका लागि गरेको योगदानका अनुभवको प्रयोग गर्न सक्छ । तपाईँको देशले आधा सताब्दीदेखि राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमार्फत अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नका लागि नेतृत्वदायी भूमिका खेलेको छ । विगत पचास वर्षमा तपाईँहरूले ४० वटा शान्ति स्थापना मिसनलाई ६०,००० शान्ति सेनाहरू उपलब्ध गराएर योगदान दिनुभएको छ । आफ्नो सैनिक तथा प्रहरी उपलब्ध गराएर योगदान गर्ने राष्ट्रहरूमा नेपाल पाँचौं स्थानमा पर्छ । हाम्रो ठूला शान्ति स्थापना मिसनहरू मध्येको एक सुडानको राष्ट्रसंघीय मिसनका फोर्स कमाण्डर नेपाली नै छन् ।तपाईँहरूले हामीलाई तपाईँहरूको सबैभन्दा उत्कृष्ट मानवीय स्रोत उपलब्ध गराउनु भएको छ । तीमध्ये केहीले संयुक्त राष्ट्रसंघीय झण्डामुनि रहेर शान्तिका लागि आफ्नो जीवनको वलिदान दिएका छन् । एक नेपाली सैनिकको वीरताको कथा मेरो दिमागमा अझै ताजा नै छ । जुन २००५ मा सेनानी कबिन्द्रजङ्ग थापाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको खतरनाक भूभागमा जाने समयमा एक मानव अधिकारकर्मीको टोलीलाई सुरक्षा प्रदान गर्न सहयोग गरिरहेका थिए । उनीहरूले त्यहाँको युद्धको सबैभन्दा निकृष्ट ज्यादती­सामूहिक वलात्कारका बारेमा छानबिन गर्दै थिए । उक्त टोलीको हिँड्ने काममा सयौं सशस्त्र मिलिसियाले हेलिकोप्टरलाई घेरे र गोली बर्साउन थाले । सेनानी थापाले प्रत्येक व्यक्ति सुरक्षित साथ हेलिकोप्टर चढाए । हेलिकोप्टरमा चढ्ने उनी अन्तिम व्यक्ति थिए । हेलिकोप्टरभित्र चढ्ने वित्तिकै उनीलाई गोली लाग्यो र उनको निधन भयो । सेनानी थापाले आफ्नो साथीहरूको सुरक्षा गर्दै ज्यान दिए । उनले शान्ति र मानवअधिकारको रक्षार्थ ज्यान दिए । उनले संयुक्त राष्ट्रसंघको रक्षा गर्दै ज्यान दिए । उनको वीरतामा हामीले नेपालका सम्पूर्ण जनताहरूले प्रधानमन्त्री प्रचण्डको देशलाई 'शान्तिको नमूना' बनाउने सपना चरितार्थ गर्ने सक्ने सम्भावना बोकेको देख्न सक्छौं । नेपालका जनताहरूले लोकतन्त्रका लागि अडान लिएका छन् । उनीहरूले अरु राम्रो जीवन खोजेका छन् । नेपालीहरू सुदृढ भविष्यको हकदार छन् र नेपाललाई त्यस दिशातिर डोर्‍याउने जिम्मेबारी तपाईँहरूको हो । यो लक्ष्य प्राप्त गर्न तपाईँहरूलाई म सफलताको कामना गर्छु ।
धन्यवाद ।००

राजेन्द्र भन्डारीले अन्तर्राष्ट्रिय म्याराथन उपाधि जिते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डिफेन्डिङ च्याम्पियन अर्जुन बस्नेतलाई पछि पार्दै राजेन्द्र भन्डारीले तेस्रो अन्तर्राष्ट्रिय खुला म्याराथनको उपाधि जितेका छन् । श्रीलंकामा सम्पन्न १० औ दक्षिण एसीयाली खेलकुदमा २ स्वर्ण जितेका राजेन्द्र डोपिङमा असफल भएपछि दुइ बर्षको प्रतिबन्धमा परेका थिए । आज शनिबार बिहान सम्पन्न म्याराथनमा निर्धारित दूरी २ घन्टा २२ मिनेट ८ सेकेन्डमा पुरा गर्दै भन्डारीले उत्कृष्ट पुनरागमन गरेका छन् । २ बर्षको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक कुनै प्रतियोगितामा सहभागिता जनाएका भन्डारीले उपाधिसहित ५ हजार अमेरीकी डलर हात पारेका छन् ।दोस्रो स्थान हात पारेका डिफेन्डिङ्ग च्याम्पियन अर्जुन बस्नेतले २ घन्टा २४ मिनेट ३४ सेकेन्ड परा गर्दै ३ हजार डलर नगद पुरस्कार प्राप्त गरे । झन्डै ५ दर्जन प्रतियोगीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा निर्धारित दुरी २ घन्टा २८ मिनेट ३० सेकेन्डमा परा गर्दै अर्जुन ढकालले तेस्रो स्थान प्राप्त गर्दै २ हजार डलर हात पारे ।

कमल नेपालीलाई मात्र 'वर्षका बालक-२०६५' को उपाधि प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीर गणेशमान सिंह बालप्रतिभा पुरस्कार कोषले विभिन्न पाँचवटा विधामध्ये साहसिक कार्य गर्ने बालक कमल नेपालीलाई मात्र 'वर्षका बालक-२०६५' को उपाधि प्रदान गर्ने भएको छ । साहित्यिक सिर्जना, खेलकुद, विज्ञान, साहसिक कार्य र विविध विषयमा विलक्षण प्रतिभा प्रदर्शन गर्ने १६ वर्षमुनिका प्रतिभावान् बालबालिकालाई वर्षका बालकको घोषणासहित पुरस्कार तथा सम्मान गर्ने चलनअनुसार उक्त घोषणा गरिएको हो ।कोषले अन्य प्रतिभावान् बालबालिकाको जानकारी प्राप्त गर्न नसकेका कारण साहसिक कार्य गर्ने १२ वर्षे बालक कमल नेपालीलाई उक्त उपाधि प्रदान गर्न भएको हो । सिंहको जन्मजयन्ती भाइटीकाको भोलिपल्ट त्यस्ता प्रतिभावान् बालबालिका नाम घोषणा गर्ने र जनआन्दोलन दिवसमा उपाधि प्रदान गर्ने गरिएता पनि यस वर्ष कोषको उद्देश्यअनुसार सबै विधाका प्रतिभावान बालबालिकाको जानकारी प्राप्त हुन नसकेको तर १२ वर्षका नेपालीलाई भने कोषले गत असार १३ गते नै साहसिक बालकका रूपमा घोषणा गरिसकेको कोषका महासचिव प्रचण्डराज प्रधानले बताउनुभयो ।नेपालीले पोखरास्थित सेती नदीको खोँचमा खसेकी अढाइ वर्षकी आराधनालाई २१ घण्टापछि सकुशल उद्धार गरेका थिए । कोषले बालबालिकाको जीवन जोखिममा पर्नेगरी उनीहरूलाई कुनै जोखिमपूर्ण काममा नलगाउन आग्रह पनि गरेको छ ।