News

Nov 1, 2008

लुम्बिनी भ्रमणपछि महासचिव मुन बंगलादेशतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि-मुनले लुम्बिनीको सुन्दरता र वैभव देखेर आफू अत्यन्त भावविभोर भएको बताउनुभएको छ । शान्तिका दूत भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनीको भ्रमणपछि पत्रकारको जिज्ञासामा उहाँले यस्तो बताउनुभएको हो ।महासचिव मुनले बुद्धको शान्तिको सन्देशलाई सबै मिलेर विश्वभर फैलाउनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घको महासचिवको हैसियतले विश्वभर शान्तिको सन्देश फैलाउने आफ्नो दायित्वलाई निर्वाह गर्न बुद्धको सन्देश र आफ्नो भ्रमणले महत्वपूर्ण पे्ररणा दिएको पनि उल्लेख गर्नुभयो ।मानव जीवनमा भोग्नुपर्ने दुख कष्टबाट मुक्तिका लागि गौतमबुद्धले राजसी सुखसयल त्यागेको धारणा राख्दै उहाँले भन्नुभयो- "जीवनको वास्तविकता र दुखबाट मुक्तिका लागि बुद्धका उपदेश अत्यन्त महत्वपूर्ण छ ।" उहाँले मायादेवी मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । महासचिव मुनले लुम्बिनीका बारेमा जानकारी हासिल गर्न एक घण्टा १० मिनेट समय खर्चनुभएको थियो ।महासचिव मुन नेपालको भ्रमण पूरा गरी भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट बङ्गलादेशतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई परराष्ट्रमन्त्री उपेन्द्र यादव र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले बिदाइ गर्नुभएको थियो ।

No comments: