News

Jul 3, 2012

मापसेबाट तीन करोड राजस्व असुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १९- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन(मापसे)विरुद्धको अभियान प्रारम्भ गरेपछि गत जेठ मसान्तसम्म करिब तीन करोड राजस्व असुली गरेको छ। सो महाशाखाले गत मङ्सिर १७ गतेदेखि जेठ मसान्तसम्म उक्त अभियान सुरु गरेपछि ३३ हजार ४०९ जनालाई रु दुई करोड ८५ लाख १६ हजार राजस्व असुली गरेको हो। महाशाखाका अनुसार मापसेविरुद्धको अभियानबाट मङ्सिर र पुस महिनामा रु १९ लाख १८ हजार, माघमा रु २८ लाख आठ हजार, फागुनमा रु ५९ लाख ९१ हजार, चैतमा रु ६५ लाख ६४ हजार, वैशाखमा रु ५४ लाख १४ हजार, जेठमा रु ५८ लाख २१ हजार र असारमा रु ५८ लाख २१ हजार राजस्व असुली भएको हो। मापसेविरुद्धको अभियानअन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५६५ जना, पुसमा एक हजार ६०१ जना, माघमा तीन हजार ७१७ जना, फागुनमा सात हजार २८१ जना, चैतमा सात हजार ७० जना, वैशाखमा छ हजार ७२० जना र जेठमा छ हजार ४५५ जनालाई कारबाही गरिएको जनाइएको छ। महाशाखाले मापसेविरुद्धको अभियान सुरु गरिएपछि दुर्घटनामा कमी आउनाका साथै राजस्व सङ्कलनमा थप वृद्धि भएको बताइएको छ। मापसे गरेर जुनसुकै सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारी चालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ।

राष्ट्रसंघद्वारा हतियारको बिक्री नियन्त्रण गर्ने सन्धिको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्युर्योर्क न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा विश्वभरमा हतियारको बिक्री नियन्त्रित गर्ने उद्देश्य साथ कानुनी रुपमा बाध्यकारी सन्धि ल्याउने तयारी भइरहेको छ । राष्ट्रसंघको मुख्यालयमा सोमबारदेखि यस मुद्दामा छलफल शुरु भएको छ । छलफल एक साता सम्म चल्ने अनुमान गरिएको छ । यस विषयमा आम सहमति कायम गर्ने कोशिश पनि भइरहेको छ । तर यो सन्धिलाई तयार पार्नु स्वयममा एक चुनौतीको विषय भएको विश्लेषकहरुको भनाई रहेको छ । विश्वका कयौ हतियार निर्यातक देशहरु यो सन्धिको विरोधमा रहेका छन् । एक अध्ययन अनुसार विश्वभर हरेक बर्ष साँढे दुई लाख मानिसको गैरकानुनी हतियारको कारण मृत्यु हुने गरेको छ । हतियार नियन्त्रण गर्ने अभियानमा लागेका अधिकारीहरुका अनुसार विश्वमा हतियारको गलत प्रयोगले गर्दा हरेक मिनेट एक जनाको ज्यान जाने गरेको छ । एम्नेस्टी इन्दरनेसनल र अक्सफाम जस्ता गैरसरकारी संगठन यसका लागि ६ बर्ष देखि हतियार बिक्री नियन्त्रण अभियान चलाइरहेका छन् । राष्ट्रसंघका अनुसार कयौं देशहरुले हतियार नियन्त्रण गर्ने सन्धिको समर्थन गरेको बताइएको छ । अमेरिकाले यो सन्धिबारे शुरुमा अन्योल देखाएका भएपनि यो सन्धिको समर्थन गरेको छ । तर उसले यो सन्धिमा गोलाबरुदलाई सामेल गर्न नहुने इच्छा देखाएको छ । बेलायतले भने सबैले लागू गर्ने सन्धि हुनुपर्ने बताएको छ । दुई प्रमुख हतियार निर्यातक देशहरु रुस र चीनले भने यो प्रस्तावित सन्धिको बारेमा आपत्ति जनाएका छन् ।

दक्षिण कोरियामा नयाँ राजधानी उद्घाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दक्षिण कोरियाले राजनीतिक कारण एक दशक लामो विवादलाई अन्त्य गर्दै प्राय: सरकारी कार्यालय रहने गरी निर्माण गर्न लागिएको नयाँ राजधानीको सोमबार उद्घाटन गरेको छ । सेजोङ सिटी नामक नयाँ राजधानीको उद्घाटन समारोहमा सोलबाट २ हजार बासिन्दा तथा प्रतिष्ठित व्यक्तिहरु उपस्थित भएका थिए । उक्त सानो राजधानी निर्माण पूरा हुन १९ अर्ब ४० करोड डलर लाग्ने अनुमान गरिएको छ । मुलुकमा विकासको सन्तुलन र सोल तथा सोलसँग जोडिएका नगरहरु मुलुकको करिब आधा जनसंख्याले भरिएकाले त्यसलाई खुकुलो पार्ने उद्धेश्यले नयाँ राजधानी विकास गरिएको हो ।

प्रहरीमा यौन दुर्व्यवहार व्यापक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १९ - प्रहरीको काम हो अर्काको सुरक्षा गर्नु । त्यो संगठनमै कार्यरत महिलाको अवस्थाचाहिँ कस्तो छ नि ? प्रतिवेदन भन्छ- एकदम असुरक्षित । प्रहरीले आफ्नै खर्चमा हालै गरेको सर्वेक्षणबाट विभिन्न खाले यौन दुव्र्यवहार भोग्ने महिला प्रहरी झन्डै ४० प्रतिशत भएको देखाएको छ । प्रहरीका ६० हजार जनशक्तिमा ६ प्रतिशत महिला छन् । यस्तो भयावह अवस्था देखेपछि प्रहरीले आइतबारदेखि संगठनभित्र लैंगिक नीति लागू गरेको छ । प्रहरी प्रवक्ता विनोद सिंहले उक्त नीति कार्यान्वयनका लागि देशव्यापी अभिमुखीकरण सुरु गरिने बताए । देशभरबाट छानिएका ८ सय २४ महिला प्रहरीमाथि गरिएको सर्वेक्षणमा ३८ प्रतिशत पुरुष सहकर्मीले आफ्नैसामु अश्लील शब्द प्रयोग गरेको बताए । घुमाउरो पाराका घोचपेच भोग्ने ३४ प्रतिशत भेटिए । यौन दुव्र्यवहारसम्बन्धी १९ प्रश्नमध्ये अधिकांश महिला सहकर्मीमाथि पुरुषले असजिलो पर्ने किसिमले गर्ने व्यवहारसँग सम्बन्धित थिए । जिस्काउने, होच्याउने, उच्छृंखल एवं अश्लील हाउभाउ भोग्ने १५ प्रतिशत पाइए । अझ रातको समयमै ड्युटी गरिरहँदा अभद्र व्यवहार सामना गर्ने १६ प्रतिशत देखिए । यौनजन्य आक्रमण नै भोगेकाको संख्या पनि कम छैन । तीन प्रतिशतले पुरुष सहकर्मीबाट संवेदनशील अंगमा छोएको वा छुने प्रयास गरेको उल्लेख गरे । बलात्कार प्रयास भएको गुनासो गर्ने दुई प्रतिशत छन् । महिला प्रहरीले ड्युटी गर्दा यौन दुव्र्यवहारका दृष्टिले अत्यन्तै संवेदनशील पाइएको छ । सर्वेक्षणका अनुसार ३० प्रतिशतभन्दा बढी महिला सहकर्मीको साथबिनै ड्युटीमा जानुपर्छ । ८५ प्रतिशतभन्दा बढीले राति ड्युटी सकिएपछि भाडाको कोठामा बास बस्न जानुपर्ने हुन्छ । तीन प्रतिशतमात्र ब्यारेकमा बस्छन् । कामपछि राति बासस्थानसम्म जाने सवारीले पुर्‍याउने सुविधा नपाउने ८७ प्रतिशत छन् । प्रहरी कार्यालयहरू पटक्कै महिलामैत्री नभएको उच्च तथ्यांकमा देखियो । कार्यालयमा चेन्जिङ रुम नभएर अप्ठ्यारो भोग्नेहरू ६७ प्रतिशत छन् । चौहत्तर प्रतिशतले त बेग्लै शौचालयसमेत पाएका छैनन् । सर्वेक्षण र लैंगिक नीति तयारीमा संलग्न अधिकारीहरूका अनुसार यी दुई सुविधा नहुँदा यौन दुव्र्यवहारको खतरा विशेष रहन्छ । माथिल्लो तहका पुरुष सहकर्मीले आफूहरूले भनेको नमानेका कारण विभेदै गरेको पाइयो । त्यस्तो गुनासो गर्ने ४३ प्रतिशत छन् । तालिम दौरान पुरुष प्रशिक्षकबाट फकाउने, दबाबमा पार्ने अवस्था भोगेकाहरू ६ प्रतिशत छन् । उत्पीडन छ, सुनुवाइ कम छ । आवाज उठाउन साहस नगर्ने पनि उत्तिकै छन् । सर्वेक्षणका अनुसार ४० प्रतिशतले नराम्रो लागेको कुरा रिपोर्ट नै गर्दैनन् । रिपोर्ट गरे पनि चित्तबुझ्दो समाधान नआएको भन्नेहरू ५८ प्रतिशत रहे । रिपोर्ट गर्न नै सहजता छैन भन्नेहरू ५३ प्रतिशत भेटिए । सर्वेक्षण यौन दुव्र्यवहार र सेवासम्बन्धी अनुभव गरी दुई भागमा सम्पन्न गरिएको हो । यौन दुव्र्यवहारकै कारण प्रहरी सेवा ठीक नलागेको बताउने महिला प्रहरी एक प्रतिशत पाइए । नेपाल प्रहरीको अन्वेषण र सुपरिवेक्षण निर्देशनालयले सर्वेक्षण र त्यसका आधारमा लैंगिक नीति तयार गरेको हो । प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले आइतबार सर्वेक्षण र लंैगिक नीति प्रतिवेदन अनुमोदन गरी सार्वजनिक गरेका हुन् । 'अबको दुनियाँमा वैज्ञानिक किसिमको अनुसन्धानबिना केही काम गर्न सक्दैनौं । त्यसैले सर्वेक्षणका आधारमा हामीले लैंगिक नीति तयार गरेका हौं,' निर्देशनालयका प्रमुख डीआईजी विज्ञानराज शर्माले भने । प्रतिवेदनमा महिला प्रहरीलाई सजिलो पहिरन लगाउन दिनेदेखि शौचालय, चेन्जिङ रुम, ब्यारेकसम्मका व्यवस्था गर्ने, पतिपत्नी दुवै प्रहरी भए सकेसम्म एकै पोस्टिङमा राख्नेदेखि महिला प्रहरीमा सचेतना र सशक्तीकरणसम्मका समाधान देखाइएका छन् ।

सरकारले पनि विपक्षी सामना गर्न संयुक्त मोर्चा बन्दी थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रतिपक्षी दलहरुले सरकारको विरुद्धमा मोर्चाबन्दी जोडदारका साथ अगाडी बढाउन थालेपछि सरकार पनि संयुक्त मोर्चा बनाउन जुटेको छ । संयुक्त मोर्चा बनाउने क्रममै एकीकृत नेकपा माओवादीले पहिचानसहितको संघीयताका पक्षधरहरुसँग छलफल थालेको छ । आजै एमाओवादीले मोर्चाका लागि सहमति जुटाउन प्रधानमन्त्री बाबुराम भट्टराईले आदिवासी जनजातिहरुसँग छलफल गरेका छन् । छलफलमा एमालेका असन्तुष्ट नेताहरु सहभागी भएका थिए । त्यसरी सहभागी हुनेहरुमा एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, किरण गुरुङ लगायतका नेताहरु सहभागी रहेका थिए । छलफलपछि जनजाति नेताहरुले प्रधानमन्त्रीद्वारा संघीयताको पक्षधरहरुको साझा मोर्चा बनाउने विषयमा प्रस्ताव आएको र यो विषयमा अझै छलफल गरेर टुंगो लगाउने बताएका छन् ।

Jul 2, 2012

घुस लिने अध्यागमन कर्मचारीलाई छ महिना कैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १८,अमेरिका जान लागेकी एक महिलासित घुस लिएको भन्दै अध्यागमन विभागका पियन पूर्णबहादुर बस्नेत र मुद्दा शाखाका कम्प्युटर अधिकृत माधव गौतमलाई विशेष अदालतले छ महिना कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको इजलासले भिडियो र अडियो रेकर्डसमेतका प्रमाणलाई ध्यानमा राख्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम रिसवत लिने कसूर गरेको ठहर गरेको हो। फैसलामा सोही ऐनको दफा ३ (१) (घ) बमोजिम जनही कैद महिना छ र जरिवाना एक लाख रुपैयाँ हुने ठहर गरिएको हो। गत असोजमा अमेरिका उड्न लागेकी डिचेन डोल्मा शेर्पालाई उनीहरुले उड्न नदिई १ लाख रुपियाँ घुस मागेका थिए।

अमेरिकी चालक बिहीन विमानद्वारा ६ जना लडाकू मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानमा अमेरिकी चालक बिहीन विमानको आक्रणमा परी ६ जना लडाकू मारिएका छन् । चालकरहित बिमानद्वारा पाकिस्तानको उत्तरपश्चिमी आदिवासी क्षेत्रमा आक्रमण गरी आज ६ जना विद्रोही मारिएको हो । मानव बिहीन उक्त विमानले अफगान सीमा नजिकै उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रको शावाल जिल्लामा दुई क्षेप्यास्त्र प्रहार गर्दा ती विद्रोहीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् एक घर परिसरमा भएको उक्त आक्रमणमा छ लडाकूको मृत्यु भएको र यसबाट लागेको आगोका कारण उक्त घर नष्ट भएको बताइएको छ