News

Nov 4, 2008

छठ पर्व पूजाआजा र अर्घ्य दिइ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइवासी नेपालीको महान् चाड छठ पर्व आज मंगलबार साँझ अस्ताउँदो सूर्य र भोलि बुधबार बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिइ सम्पन्न गरिंदै छ । पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराइका नदी-तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।काठमाडौंमा बस्ने तराइवासीले विगत केही वर्षेखि रानीपोखरी र वाग्मती नदी किनारमा भेला भइ छठ पर्व मनाउँदैआएका छन् । सूर्य आराधनाको यस पर्वलाई 'छठ' भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा 'चैती छठ' र कात्तिक महिनाको शुक्लपक्षमा 'कात्तिकी छठ' मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिन्छन् । यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफंले बनाएको सात्विक भोजन गर्ने गर्छन् । 'खरना' भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि 'खरना' को प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन् ।व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पिठोको सख्खरसहितको लड्डु, विभिन्न प्रकारका फलफूल, उखु, नरिवल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।व्रतालुले पानीमा बसेर भक्तिपर्वक पूजा गरी अस्ताएको सूर्यलाई अर्घ्य दिएर दरन गर्छन् । यस कार्यमा उपस्थित परिवारका सदस्यले पनि अर्घ्यमा दूध र गङ्गाजल हालेर अर्घ्य दिन सघाउँछन् । रातभरि भजन कीर्तनसहित छठमाइको पूजा-आजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर यो पवित्र पर्वको समापन गरिन्छ । त्यसपछि आफन्त र इष्टमित्रलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ । छठ पूजाले आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।यसैबीच, राष्ट्रपति डा. रामवरण यादवले छठ पर्वका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई सुख,समृद्धि एवम् सुस्वास्थ्यको शुभकामना दिनुभएको छ । यो पर्व राष्ट्रिय एकता, सहिष्णुता, भ्रातृत्व एवम् सामाजिक सांस्कृतिक सद्भाव कायम गर्ने महत्वपूर्ण अवसर पनि हो भन्दै उहाँले यो पवित्र दिनले सबै देशवासीमा आत्मीयता, आरोग्य र सद्भाव ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ ।

No comments: