News

Jan 10, 2009

माधवकुमार नेपाल संविधानसभा सदस्य मनोनीत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ पुस संविधानसभा चुनावमा दुई-दुई क्षेत्रबाट पराजित एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल संविधानसभा सदस्य मनोनीत भएका छन् । नेपाललाई संविधानसभा संवैधानिक समितिको सभापति बनाउन प्रमुख दलबीच सहमति भएपछि मन्त्रिपरिषद्को शनिबार राति बसेको बैठकले सभासद् मनोनीत गरेको हो । शनिबार राति नै बसेको संविधानसभा बैठकमा अध्यक्ष सुवास नेम्वाङले मन्त्रिपरिषद्ले नेपाललाई सभासद्मा नियुक्त गरेको जानकारी गराए । अध्यक्ष नेम्वाङले राति नै उनलाई पद तथा गोपनीयताको शपथ खुवाएर संवैधानिक समितिमा राखेको जानकारी बैठकलाई गराए । संवैधानिक समितिको सभापति नेपाललाई बनाउन प्रमुख दलहरूले सहमति जनाएपछि एमाले केन्द्रीय कमिटीको बैठकले यसअघि मन्त्रिपरिषद्ले सभासद्मा नियुक्त गरेका सुशीलचन्द्र अमात्यलाई फिर्ता बोलाएर नेपाललाई पठाउने निर्णय सर्वसम्मतिले गरेको थियो । पार्टी निर्णयअनुसार अमात्यले राजीनामा दिएका थिए । संविधानसभाको पहिलो बैठकमा अध्यक्ष नेम्वाङले सभासद् पदबाट अमात्यले राजीनामा दिएको जानकारी गराएका थिए । दोस्रो बैठकमा मन्त्रिपरिषद्ले नेपाललाई मनोनीत गरेको जानकारी गराइएको थियो । त्यसको लगत्तै उनलाई पद तथा गोपनीयताको शपथ खुवाएर तेस्रो बैठकमा संवैधानिक समितिमा राखिएको जानकारी गराइएको थियो । नेपालसँगै संवैधानिक समितिमा माओवादीका डा. बाबुराम भट्टराई र स्वतन्त्र सभासद्द्वय बबन सिंह र सदरुल मियाँ हकलाई पनि मनोनीत गरिएको छ । संवैधानिक समिति अब ६३ सदस्यीय बनेको छ । पद तथा गोपनीताको शपथ लिएपछि नेता नेपालले आफू नयाँ संविधान निर्माणमा क्रियाशील रहने बताए । 'संविधान बनाउनु सबै दलको साझा दायित्व हो, म पनि त्यसैमा क्रियाशील रहन्छु,' उनले पत्रकारसित भने । सबै दलको सहयोग पाउने विश्वाससमेत उनले व्यक्त गरे । राजीनामा दिएका सभासद् अमात्यले नेता नेपाललाई महत्त्वपूर्ण जिम्मेवारी दिन अन्य दल सहमत भएपछि त्यसको बाटो खोल्न आफूले राजीनामा दिएको बताए । 'पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नु मेरो दायित्व हो, त्यसैले राजीनामा दिएँ,' उनले नयाँ पत्रिकासित भने । संविधानसभाका सबै समितिका सभापतिहरूको निर्वाचन २९ पुसमा हुँदै छ । त्यसका लागि आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने हुन्छ । संविधानसभा चुनावमा नेपाल रौतहट-६ र काठमाडौं-२ बाट पराजित भएका थिए । मन्त्रिपरिषद्बाट सभासद् मनोनीत हुन आएको प्रस्तावलाई उनले अन्तिम समयसम्म अस्वीकार गर्दै आएका थिए । शनिबार माओवादी, कांग्रेस र मधेसी जनअधिकार फोरमसँगको दुईपक्षीय तथा बहुपक्षीय छलफलमा सबैले संवैधानिक समितिको सभापति बनाउन सहमति जनाएपछि मात्रै उनी सभासद् बन्न तयार भएका हुन् । नेता नेपाल संविधान निर्माणमा अनुभवी मानिन्छन् । उनले ०४६ को संविधान सुझाव आयोगमा पनि तत्कालीन वाममोर्चाको तर्फबाट सदस्य भई काम गरेका थिए । नेपाललाई सभासद् बनाएर संवैधानिक समितिको नेतृत्व गराउन बिहान एमाले महासचिव झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सहमति भएको थियो । एमालेको चालू केन्द्रीय कमिटीको बैठकले सोमबार मात्रै माओवादीले नेता नेपालको तेजोबध गर्न यस्तो प्रस्ताव राखेको निष्कर्ष निकाल्दै उनलाई माओवादी मात्रैको प्रस्तावमा समितिमा नपठाउने निर्णय गरेको थियो ।

No comments: