News

Jan 20, 2009

ठूलो संख्यामा निजामती कर्मचारी सरुवाको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्य प्रशासनमन्त्री पम्फा भुसालले निजामती सेवा नियमावलीलाई प्रभावकारी रुपले कार्यान्वय गर्दै वैज्ञानिक र व्यवस्थित तरिकाले कर्मचारीको सरुवा गर्न लागेको जानकारी गराउनुभएको छ । मन्त्रालयकै सभाकक्षमा सोमबार पत्रकारसम्मेलन गर्दै उहाँले माघ महिनाभित्रमा मन्त्रालयका कर्मचारीहरूको सरुवा गर्नुपर्ने व्यवस्था भएकाले सरुवाको प्रक्रिया यस्तो रुपमा गर्न लागेको जानकारी गराउनुभएको हो । मन्त्री भुसालले उपत्यकामा समयावधि पुगेर पनि काम गरिरहेका कर्मचारीलाई बाहिर जिल्लामा पठाउने र बाहिर जिल्लाकालाई उपत्यकामा ल्याउन निर्देशन दिएको जानकारी गराउँदै यस पटकको सरुवा सुगमबाट दुर्गम र दुर्गमबाट सुगम, सुविधाबाट असुविधा र असुविधाबाट सुविधा हुने बताउनुभयो । मन्त्रालयमा सरुवाका लागि आएका निवेदनहरूमध्ये करिब ९० प्रतिशत निवेदन अर्थ, श्रम तथा यातायात, गृह, पर्यटन, उद्योग तथा भूमिसुधार मन्त्रालयका लागि भएको जानकारी उहाँले दिनुभयो । सरुवाको यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न आफूहरू लागिपरेको बताउदै मन्त्री भुसालले भन्नुभयो- "यो अनुरुप सरुवा भयो कि भएन भनेर निगरानी गर्न विशेष संयन्त्र समेत तयार गरिने छ ।" सबै क्षेत्रमा निजामती कर्मचारीको उपस्थिति होस् र जनताले सेवा, सुविधा पाउन सकून भन्ने उद्देश्यले कर्मचारीलाई गाउँ, जिल्ला, क्षेत्र हुँदै केन्द्रमा पिरामिड तरिकाले व्यवस्थित गरिने निर्देशन दिएको बताउदै मन्त्री भुसालले काठमाडौँमा आउन चाहने क र ख वर्गमा पर्ने जिल्लाका कर्मचारीहरूलाई सात दिनभित्र निवदेन दिन र सो अनुरुप काठमाडौँमा सरुवा गरिने पनि बताउनुभयो । उहाँले नारायणहिटी दरबारका कूल ७११ जना कर्मचारीमध्ये ३६ जना बाहेक सबैलाई काममा लगाईसकेको र बाँकीलाई उनीहरूको पदको प्रकृतिअनुसार काममा लगाईने उल्लेखगर्नुभयो । उहाँले यसरी कर्मचारी सेवा नियमावलीलाई प्रभावकारी कार्यान्वयन गर्न विभिन्न टे्रड युनियन सङ्घ सङ्गठन र विभिन्न मन्त्रालयका सचिवहरूसाग पनि छलफल भएको बताउनुभयो ।

No comments: