News

Apr 6, 2009

नेपालमा अहिले हरेक दिन एउटा न एउटा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२०४६ सालपछि भित्रिएको बन्द संस्कृति नेपालमा अहिले यति झँगिएको छ कि हरेक दिन एउटा न एउटा बन्द हुन थालेको छ। यहाँ जसले जुनसुकै बेला जुनसुकै कारण देखाएर बन्द गर्न सक्छ। बन्द गर्नेमा सत्तासिन राजनीतिक दल, प्रतिपक्षी दल, दलका भ्रातृ भगिनी संस्था, व्यापारिक समूहदेखि लिएर विद्यालयका विद्यार्थीसमेत छन्। विगत तीन वर्षेखि बन्द तथा चक्काजामको अभिलेख राख्दै आएको नेपाल बन्द डट कम नामको वेबसाइटका अनुसार चैत महिनामा एक दिन छोडेर हरेक दिन बन्द भएको छ। उक्त वेबसाइटका अनुसार चैत ५ गतेबाहेक हरेक दिन देशका विभिन्न भागमा बन्द र चक्काजाम भएका छन्। २०४६ सालमा राजनीतिक पार्टीले पञ्चायती व्यवस्थाको विरुद्ध आमहडताल गरेपछि बन्द संस्कृति लोकप्रिय भएको बताउँछन् कांग्रेस नेता अर्जुननरसिंह केसी। अहिले विरोध गर्नको लागि बन्द नै सजिलो र प्रभावकारी उपाय भइसकेको छ’ -केसी भन्छन्। संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार बन्दले खाद्य सुरक्षामाथि गम्भीर असर पार्छ। खास गरी दैनिक ज्यालादारी गरेर खाने निम्नवर्ग बन्दबाट बढी प्रभावित हुन्छ। लगातारको बन्दले आर्थिक क्षेत्र र व्यक्तिको दैनिक जीवनयापनमै गम्भीर असर पारिरहेको छ।’ प्रतिवेदनले भनेको छ। नेपालको एक तिहाइभन्दा बढी जनसंख्याले आफनो आम्दानीको ७५ प्रतिशतभन्दा बढी खानेकुरामा खर्च गर्नुपर्ने बाध्यता भएको कार्यक्रमको तथ्यांक छ। एक दिनको बन्दले एक अर्ब नोक्सान हुन्छ।यसैबीच नेकपा माओवादी (तृका यादव समूह) लगायतका तीन साना दलले आ≈वान गरेको नेपाल बन्दका कारण सोमबार उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ। बन्दका क्रममा राजधानीमा भाडाका सवारी चलेनन् भने पसलहरू आंशिक रूपमा बन्द रहे। शिक्षण संस्थाहरू भने ठप्प नै रहे। उपत्यकाबाहिर पनि बन्दबाट जनजीवन प्रभावित भएको समाचारदाताहरूले जनाएका छन्। बन्दका क्रममा उपत्यकाका जडीबुटी, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा एक दर्जन जति सवारीसाधनमा तोडफोड भएको छ। प्रदर्शनकारीहरूले सिँचाइ कार्यालयको बा१झ ४१९ नम्बरको गाडी, कलंकीमा बा१ज २६०६ नम्बरको माइक्रोबस र कोटेश्वरमा बा१ज ८३०३, बा४च ७४२६, बा५च १०७५ नम्बरको बसका सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ। बन्द गराउँदै हिँड्ने ५० बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चैत १ गतेः थारूलाई मधेसीको कोटामा राखेको विरोधमा थारू कल्याणकारी सभाद्वारा अनिश्चितकालीन तर्राई बन्द। थारूहरूको बन्दको विरोधमा विद्यार्थीद्वारा नवलपरासीको कावासोती बजार बन्द।
चैत २ गतेः थारू प्रदर्शनकारीले घर तोडफोड गरेको विरोधमा मधेसी समुदायद्वारा नवलपरासी बन्द।
चैत ३ गतेः कांग्रेस कार्यकर्ताद्वारा संविधानसभाका सदस्य बोधनारायण शाहको हत्याको विरोधमा विराटनगर बन्द
चैत ४ गतेः सरकारले आर बी कम्प्लेक्स प्लाजामा छापा मारेको विरोधमा व्यवसायीद्वारा न्युरोड बन्द। चैत ५ गतेः कतै बन्द र चक्काजाम भएन।
चैत ६ देखि ८ गतेसम्मः लिम्वुवानद्वारा प्रहरीको कारबाहीमा मारिएका कार्यकर्ता मनिल तामाङलाई शहीद घोषणा गर्न माग गर्दै पूवाञ्चलका जिल्ला बन्द।
चैत ९ गतेः नेविसंघद्वारा स्ववियु चुनावमा धाँधली भएको भन्दै दमौली बन्द।
चैत १० गतेः संघीय लिम्बुवान राज्य परिषद्द्वारा प्रहरीको कारबाहीमा मारिएका मनिल तामाङलाई शहीद घोषणा गर्न माग गर्दै पूवाञ्चल बन्द।
चैत ११ र १२ गतेः व्यापारीद्वारा नवलपरासीलाई बन्दमुक्त क्षेत्र घोषणा गर्न माग गर्दै नवलपरासी बन्द।
चैत १३ गतेः वीरगन्जवासीद्वारा सुरक्षाको माग गर्दै वीरगन्ज बजार बन्द।
चैत १४ गतेः स्थानीय र आफन्तद्वारा सञ्जयकुमार गुप्ताको हत्याको विरोधमा वीरगन्ज बजार बन्द।
चैत १५ गतेः पूवसुरक्षाकर्मीद्वारा पुनः स्थापनाको माग गर्दै नवलपरासी, कैलाली र कञ्चनपुर बन्द।
चैत १६ गतेः नेकपा एमाले र युथ फोर्सद्वारा प्रचण्ड थैवको हत्याको विरोधमा अनिशिचतकालीन लुम्बिनी अञ्चल बन्द।
चैत १७ गतेः स्थानीय र आफन्तद्वारा सञ्जयकुमार गुप्ताको हत्याको विरोधमा वीरगन्ज बजार बन्द।
चैत १८ गतेः ट्रक चालकहरूद्वारा सिलगढीमा पक्राउ परेका यातायात मजदुर पुष्कर कुँवरको रिहाइको माग गर्दै डँडेलधुरामा यातायात बन्द।
चैत १९ गतेः एमाले र युथफोर्सद्वारा प्रचण्ड थैवको हत्याको विरोधमा लुम्बिनी अञ्चल बन्द।
चैत २० र २१ गतेः युथफोर्स र अनेरास्ववियुद्वारा अनुज थापा मगरको हत्याको विरोधमा विराटनगर बन्द।
चैत २२ गतेः स्कुलका विद्यार्थीद्वारा स्कुल बस दुघटनाको विरोधमा पूव-पश्चिम राजमार्ग बन्द।
चैत २३ गतेः स्थानीयवासीद्वारा ट्रयाक्टरको ठक्करबाट स्थानीय श्यामबहादुरको मृत्यु भएको विरोधमा अरनिको राजमार्ग बन्द।
चैत २४ गतेः नेकपा माओवादी (मातृका यादव समूह) लगायतका तीन साना दलद्वारा सरकारले आफना मागको बेवास्ता गरेको भन्दै नेपाल बन्द।

No comments: