News

Apr 6, 2009

पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'म पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ०६५ सुरुवात भएको घोषणा गर्दछु,' राष्ट्रपति डा.रामवरण यादवको यो उद्घोषसँगै पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रूपमा सोमबार सुरु भएको छ । राष्ट्रपति यादवको उद्घोषसँगै खेलाडी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न विद्यालयका विद्यार्थीले आकर्षक मास गेम्स प्रस्तुत गरेका थिए । यसअघि, प्रतियोगितामा सहभागी पाँच विकास क्षेत्र, तीन विभागीय टोली, निर्णायकलगायतको टोलीले मार्चपास गरेका थिए । सो मार्चपासको नेतृत्व पहिलो अन्तर्राष्ट्रिय पदक विजेता नेपाली खेलाडी जितबहादुर केसीले गरेका थिए । राष्ट्रिय झन्डा बोकेका केसीपछाडि मार्चपासमा सुदूरपश्चिमाञ्चलको टोली रहेको थियो । त्यसपछि क्रमशः मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलको टोली थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका खेलाडीपछाडि मध्यपश्चिमाञ्चलको खेलाडी टोली मार्चपासमा सहभागी थियो । मार्चपासको अन्तिम टोली निर्णायकहरूको थियो । मार्चपासलगतै हिमालदेखि तराईसम्मको सांस्कृतिक विविधता झल्कने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । नेवार समुदायको बज्र कला, धिमे बाजासँगै पञ्चकन्या हिँडेको दृश्य सुन्दर थियो । लाखे नाच, पञ्च बुद्ध, अष्टमातृकासँगै हाकुपटासी पहिरनमा ज्यापुः संस्कृतिको प्रदर्शन गरिएको थियो । तल झाँकी प्रदर्शन भइरहँदा सेनाको हेलिकोप्टरबाट दशरथ रंगशालामा पुष्पवृष्टि गरिएको थियो । साथै, हेलिकोप्टरबाटै पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको झन्डा प्रदर्शन गरियो । मयुर नाच, भक्तपुरको माकः प्याखः, मैथली, चौधरी, झाँक्री अनि भोजपुरी संस्कृति झल्काउँदै ट्रयाकमा हिँडेको टुकडीलाई पनि दर्शकले चाख दिएर हेरेका थिए । गुरुङ, मगर, तामाङ र लिम्बू संस्कृति झल्कने टोलीसँगै याक नृत्यका साथ शेर्पा संस्कृति झल्काउने टोली पनि समारोहको आकर्षण रह्यो । औपचारिक उद्घाटनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रूपमा मनमोहक बैन्ड डिस्प्ले गरेका थिए । विभिन्न नेपाली गीतको धुनमा उनीहरूको बैन्ड डिस्प्ले उद्घाटन समारोहको आकर्षण बन्यो । बैन्ड डिस्प्लेसँगै टोलीले पाँचौँ राष्ट्रिय प्रतियोगितालगायतको आकृति रंगशालामा तयार गरेका थिए । सोपछि पाँच उसु खेलाडीले प्रतियोगिताको मस्कट (रेड पाण्डा) नृत्य प्रस्तुत गरेका थिए । नेपाली सेनाले खुकुरी डि्रल प्रदर्शन गरेका थिए । लयात्मक तालमा गरिएको सो प्रदर्शनले पनि धेरैको ध्यान तान्यो । नाइटिंगेल स्कुलका विद्यार्थीले पाँच विकास क्षेत्र र ओलम्पिक चिह्नको आकृति कोर्दै आकर्षक मास गेम प्रदर्शन गरे । खेलकुद परिषद्को तर्फबाट उसु, आइटिएफ र करातेका गरी ६ सय खेलाडीले प्रतियोगितामा समावेश ३२ खेलको मस्कट नृत्य प्रस्तुत गरे । सशस्त्र प्रहरीबलको टोलीले नयाँ नेपाल, नयाँ संविधान तथा नेपालको झन्डाको आकृति बनाउँदा दर्शक रोमाञ्चित भएका थिए । भिएस निकेतनका साना नानीहरूले नेपालका विभिन्न जातजातिको प्रतिनिधित्व गर्दै संयुक्त रूपमा नृत्य प्रस्तुत गरेका थिए । समारोहमै विभिन्न कलाकारले पाँचौँ राष्ट्रिय खेलकुद गीत पनि प्रस्तुत गरेका थिए । मैदानमा विभिन्न कार्यक्रम चलिरहँदा पूर्वी प्याराफिटमा नाइटिंगेलका विद्यार्थीले विभिन्न सन्देश तथा आकृतिका कार्ड डिस्प्ले गरिरहेका थिए । मैदानवरिपरि कन्यामावि, विश्वनिकेतन तथा भानुभक्तका छात्रा चियर अपमा व्यस्त थिए । चार घन्टासम्म उभिएर छात्राले गरेको चियरलाई सबैले प्रशंसा गरे । पलड लाइट(कृत्रिम प्रकाश)मा भएको उद्घाटन समारोह समाप्तिलगतै आतसबाजी गरिएको थियो ।

No comments: