News

Apr 21, 2009

ट्राफिक चेतना जगाउन उपप्रधानमन्त्री सडकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम 'ट्राफिक विशेष कार्यक्रम २०६६' को अवसर पारेर ट्राफिकसम्बन्धी जनचेतना जगाउन सोमबार आफै सडकमा आउनुभएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटनालगायत ट्राफिक समस्यालाई निराकरण गर्ने योजनाअनुरूप सञ्चालन गरेकेा एकमहिने जनचेतना अभियान सफल पारौँ भन्दै मन्त्री गौतमले सडकमा ओहोरदोहोर गर्ने सर्वसाधारणलाई पर्चा र पम्पलेट वितरण गर्नुभयो ।बिहान ८:०० बजे नै शान्ति वाटिका पुग्नुभएका मन्त्री गौतमले भोटाहिटीस्थित आकासे पुलको मुनिबाट ओहोरदोहोर गर्नेहरूलाई आकासे पुल प्रयोग गर्न सल्लाह दिनुभयो । सवारी दुर्घटनाको सिकार आफू पनि नबनौँ अरूलाई पनि हुनबाट जोगाऊँ भन्दै उहाँले ट्राफिक समस्या सबैको साझा समस्या भएको टिप्पणी गर्नुभयो ।बढ्दो सवारी चापसँगै राजधानीमा ट्राफिक समस्या विकराल बन्दै गएको गुनासो गर्दै उहाँले चालक र यात्रुले ट्राफिक अनुशासनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि सरकारले विभिन्न प्रयास गरिरहेको जानकारी दिँदै उहाँले यस अभियानमा आमनागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री गौतमसँगै गृहसचिव गोविन्द कुसुम, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी, सशस्त्र प्रहरीबलका कार्यवाहक प्रमुख सनतकुमार बस्नेतलगायत विभिन्न क्षेत्रका उच्च अधिकारीहरूले पनि ट्राफिक जनचेतना अभियानसम्बन्धी विभिन्न सूचनामूलक पर्चा तथा पम्पलेट बाँडेर सहयोग पुर्‍याउनुभएको थियो ।कार्यक्रममा ट्राफिक महाशाखाका निमित्त प्रमुख रविराज श्रेष्ठले मन्त्री गौतमलगायतका सहभागीहरूलाई ट्राफिक जनचेतना भोलेन्टियर्सको टोपी र क्रस बेल्ड बाँधिदिनुभएको थियो भने विभिन्न सङ्घसंस्था तथा क्लबबाट आएका युवाले भोलेन्टियर्सस्वरूप चोकचोकमा उभिएर यात्रु तथा चालकलाई ट्राफिक अनुशासनबारेमा सचेत तुल्याएका थिए । यो अभियान करिब एक महिनासम्म निरन्तर रूपमा सञ्चालन हुनेछ । महाशाखाका अनुसार यातायात मजदुर, व्यवसायी, चालक, घोडचढी प्रहरी तथा विद्यार्थीहरूको सङ्ख्या बढाएर यसलाई थप उपलब्धिमूलक बनाउने योजना छ ।

No comments: