News

Apr 28, 2009

बेलायतका धनीहरूको सम्पत्तिमा ठूलो गिरावट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक मन्दीले अर्थतन्त्र संकुचित भएपछि बेलायतका धनी मानिसको सम्पत्तिमा एकवर्षे अवधिमा निक्कै ठूलो गिरावट आएको छ । बेलायतको अखबार द सन्डे टाइम्सका अनुसार बेलायतका एक हजार धनीहरूको सम्पत्ति गत वर्ष चार खर्ब १३ अर्ब पाउन्डबाट घटेर दुई खर्ब ५८ अर्बमा झरेको छ । आर्थिकमन्दी सुरु भएको एक वर्ष अवधिमा बेलायती अर्बपतिहरूको सख्ंया ७५ बाट घटेर ४३ पुगेको छ । बेलायती अर्बपतिको सूची प्रकाशन भएको २१ वर्षे अवधिमा सम्पत्तिमा यति ठूलो मात्रामा गिरावट आएको यो नै पहिलो घटना भएको विश्लेषकले भनाइ छ । सम्पत्ति घटे पनि भारतीय मुलका लक्ष्मी मित्तल नै बेलायती धनीको सूचीमा शीर्ष स्थानमा छन् । मित्तलको सम्पत्ति ६१ प्रतिशतले घटेर १० अर्ब ८० करोड पाउन्डमा आइपुगेको छ । रुसी तेल व्यापारी एवं बि्रटिस फुटबल क्लब चेल्सीका मालिक रोमन अब्रामोभिच बेलायती अर्बपतिको सूचीमा दोस्रो नम्बरमा छन् । उनको सम्पत्ति सन् २००८ मा ११ अर्ब ७० करोड पाउन्ड भएकोमा सन् २००९ मा ४० प्रतिशतले घटेर सात अर्ब पाउन्डमा आएको छ । बेलायती अर्बपतिको सूचीमा तेस्रो नम्बरमा बेस्टमिनिस्टरका राजकुमार छन् । उनको सम्पत्ति सात अर्बबाट घटेर ६ अर्ब ५० करोड पाउन्ड भएको छ । चौथो नम्बरमा पूर्व मिस बेलायत र उनका श्रीमान् छन् । उनीहरूको दुवैको सम्पत्ति पाँच अर्ब ६० करोड पाउन्ड छ । उनीहरूमा सम्पत्तिमा सामान्य १२ प्रतिशतले मात्रै गिरावट आएको छ । एकवर्षे अवधिमा सम्पत्ति गुमाउनेको सूचीमा रुसी तेल व्यापारी एवं इंग्लिस पि्रमियर क्लब आर्सनलका मालिक अलिसर उस्मानोभ अग्रपंक्तिमा छन् । मन्दीले उनको सम्पत्तिको भाँडो प्वाल पर्दा ७४ प्रतिशत सम्पत्ति चुहिएको छ । भर्जिन कम्पनीका हाकिम सर रिचार्ड ब्रान्सनको सम्पत्ति मन्दीमा ५६ प्रतिशत बगेको छ । मन्दीमा उनको एक अर्ब ५० करोड सम्पत्ति बगेर गयो, अहिले उनीसँग जम्मा एक अर्ब २० करोड पाउन्ड छ । फुटबल क्लबमा लगानी गर्ने अर्का अर्बपति, पि्रमियर लिग क्लब न्युक्यासन युनाइटेडका मालिक माइक एस्लेको सम्पत्ति आधा घटेको छ । एक वर्षअघिसम्म एक अर्ब ४० करोड पाउन्डका मालिक एस्लेसँग अहिले ७० करोड मात्रै छ । मन्दीमा पनि केही अर्बपतिहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । अनलाइन खेल बिक्रेता पिटर एवं डिनाइस कोट्सको सम्पत्ति गत वर्षको तुलनामा ३३ प्रतिशतले बढेर ४० करोड पुगेको छ । यसैगरी, हारोर्ड कम्पनीका मालिक मोहम्मद अल फइदको सम्पत्ति १७ प्रतिशतले बढेर ६५ करोड पुगेको छ । सम्पत्ति बढ्ने अर्का भाग्यमानीमा बि्रटिस सुपर मार्केट शृंखला मोरिसन्सका पूर्व मालिक सर केन मोरिसन छन् । उनको सम्पत्ति गत वर्षको तुलनामा ११ प्रतिशतले बढेर एक अर्ब ६० करोड पुगेको छ ।

No comments: