News

Jun 9, 2009

माओवादी नेतृत्वमा हचुवाका भरमा 'सशस्त्र जनयुद्ध'का सहिद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एकीकृत माओवादी नेतृत्वको सरकारका पालामा हचुवाका भरमा 'सशस्त्र जनयुद्ध'का सहिद घोषणा गरिएको खुलासा भएको छ। तत्कालीन सरकारले 'जनयुद्ध'का क्रममा माओवादीका ८ हजार ४ सयभन्दा बढी कार्यकर्ता मारिएको दाबी गर्दै उनीहरुलाई सहिद घोषणा गरेको थियो। शान्ति मन्त्रालयको प्रस्तावमा उनीहरुलाई 'जनयुद्धका सहिद'को संज्ञा दिइएको छ ।माओवादीले सहिद घोषित व्यक्तिमध्ये २ हजार ४ सयभन्दा बढीको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयलाई बुझाउन नसकेपछि उसको नेतृत्वको सरकारबाट हचुवाका भरका सहिद घोषणा गरिएको खुलासा भएको जानकारी शान्ति मन्त्रालय स्रोतले दिएको छ।स्रोतका अनुसार सचिवालयले सहिद घोषित व्यक्तिको नाम ठेगाना सहादत प्राप्त गरेको स्थान र मिति माग गरेकामा माओवादीले २ हजार ४ सयभन्दा बढीको विवरण दिन नसकेको हो।माओवादीले विवरण दिन नसकेका व्यक्तिहरुको नाम सहिदको सूचीबाट हटाइने जानकारी शान्ति मन्त्रालयका अधिकार तथा प्रधानमन्त्री माधवकुमार नेपाल निकट स्रोतले दिएका छन्।'कुल सहिद घोषितमध्ये २५ प्रतिशतको विवरण माओवादीले उपलब्ध गराउन सकेन। उनीहरुको नाम सहिदको सूचीबाट हटाइनेछ' स्रोतले भने- 'अब जनयुद्धका सहिदको संख्या घटेर ६ हजार कायम हुनेछ।'स्रोतका अनुसार माओवादी नेतृत्वको सत्ता ढली एमाले-कांग्रेस नेतृत्वको गठबन्धन सरकार गठन भएका कारण जनयुद्धका सहिदको संख्या घट्न लागेको होइन।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारकै पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले माओवादीसित सहमति गरी सहिद घोषित व्यक्तिहरुका बारेमा चारवटा विवरण माग गरेको हो। विवरण माग्नु र सहिद संख्याको घट्ने निश्चित हुनुमा नयाँ सरकारको हात छैन।मन्त्रिपरिषद्ले ८ हजार ४ सय जना सहिद घोषणा गरी विवरण दिँदा धेरैजसोको नामै थिएन। कतिपयका वास्तविक नामभन्दा 'आकाश' 'पाताल' 'प्रकट' 'प्रज्ज्वल' 'प्रतीक' 'गौरव' 'विष्फोट' जस्ता उपनाममात्र थिए भने कतिपय व्यक्तिको सहादत प्राप्त गरेको मिति र स्थान नै थिएन।अझ कतिपयको त फलानो मितिमा यति जना मारिएको भन्दै नामैसमेत खाली राखी सहिद घोषणा गरिएको थियो। माओवादी नेतृत्वको सरकारले पुस ९ मा पहिलोचोटि ७ हजार ६ सय ६४ जना सहिद घोषणा गरेको थियो। पछि तत्कालीन सरकारले सहिदको नाम थपी ८ हजार ४ सय जनाभन्दा बढी पुर्याएको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले माओवादीबाट लिएको चारवटा विवरणका आधारमा जनयुद्धका सहिदको सूचीलाई अन्तिम रुप दिने क्रममा सहिदको संख्या घट्न लागेको हो। उसले अन्तिम सूची तयार गर्दैछ। सचिवालयले सूची तयार हुनासाथ सहिदको विवरण राख्न गृह मन्त्रालयमा पठाउनेछ। गृह मन्त्रालय सहिदको विवरण राख्ने तालुकवाला मन्त्रालय हो।तत्कालीन सरकारले कुनै गृहकार्य नगरी जनयुद्धका सहिद घोषणा गरेको हो। माओवादी सचिवालय सदस्य पोष्टबहादुर बोगटी अध्यक्ष रहेको सहिद प्रतिष्ठान नेपालले जनयुद्धमा ८ हजार ४ सय जनाभन्दा बढी मारिएको भन्दै सदि घोषणा गर्न अधुरो विवरण सरकारलाई दिएको थियो। सहिद प्रतिष्ठानको त्यही विवरण मन्त्रीहरुलाई बाँडियो जुन विवरण न त प्रस्तावक मन्त्रालय शान्ति तथा पुनःनिर्माणलाई दिइयो न त तालुवावाला गृहलाई नै दिइयो।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्री जनार्दन शर्माको धेरैजसोको नाम सहादत प्राप्त गरेको मिति र स्थानसमेत नखुलेको त्यही विवरणका आधारमा मन्त्रिपरिषद्ले बिना गृहकार्य शान्ति मन्त्रालयबाट टिप्पणी उठाउन लगाई प्रस्ताव बनाएर सहिद घोषणा गरेको हो।तत्कालीन प्रधानमन्त्री र मन्त्रीको दबाबमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव माधव घिमिरेले 'निम्न व्यक्तिहरुलाई जनयुद्धका सहिद' घोषणा गर्नु मन्त्रिपरिषद्लाई प्रस्ताव पठाए। उनको प्रस्तावमा सहिद घोषणा हुनुपर्ने व्यक्तिको विवरण र संख्यासमेत थिएन। घिमिरेले प्रस्ताव गर्दामात्र होइन आफ्नो सिफारिसमा साढे पाँच महिनाअघि सहिद घोषित व्यक्तिको नाम अहिलेसम्म हेर्नसमेत पाएका छैनन्।'सचिव घिमिरेले दबाब आयो भन्दैमा हचुवाका भरमा सहिद घोषणा गर्न प्रस्ताव गरेर गर्नै नहुने काम गर्नुभएको हो' शान्ति मन्त्रालयका एक उच्च अधिकारीले भने- 'हाम्रो मन्त्रालयको प्रस्तावमा सहिद घोषित व्यक्तिको नाम हामीले देख्नसमेत पाएका छैनौं।'सरकारले तिनलाई सहिद घोषणा गर्दा मन्त्रिपरिषद्को कार्यविभाजन नियमावलीसमेत उल्लंघन गरेको थियो। नियमावलीविपरीत शान्ति मन्त्रालयको प्रस्तावमा सरकारले उनीहरुलाई सहिद घोषणा गरेको हो। नियमावलीमा सहिद घोषणाको प्रस्ताव गृहमन्त्रालयको प्रस्तावमा हुनुपर्ने व्यवस्था छ। तालुकवाला मन्त्रालयले साढे पाँच महिनाअघि घोषित सहिदको विवरण अझै प्राप्त गर्न सकेको छैन।
हालसम्मका सहिदहरुको सूची
जनयुद्धका सहिद - ८४०० घोषित
जनयुद्धका सहिद - ६००० वास्तविक
जनआन्दोलन-०६२/६३ सहिद- २५
तराई मधेश आन्दोलन सहिद- २४
कर्मचारी सहिद - १७
धार्मिक सहिद- २
पत्रकार सहिद- २
अन्य- २
सन् १९९७ मा मृत्युदण्ड पाएका सहिद - ४

No comments: