News

Jun 12, 2009

एमाले केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाए कार्यविभाजनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टी नेतृत्वले प्रस्तुत गरेको कार्यविभाजनको प्रस्ताव पक्षपातपूर्ण भएको भन्दै एमाले केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन् । पार्टी मुख्यालयमा भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले कार्यविभाजनको प्रस्ताव उचित मापदण्ड र सन्तुलनलाई बेवास्ता गरेर ल्याइएको बताएका छन् । महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय विभाग र फाँट तथा भौगोलिक क्षेत्रहरूको कार्यविभाजन प्रस्ताव राखेका थिए । प्रस्तावमाथि छलफलका क्रममा केन्द्रीय सदस्यहरूले पार्टीको मूल नेतृत्व गर्नुपर्ने अध्यक्ष विभागको नेतामा सीमित हुन खोजकोमा पनि आलोचना गरेका थिए । बैठकमा पोखरेलले पार्टीका १८ वटै विभागका प्रमुख र सबै फाँटका इन्चार्जहरूको नाम प्रस्ताव गरेका थिए भने अञ्चलगत जिम्मेवारीको कार्यविभाजन प्रस्ताव पनि गरेका थिए । पार्टी नेतृत्वद्वारा प्रस्तुत कार्यविभाजनको प्रस्तावमा पार्टी अध्यक्ष झलनाथ खनाल स्वयंलाई पार्टी स्कुल विभागको प्रमुख र महासचिव ईश्वर पोखरेललाई प्रचार विभाग तथा जनवर्गीय संगठनको प्रमुखका रूपमा जिम्मेवारी दिइने उल्लेख छ ।बैठकमा बोल्ने सदस्यहरूले पार्टीको अध्यक्ष सिंगो पार्टीको वैचारिक कामको नेता भएकाले विभागको प्रमुख बनाइनु अनुपयुक्त भएको बताएका थिए । 'विभागका काम नै अध्यक्ष-महासचिवले गर्ने भए नेतृत्वको कार्यविभाजन जरुरी नै भएन,' पोलिटब्युरो सदस्य खगराज अधिकारीले बैठकमा बताए । पार्टी नेतृत्वले महत्त्वपूर्ण विभागहरू आफूनिकटकालाई दिने प्रस्ताव अगाडि ल्याएको छ । प्रस्तावमा संगठन विभागमा अशोक राई, केन्द्रीय सचिवालय सचिवमा युवराज ज्ञवाली, विदेश विभागमा केपी शर्मा ओलीलाई अगाडि सारिएको छ ।केन्द्रीय सदस्यहरूले अध्यक्ष खनाललाई प्रस्ताव गरिएको पार्टी स्कुल विभाग प्रदीप ज्ञवालीलाई र महासचिव ईश्वर पोखरेललाई प्रस्ताव गरिएको प्रचार विभाग प्रदीप नेपाललाई दिन माग गरेका थिए । केपी शर्मा ओलीलाई दिइएको विदेश विभाग र भरतमोहन अधिकारीलाई दिइएको आर्थिक विभागमा भने कसैले दाबी गरेका छैनन् । पार्टी नेतृत्वद्वारा प्रस्तुत कार्यविभाजन प्रस्तावमा उद्योग व्यवसाय तथा श्रम सम्बन्ध विभागमा मुकुन्द न्यौपाने, सहकारीमा केशव बडाल, संघीय मामिला विभागमा रकम चेमजोङ, समाजिक संस्था विभागमा उर्मिला अर्याल, राज्यव्यवस्थामा राजेन्द्र पाण्डे, कानुन तथा निर्वाचनमा अग्नि खरेल, स्थानीय विकास तथा भौतिक योजनामा गोकर्ण विष्टको नाम छ ।उपाध्यक्ष वामदेव गौतमलाई किसान र अर्का उपाध्यक्ष विद्या भण्डारीलाई महिला फाँटको जिम्मेवारी प्रस्तावित कार्यविभाजनमा राखिएको छ । बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रस्तावित कार्यविभाजन अवैज्ञानिक भएकाले यसलाई परिमार्जन गर्नुपर्ने आवाज उठाएका थिए । बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले बोलेका थिए ।

No comments: