News

Aug 12, 2009

राजधानीमै अर्की युवती अपहरणकारीको सिकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ वर्षीया युवती ख्याति श्रेष्ठको अपहरणपछि हत्या भएको घटना सेलाउन नपाउँदै राजधानीमै अर्की युवती अपहरणकारीको सिकार भएकी छिन् । आठ दिनदेखि बालाजुबाट हराएकी २१ वर्षीया अप्सरा रेग्मीको लास मंगलबार बूढानीलकण्ठमा फेलापरेको छ । १९ साउनमा घरबाट निक्लेकी अप्सराको लास चपलीभद्रकाली— ८ को सामुदायिक वनमा फेलापरेको छ । तर, अपहरणकारी ठानिएका नेपाली सेनाका प्युठ लालबहादुर कार्की सम्पर्कबाहिर छन् । अप्सराले कार्कीलाई भाइटीका लगाएर दाइ मानेकी थिइन् ।
बालाजुस्थित मामाघरमा बस्दै आएकी अप्सराले गतवर्ष एनआर कलेजमा कक्षा १२ को परीक्षा दिएकी थिइन् । परीक्षामा ब्याक लागेर पुनः परीक्षाको तयारी गरिरहेको अवस्थामा उनी १९ साउनबाट एकाएक हराएकी थिइन् । मंगलबार विद्यालय जान आनकानी गर्दै जंगलतिर भागेका एक बालकले जंगलको झाडीनिर लास देखेर चिच्याएपछि सोधखोज सुरु भएको थियो । मृतकको खल्तीमा स्कुलको परिचयपत्र फेलापरेपछि लास अप्सराको भएको पुष्टि भएको हो । लास भेटिएको खबर पाएपछि अप्सराका अभिभावक चपलीको जंगलमा पुगेका थिए । उनीहरूले लास अप्सराको भएको पुष्टि गरेका थिए ।
लास अप्सराको भएको पुष्टि गरे पनि अभिभावकले हत्यारा पक्राउ नपरेसम्म लास उठाउन मानेनन् । प्रहरी र अभिभावकबीच पटक-पटक छलफल भएपछि मध्याह्न तीन बजे उनीहरू लास उठाउन सहमत भएका थिए । प्रहरीका अनुसार जंगलको झाडीनजिक चौरमा लास उत्तानो परेको अवस्थामा थियो । मृतकको शरीर पूरै गलिसकेकाले चार/पाँच दिनअघि नै उनको हत्या भएको प्रहरीको अनुमान छ । 'चार/पाँच दिनअगाडि नै मृत्यु भएजस्तो देखिन्छ,' महानगरीय प्रहरीवृत्त महाराजगन्जका डिएसपी शरद खत्रीले भने । मृतक रेग्मीका दाजु प्रदीपका अनुसार अप्सरा १९ साउनमा बेपत्ता भएपछि २३ साउनमा महानगरीय प्रहरीवृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिइएको थियो । उनको खोजीमा जुटेको प्रहरीले मृतक रेग्मीले प्रयोग गर्ने मोबाइलको कल डिटेलबाट अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानअनुसार १९ साउनमा अपहरणअघि अप्सराका दाजु नाता पर्ने लालबहादुरसँग कुराकानी भएको थियो । सेनाको गोरखनाथ गणमा कार्यरत प्युठ १९ गतेदेखि नै सम्पर्कबाहिर छन् । मृतक अप्सराको मोबाइलमा पत्रकार हरि प्रतिज्ञसँग बेलाबखत कुराकानी हुने गरेको देखिएपछि बालाजुवृत्तले उनलाई पक्राउ गरी हिरासतमा राखेर सोधपुछ गरेको थियो । प्रतिज्ञको डेराकोठा खानतलास गर्दा केही फेला नपरेपछि खोजेको बेला उपस्थित हुने कागज गराएर प्रहरीले उनलाई रिहा गरेको छ । प्रहरीले प्युठ कार्कीको खोजी गरिरहेको छ । तर, उनले १० भदौसम्म बिदा स्वीकृत गराएर हिँडेको गोरखनाथ गणले जनाएको छ । दाजु प्रदीपका अनुसार अप्सरा र कार्कीबीच दाजु-बहिनीको सम्बन्ध बनेको थियो । पाँच वर्षअगाडि
अप्सराले उनलाई भाइटीका लगाएर दाजु मानेको प्रदीपले जानकारी दिए । बहिनी हराएपछि कार्कीसँग पटक-पटक सम्पर्क राख्दा उनले तेरी बहिनी जंगलको झाडीतिर छे, गएर खोज् भनेर धम्क्याएको प्रदीपले बताए । 'उसलाई पटक-पटक सम्पर्क गर्न खोजियो, तर उसले कहिले छोरी बिरामी छे, फुर्सद छैन भनेर बहाना गथ्र्यो त कहिले तेरी बहिनीलाई जंगलतिर गएर खोज् भनेर धम्क्याउँथ्यो,' दाजु प्रदीपले भने, 'उसले भेट्नै मानेन ।' प्युठ कार्कीलाई भेट्न उनी कार्यरत गोरखनाथ गणमा जाँदा सेनाले भेट्न नदिएको उनको गुनासो छ । प्रदीपले भने, 'उसका साथीहरूले ऊ गणमै रहेको बताएका थिए, तर प्रशासनले भेट्नै दिएन,' उनले गुनासो गरे ।अप्सरा परिवारकी कन्छी छोरी हुन् । उनका दुई दाजुभाइ छन् । जितपुरफेदी
— ८ निवासी उनी बालाजुमा रहेको मामाघरमा बसेर पढ्दै आएकी थिइन् । बहिनीको मृत्युबाट शोकविह्वल बनेका उनका दाजु प्रदीपले भने, 'एउटै मात्र बहिनी थिई, निर्दयीले जंगलमा लगेर निर्ममताका साथ मारेछ ।' अप्सरालाई कसरी चपलीको जंगलमा पुर्‍याइयो भन्ने रहस्य खोतल्ने प्रयासमा लागेको छ प्रहरी । प्रहरीले अप्सराको लास भेटेको स्थानबाट सुसाइड नोटसमेत बरामद गरेको छ । सुसाइड नोटमा लेखिएको छ
— 'आदरणीय आमा-बुबा, मामा-माइजू, मैले जीवनमा केही गर्न सकिनँ । त्यसैले आत्महत्या गर्दै छु ।'
तर, सो नोट अप्सराका नाममा हत्याराले लेखेको आरोप छ अभिभावकको । 'घटनास्थलमा पन्जा भेटिएको छ, त्यो हत्याका लागि प्रयोग गरिएको हो, त्यस्तै शंकास्पद व्यक्ति फरार छ, त्यसैले यो आत्महत्या होइन,' दाजु प्रदीपको भनाइ छ । डिएसपी खत्रीले अप्सराका नाममा भेटिएको सुसाइड नोटको अक्षर कसको हो भन्ने पत्ता लगाउन परीक्षणमा पठाइएको जानकारी दिँदै भने, 'यो हत्या हो कि आत्महत्या, अहिले यकिन हुन सकेको छैन । पोस्टमार्टमको रिपोर्ट र शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्र के हो भनेर भन्न सकिन्छ ।'

No comments: