News

Feb 14, 2010

लेखा समितिले लियो सुजातासँग बयान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४फेब्रुअरी,२०१०,व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेसिन रिडेएवल पासपोर्ट (एमआरपी) ल्याउने बिषयमा हालसम्म भएका सम्पूर्ण प्रक्रियाबारे सात दिनभित्र समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्री सुजाता कोइरालालाई निर्देशन दिएको छ । आज आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । समितिले पासपोर्ट ल्याउने बिषयमा भारत लगायत अन्य देशसँग पनि राष्ट्रको हित अनुकूल अवसरको खोजी गर्न समेत निर्देशन दिएको छ । बैठकमा समितिका सदस्य सभासदहरुले पासपोर्टका बिषयमा मन्त्री सुजाता कोइराला र सचिव मदन भट्टराईसँग पासपोर्टको छपाईमा भएको ढिलाईबारे सोधपुछ गरेका थिए । सभासदहरुको जिज्ञासामा मन्त्री कोइरालाले पासपोर्ट ल्याउने बिषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयबाट एक टोली भारत गईसकेको बताउँदै यसमा कुनै शंका नगर्न आग्रह गरेकी थिइन । उनले भारतबाट पासपोर्ट ल्याउँदा सजिलो हुने दावी समेत गरिन । आगामी चैत अर्थात अप्रिल १० तारेखदेखि हाल नेपालबाट जारी पासपोर्ट मान्य नहुने भएकाले सबै मुलुकले अनिवार्य रुपमा मेशिन रिडेएवल पासपोर्ट जारी गर्नुपर्ने हुन्छ । सो बिषयलाई लिएर गत भदौ महिनामा नै सरकारले त्यस प्रकारका पासपोर्टका लागि प्रक्रिया शुरु गरी चार वटा कम्पनीलाई छनोट गरेको थियो । तर गत पुस ३ गते परराष्ट्र मन्त्री कोइरालाले टेण्डर प्रक्रिया रद्द गरेपछि निर्धारित समयमा मेशिन रिडेएवल पासपोर्ट जारी गर्न नेपालका लागि असम्भव देखिएको छ । यो पासपोर्ट जारी हुन नसके विदेश भ्रमणमा अवरोध भई राष्ट्रिय संकट आउनसक्ने चेतावनी समेत दिइएको छ । कमिशनको ठूलो खेलका कारण ठेक्का प्रक्रिया रोकिएको आशंकामा लेखा समितिले छानविन शुरु गरेको छ ।

No comments: