News

Feb 20, 2010

उपेन्द्र यादव र विजय गच्छदार अहिले पानी बाराबार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
७ फागुन,एक समयका सहयात्री उपेन्द्र यादव र विजय गच्छदार अहिले पानी बाराबारको अवस्थामा छन् । मधेसी जनअधिकार फोरम विभाजन भएयता उनीहरूबीच झुक्किएर पनि भेटघाट र बोलचाल भएको छैन । संयोगले होइन, नियोजित रूपमै दुई नेता एक-अर्काबाट टाढिन्छन् । उपेन्द्र सहभागी भएको कार्यक्रममा गच्छदार जाँदैनन् भने गच्छदार भएका ठाउँमा उपेन्द्र पाइलो राख्दैनन् । यसबीचमा, दुई-तीनपटक उनीहरू भेट हुने संयोग जुरेको थियो, तर दुवैले त्यसलाई टारे । यादव र गच्छदारको अन्तिम भेट गत जेठ १५, १६ र १७ गते सम्पन्न फोरमको बैठकमा भएको थियो । त्यो पार्टी फुट्नुभन्दा अघिको अन्तिम बैठक थियो । त्यसयता उनीहरूबीच जम्काभेट पनि भएको छैन । 'हो, भेट भएको छैन,' लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भन्छन्, 'भेट्नुको कुनै औचित्य पनि छैन ।'
सम्बन्ध बिगि्रनुमा उपेन्द्र गच्छदारलाई र गच्छदार उपेन्द्रलाई दोषी देखाउँछन् । दुवैले एक-अर्काको चरित्र र नैतिकतामाथि समेत प्रश्न उठाउने गरेका छन् । 'गच्छदारले आफ्नो चरित्र, व्यवहार र नैतिकतामा सुधार गरे मात्र उनीसित सम्बन्ध हुन सक्छ,' फोरम अध्यक्ष यादव भन्छन्, 'अन्यथा कुनै किसिमको सम्बन्ध हुने सम्भावना छैन ।' गच्छदारको शैली पनि उस्तै छ । यादवप्रति आक्रोश व्यक्त गर्दै उनले भने, 'उहाँसित अहिले कुनै किसिमको राजनीतिक सम्बन्ध छैन । बोलचाल गर्नुको कुनै अर्थ पनि छैन ।' यादव र गच्छदारलाई मिलाप गराउन अर्को मधेसी दल तराई मधेस लोकतान्त्रिक पार्टीले समेत प्रयास गरेको थियो । सो पार्टीले दुईपटक यस्तो प्रयास गरे पनि सफल हुन सकेन । संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमाथि छलफलका लागि तमलोपाले बोलाएको पाँच मधेसवादी दलको बैठकमा यादव र गच्छदार दुवै उपस्थित भएका थिए, तर फरक समयमा । सुरुमा यादव आए । गच्छदार आउने थाहा पाएपछि उनले 'म हतारमा छु, बैठकले गरेका सबै निर्णय मान्छु' भन्दै निस्किएको स्रोतले बतायो । उनी हिँडेपछि गच्छदार आएका थिए । तमलोपाले भोलिपल्ट यही विषयमा बैठक बोलायो । तर, यादवले सहअध्यक्ष्ा जेपी गुप्तालाई बैठकमा पठाए । लोकतान्त्रिक फोरमबाट गच्छदार आफैँ आए । गुप्ता र गच्छदारबीच पनि बोलाचाल भएन । पार्टी फुट्नुभन्दा अघिको बैठकमा यी दुई नेताबीच भनाभनसमेत भएको थियो । सार्वजनिक कार्यक्रममा र मिडियासित दुवै नेता एक-अर्काको उछित्तो काढ्न बाँकी राख्दैनन् । 'गच्छदार राजनीतिक मान्छे नै होइन, ऊ अवसरवादी हो । जहिले पनि अवसर र सत्तामात्र हेर्छ,' यादव भन्छन् । गच्छदारले पनि यादव अधिनायकवादी भएको आरोप लगाउँछन् । आरोप लगाउँदै आएका छन् । 'यादवले अधिनायकवादी ढंगले पार्टी चलाउन खोजेका थिए, त्यसकारण हामी अर्को पार्टी खोल्न बाध्य भयौँ,' गच्छदारले भने । पहिले कांग्रेसमा रहेका गच्छदार संविधानसभाको चुनावपूर्व फोरममा प्रवेश गरेका थिए । तर, माधव नेपालले नेतृत्व गरेको वर्तमान सरकारमा सहभागी हुने या नहुने विषयमा गच्छदार र यादवबीच विवाद भई पार्टी फुटेको हो । फुट्नुभन्दा अघि रहेको कार्यालय शंखमूलबाट दुईवटै पार्टी अन्यत्र सरेका छन् । लोकतान्त्रिक फोरमको केन्द्रीय कार्यालय सानेपामा छ भने फोरमको बालकुमारीमा । उपेन्द्र कम्युनिस्ट पृष्ठभूमिका हुन् भने गच्छदार कांग्रेसका । दुवैको गृहजिल्ला सुनसरी हो । ०४२ सालमा दुवै नेता सेन्ट्रल जेलमा एकैसाथ रहेका थिए ।

No comments: