News

Feb 15, 2010

'अन्डरवर्ल्ड'को योजनामा जमिमको हत्या भएको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ३- सञ्चार उद्यमी जमिम शाहको हत्या अन्तरार्ष्ट्रिय अपराधी बब्लु श्रीवास्तव तथा भरत नेपालीको निर्देशनमा भएको खुलासा भएको छ। बब्लु तथा भरत 'अन्डरवर्ल्ड डन' छोटा राजन समूहका लागि काम गर्ने व्यक्ति हुन्। घटना भएको ९ दिनपछि प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा एक प्रहरी सहित ६ नेपालीको संलग्नता पुष्टि गरेको छ। 'बब्लुको निर्देशनमा बब्बु भनिने दीपक शाहीले हत्या योजना बनाई भारतीय तथा नेपाली सहयोगमा जमिमको हत्या गरेको हो'- पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक मदन खड्काले भने। प्रहरीले गोली चलाउनेको पनि पहिचान गरेको छ। गोली चलाउने दुवै भारतीय नागरिक हुन्। 'मोहम्मद बकार सैयद तथा नाम नखुलेका अर्का एकले गोली चलाएको देखिएको छ'- खड्काले भने। घटनामा ६ नेपाली सहित तीन भारतीयको प्रत्यक्ष संलग्नता पाइएको छ। प्रहरीले भारतीय नागरिक रविन भनिने गुड्डु सिंह, दादु तथा नाम नखुलेको एकजना घटनामा प्रत्यक्ष संलग्न रहेको बताएको छ।घटनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा जोडिएका ६ नेपालीमा नेपाल प्रहरीका सई प्रकाश क्षेत्री, नुवाकोट काउले घर भएका श्रीकृष्ण पौडेल, राजु लामा, किशोर खड्का तथा रोशनकुमार पाण्डे छन्।घटनाको उद्देश्य थाहा नपाइ पाण्डे, सिद्धी अटो वर्क्सको वीरेन्द्र मण्डल र पूरा विवरण नखुलेको केशर संलग्न भएको प्रहरीले अनुसन्धानले देखाएको छ। पाण्डेले अभियुक्तलाई सिमकार्ड उपलब्ध गराएको केशरले आवास व्यवस्था मिलाएर सघाएको प्रहरीको दाबी छ।प्रहरीका अनुसार गोली प्रहारपछि मोटरसाइकलमा लैनचौरको दुग्ध विकास संस्थान अगाडि भेला भएर फरक फरक मोटरसाइकल प्रयोग गरी कलंकी पुगेर भागेका थिए। पौडेलले अभियुक्तहरुलाई भगाउन मुख्य भूमिका निर्वाह गरेको प्रहरी दाबी छ।घटना भएको ९ दिन बितिसक्दा पनि सई प्रकाश क्षेत्री बाहेक हत्यामा संलग्न अन्य कसैलाई पनि पक्राउ गरिएको छैन। क्षेत्री डेढ महिना अघिदेखि हत्या योजनाबारे जानकार रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले पत्रकार सम्मेलनमा दीपक शाही, कृष्ण पौडेलको तस्विर तथा सुटर मोहम्मद बकार सैयद तथा नाम नखुलेका अर्का एकको स्केच सार्वजनिक गरेको छ।११ वर्षअघि पूर्वमन्त्री मिर्जाविल साद वेगको हत्या गर्ने छोटा राजन समूहबाटै जमिमको हत्या भएको बताए पनि प्रहरीले कारण भने निर्क्यौल गर्न सकेको छैन। अन्डरवर्ल्ड डन छोटा राजन समूहका लागि काम गर्ने बब्लु श्रीवास्तव भारतको लखनउ जेलमा आजीवन कारवासको सजाय भोगिरहेका छन्। भरत नेपाली सिंगापुर-बैंककमा बसेर अपराधिक गतिविधि सञ्चालन गर्दै आएका व्यक्ति हुन्।

No comments: