News

Feb 23, 2012

वैद्यले राजीनामाको अडान लिएपछि माओवादी बैठक अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ११- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा आउनु पर्ने अडान कायमै राखेपछि स्थायी समिति बैठक अनिश्चित बनेको छ। मंगलबार बस्ने भनिएको स्थायी समिति बैठकमा प्रधानमन्त्री भट्टराई अनुपस्थित भएको बहाना मात्रै बनाइएको माओवादी स्रोतले बतायो। वैद्य समूहको उक्त अडान बारे अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच बुधबार विहानको भेटघाटमा छलफल भएको छ। भट्टराईले पार्टी निर्णय मान्ने औंल्याउँदै आफू राष्ट्रिय सहमतिका लागि 'बाधक नभई साधक' बन्न चाहेको दाहाललाई बताएका थिए। दाहाल निवास लाजिम्पाटमा भएको भेटघाटमा स्थायी समितिमा वैद्य पक्षले राजीनामालाई पुनः मुद्दा बनाउने भएकाले के गर्ने भन्ने प्रश्नमा भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नबन्ने बताएका थिए। वैद्य पक्षले भट्टराईको राजीनामालाई आफ्नो विचार समूहको प्रतिष्ठा बनाए पछि स्थायी समिति बस्न नसकेको लाजिम्पाट स्रोतले बतायो। 'वैद्य जीहरू पहिले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार नेतृत्वका लागि पुनः भट्टराईलाई मान्न तयार छन्। पहिला राजीनामा मुख्य विषय बनाएका छन्', दाहाल निकट स्रोतले भन्यो। पार्टी एकतापछि त्यसको प्रतिबिम्ब सरकारमा नदेखिएकाले राजीनामा एउटा विकल्पको रूपमा हुन सक्ने बारे छलफल भएको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए। 'राजीनामा दिएर भट्टराई जीको नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन, वा अन्य साथीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने बारे छलफल जारी छ। यसमा प्रयाप्त गृहकार्य नभएकाले बैठक बस्न सकेको छैन', पोखरेलले नागरिकसँग भने।
पार्टी एकताको प्रतिबिम्ब सरकारमा कसरी देखाउने भन्ने विषय नेतृत्व पक्तिबीच टुंगिएको छैन। दाहाल-भट्टराई पक्षले राष्ट्रिय संयुक्त सरकार नेतृत्व विकल्प दिएर राजीनामा गर्ने अडान लिएको छ। दाहालल नागरिकसँग तीन दिनअघि अर्न्तवार्तामा वैद्यले राजीनामा दिएर विकल्प भट्टराई हुन सक्नेमा सहमत भएको बताएका थिए। पछिल्लो स्थायी समिति बैठकले पार्टील राष्ट्रिय संयुक्त सरकारको पहल लिने र त्यसको नेतृत्व माओवादीले लिने निर्णय गरेको थियो। राष्ट्रिय संयुक्त सरकारको नेतृत्व गर्ने व्यक्तिमा विकल्प खुला राख्ने निर्णय गरेको थियो। अहिले त्यही निर्णयलाई आधार मानेर वैद्य पक्षले राजीनामालाई मुख्य विषय बनाएको छ। राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि सरकारले अन्य दलहरूसँग पहल लिन दाहालले भट्टराईलाई आग्रह गरेका थिए। जवाफमा भट्टराईले त्यसका लागि सबै दलसँग छलफल गर्ने बताएका थिए। सेना समायोजनलाई सम्मानजनक बनाउन सरकारको धारणा र पहल बारे सोच्न दाहालले भट्टराईलाई आग्रह गरेका थिए। 'सेना समायोजन विषयलाई लिएर पुरै राजनीतिक ध्रुबिकरण देखिएको छ यस सोचौं', दाहालले भनेका थिए।
वैद्य पक्षका केही लडाकु वाईसीएलले आफ्ना माग राख्दै घेराउ गर्ने दिएको ४८ घन्टे अल्टिमेटम बारे उनीहरूबीच छलफल भएको थियो। वाईसीएलले लिएको माग पार्टीको आन्तरिक र जटिल भएकाले वाईसीएलसँग वार्ता गरी टुंगो लगाउनेमा सहमत भएको छ। मधेशको मिथिला राज्यका केही घट्नामा पार्टीभित्र विवाद भएकाले त्यसलाई स्थायी समितिको बैठकको ऐजेन्डा बनाउने बारे छलफल भएको छ। गौर हत्याकाण्ड लगायत मुद्दामा पार्टीभित्र विवाद रहेकाले त्यसलाई स्थायी समितिको ऐजेन्डा बनाउने तयारी भएको पोखरेलले बताए। 'मुख्य गरी मधेशको मिथिला राज्यका घट्नाहरूमा पार्टीभित्र विवाद छ। त्यसलाई टुंगो लगाउने भनेर साथीहरू आएका थिए। त्यसलाई स्थायी समिति बैठकमा एउटा ऐजेन्डा बनाएर टुंगो लगाउने भन्ने भएको छ', पोखरेलले भने।

No comments: