लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज, फागुन २२ - जिल्ला हुलाक कार्यालय सप्तरीका कर्मचारीलाई सत्तासीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कार्यकर्ताले कुटपिट गरेका छन्। फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारको प्रमुख आतिथिति रहने पार्टीको कार्यक्रमका लागि चन्दा नदिएको आक्रोशमा कर्मचारीहरुलाई दुर्व्यवहार र कुटपिट गरिएको हो। चन्दा माग्न आएका कार्यकर्ताले हुलाक कार्यालयका निमित्त प्रमुख पाण्डव ठाकुरलाई दुर्व्यवहार गर्नुका साथै हलकारा रामप्रसाद इसरलाई कुटपिट गरेको पीडितले बताए। फोरम (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष शैलेश चौधरीले मोटरसाइकलका लागि पेट्रोल माग्न पुगेका कार्यकर्तासँग कर्मचारीको विवादमात्र भएको बताए। अध्यक्ष गच्छदारको विरोधमा कर्मचारीले कुरा गरेपछि विवाद बढेको उनले बताए। यसैबीच नेपाल निजामती कर्मचारी सङ्गठनले कार्यालयभित्र कर्मचारीमाथि हातपात गर्ने फोरम (लोकतान्त्रिक) का कार्यकर्तामाथि कारबाहीको माग गरेको छ। सङ्गठनका सप्तरी अध्यक्ष सुब्बालाल मण्डलले कुटपिट गर्ने कार्यकर्तालाई कारबाही गर्नुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखे। घटनास्थलबाट पक्राउ परेका तीनजना कार्यकर्तालाई प्रहरीले तत्कालै रिहा गरिदिएको छ। फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री गच्छेदार विद्यार्थी फोरम (लोकतान्त्रिक) सप्तरीद्वारा राजविराजमा राखिएको प्रशिक्षण कार्यक्रममा भाग लिन आज अपराह्न आउँदै छन्।
No comments:
Post a Comment