लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २७ -माओवादीले सातै डिभिजन कमान्डरलाई छलफलका लागि काठमाडौं बोलाएकाले सोमबार सुरु हुने भनिएको पुनर्वर्गीकरण पछि सरेको छ।कन्टेनरमा राखिएका हतियार र समायोजन रोज्ने लडाकुलाई सेनाको जिम्मा लगाउन सातै मुख्य शिविरमा पुगेको विशेष समिति सचिवालय टोली भने कमान्डर पर्खेर बसेका छन्। शिविरमा पुगेका सचिवालय टोलीसँग माओवादी कमान्डरले विशेष समितिको निर्णय कुर्न आग्रह गरे। 'विशेष समितिले पेन्डिङ विषयमा निर्णय गर्नुपर्यो, त्यसपछि समायोजन प्रक्रिया अघि बढाउन हामी तयार छौं भन्नुभो,' सुर्खेत पुगेका सचिवालय सदस्य दीपकप्रकाश भट्टले नागरिकसँग भने, 'हामी पनि पर्खेर बसेका छौं।' सुर्खेतस्थित छैटौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाही (प्रज्ज्वल) ले आफू सोमबार बिहानै काठमाडौं पुग्ने बताए। नागरिकसँगको टेलिफोन सम्पर्कमा उनले भने, 'डिभिजन कमान्डरलाई समायोजनबारे कुरा गर्न पार्टीले काठमाडौं बोलाएको छ, अन्तिम तयारीका लागि नेताहरूसँग छलफल गर्न लागेका हौं, बाँकी विषयमा सहमति नभएसम्म काम अघि बढ्दैन।'
सातौं डिभिजन कैलालीका कमान्डर सन्तकुमार दरै (परवाना) ले पनि सोमबार पुनर्वर्गीकरण सुरु नहुने बताए। 'विशेष समिति टोलीसँग कुराकानी भैरहेको छ, दर्जालगायत सबै विषयमा सहमति भएपछि मात्र काम सुरु गर्ने भनेका हौं', दरैले नागरिकसँग भने, 'प्रक्रियामा अप्ठेरो नहोस् भनेर सहमति कुर्ने भनेका हौं।' उनले आफ्नो शिविरका लडाकुमा विरोध र असन्तुष्टि नरहेको बताए।
महानिर्देशनालय गठन, दर्जा निर्धारण, ब्रिजिङ कोर्स र तालिम अवधि तथा छनोट समिति गठनबारे माओवादी र एमाले-कांग्रेसबीच गम्भीर मतभेद छ। आइतबार विशेष समितिमा पनि शीर्षनेताबीच गृहकार्य गर्नुपर्ने भएकाले यसबारे अर्को बैठकमा मात्र छलफल गर्ने भनियो।
माओवादीले महानिर्देशनालयमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने अडान राख्दै आएको छ। कांग्रेस-एमालेले सेनामा दलको प्रतिनिधित्व हुँदा व्यवसायिकतामा असर पर्ने दाबी गर्दै अस्वीकार गरेका छन्। लडाकुलाई मेजरसम्म मात्र दिन सकिने कांग्रेस-एमालेले अडान राखेका छन्। २०५२ सालमा भर्ना भएको व्यक्ति अहिले मेजरभन्दा माथि जान नसक्ने हुँदा त्योभन्दा माथिल्लो पद दिन नमिल्ने सेनाले पनि आन्तरिक छलफलमा राख्दै आएको छ। माओवादीले भने राजनीतिक निर्णयबाट केही पद सिर्जना गरी समायोजनमा सहयोग गर्न आग्रह गर्दै आएको छ। सातौं डिभिजन कमान्डर कालीबहादुर खामबाहेक सबैलाई काठमाडौं बोलाइएको स्रोतले जानकारी दियो। कमान्डरहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व डेपुटी कमान्डर तथा समायोजन ब्युरो प्रमुख वर्षमान पुन, माओवादी सेना प्रमुख नन्दकिशोर पुन (पासाङ) सँग छलफल गर्नेछन्। 'हामी समायोजनको अन्तिम तयारीबारे छलफल गर्छौं,' छैटौं डिभिजन सुर्खेतका कमान्डर शाहीले भने।
No comments:
Post a Comment