News

Apr 7, 2012

दलाईसँग वार्ता गर्न राष्ट्रपति हुलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २३- दक्षिण अफ्रिकाका देशमण्ड टुटु लगायत १२ जना नोबल पुरस्कार विजेताले निर्वासित तिब्बती नेता दलाई लामासँग वार्ता गर्न आग्रह गर्दै चिनिया राष्ट्रपति हु जिन्ताओलाई पत्र पठाएका छन्। 'दलाई लामाले फ्रि तिब्बतको एजेण्डा छाडे वार्ता हुने' बेइजिङले प्रष्ट गरे लगत्तै अन्तर्राष्ट्रिय समुदायबाट बुधबार पत्र पठाएर यस्तो आग्रह गरिएको हो। चीन सरकारको आधिकारिक आँग्रेजी पत्रिका चाइना डेलीले सोमबार दलाई लामालाई वार्तामा आउन आग्रह गरिएको लेख प्रकाशित गरेको थियो। भारत निर्वासित दलाई लामालाई तिब्बत फर्काउन माग गर्दै दक्षिण चीनका तिब्बती बौद्ध भिक्षुहरूले एक वर्षदेखि निरन्तर आत्मदाह गरेपछि बेइजिङमाथि अन्तर्राष्ट्रिय दबाब बढेको हो। चिनिया राष्ट्रपति हु ब्रिक्स राष्ट्रहरूको बैठकमा सहभागी हुन दिल्ली पुग्नुअघि २६ मार्चमा निर्वासित तिब्बती यसी जाम्पेलले आत्मदाह गरेका थिए। दक्षिण चीनमा आत्मदाहको प्रयास गर्ने ३० बढी बौद्धमार्गीमध्ये करिब बीस जनाको मृत्यु भैसकेको अधिकारकर्मीले दावी गरेका छन्। 'आत्मदाहको माध्यमद्वारा तिब्बतीहरूले व्यक्त गरेको असन्तोषको कठोर भावप्रति अन्तर्राष्ट्रिय समुदाय सरोकार राख्छ', राष्ट्रपति हुलाई सम्बोधन गरिएको पत्र उद्धृत गर्दै बेइजिङस्थित अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले लेखेका छन्, 'चीन सरकारले उनीहरूलाई सुनेर अहिंसात्मक समाधान खोजोस्, हाम्रो मित्र तथा भाई दलाई लामाले समाधानको उपाय प्रस्ताव गरेका छन्।'
१९५९ मा दलाई लामा भारत निर्वासित भएयता तिब्बतको मुद्दामा बेइजिङ र उनका प्रतिनिधिबीच नौ चरण वार्ता भैसकेको छ। दलाई लामाले स्वायत्त तिब्बतको माग गर्दै आएका छन् भने बेइजिङले निर्वासित तिब्बतीहरूले फ्रि तिब्बतको माग छाड्नु पर्ने शर्त राखेको छ। चाइना डेलीमा प्रकाशित पेकिङ विश्वविद्यालयका प्रोफेसर झाङ झिरोङको लेखमा अमेरिकाले तिब्बतलाई चीनकै भूभाग मानेको र भारतले पनि मान्यता नदिएको कारण तिब्बतलाई चीनबाट अलग्याउने दलाई लामाको प्रयास असफल भएको तर्क गरिएको छ। 'पछिल्लो तीन दशक र मार्च २००८ मा तिब्बतमा दंगा भएपछि पनि चीन सरकारले नीजि प्रतिनिधि तथा नातेदारहरूलाई बेइजिङ भ्रमणको व्यवस्था मिलाएर दलाई लामाप्रति राम्रो भाव देखाएको छ', तिब्बत मामिलामा बेइजिङ निकट रहेर काम गरेका झाङले भनेका छन्, 'यदि दलाई लामा साँच्चि नै तिब्बत स्वतन्त्रताको एजेण्डा छाड्न तयार हुन्छन् भने वार्ताका लागि इच्छुक रहेको केन्द्रिय सरकारले प्रष्ट गरिसकेको छ, उनका लागि ढोका खुला छ।' एक पटक शुरु भएको वार्ता प्रक्रियालाई निरन्तरता दिएर परिणाममुखी बनाउनु पर्ने भन्दै हुलाई लेखिएको पत्रमा अर्थपूर्ण वार्ताका लागि दलाई लामाले प्रदान गरेको अवसर उपयोग गर्न आग्रह गरिएको छ। पूर्वी टिमोरका राष्ट्रपति जोसे रामोस तथा पोलिस स्वतन्त्रता सेनानी लेक वालेसाले समेत हस्ताक्षर गरेको पत्रमा तिब्बतमा धार्मिक स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन तथा पत्रकार र कुटनीतिज्ञहरूलाई पहुँच दिन पनि राष्ट्रपति हुलाई आग्रह गरिएको छ।

No comments: