News

Apr 8, 2012

कमान्डरले छाने समायोजनमा जाने लडाकु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २७ - नेपाली सेनामा समायोजित हुने ६ हजार ५ सय लडाकुको प्रारम्भिक छनोट सम्बद्ध शिविरका कमान्डरले नै गरेका छन् । सेनामा पठाइसकेपछि मापदण्ड नपुगेर र्फकनुपर्ने अवस्था नआओस् भनेर समायोजनमा पठाउने लडाकुको छनोट कमान्डर आफैंले गरेका हुन् । त्यसरी संकलित नामावलीबारे अन्तिम टुंगो सोमबार बस्ने लडाकु कमान्डरको बैठकले गर्ने भएको छ । त्यसका लागि सबै शिविरका कमान्डर राजधानी आइपुगेका छन् । 'कुन साथीले मापदण्ड, योग्यता पूरा गर्न सक्नु हुन्छ भन्ने जानकारी त हामीलाई न हुन्छ । सेनामा पठाइसकेपछि र्फकन नपर्ने गरी साथीहरूको नामावली तयार पारिएको छ,' लडाकुका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले भने, 'सोमबार बैठक बसेर त्यसको टुंगो लगाउनेछौं ।' संख्यामा केही तलमाथि हुन सक्ने जनाउँदै उनले भने, 'सकभर ६ हजार ५ सय जना नै पठाइन्छ ।' माओवादी आफैंले लडाकु छान्नेमा प्रतिपक्षी कांग्रेस र एमालेले पनि आपत्ति जनाएका छैनन् । 'सकभर सबैलाई स्वविवेक प्रयोग गर्न दिनु राम्रो हो । तर उहाँहरूले आफंैले छनोट गर्दा सहज रूपमा प्रक्रिया अघि बढ्छ भने पनि ठीकै छ,' लडाकु समायोजन विशेष समिति सदस्यसमेत रहेका एमाले नेता भीम रावलले भने, 'सेनामा पठाइएका सबै समायोजित हुने होइनन्, सेनाले प्रचलित मापदण्डअनुसार फेरि छनोट गर्ने हो ।' समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारको बैठकमा कमान्डर आफैंले समायोजन रोज्नेको छनोट गरेपछि बाँकीलाई स्वैच्छिक अवकाशमार्फत बिदा गर्न सकिने र चैत ३० भित्रै समायोजन रोज्ने लडाकु र हतियार सेनाको जिम्मा लगाइने बताएका थिए । 'सोमबारबाटै अवकाश रोज्नेको बिदाइ हुन्छ । बाँकी लडाकु र हतियारलाई चैत ३० भित्रै सेनाको जिम्मा लगाइनेछ,' उनले भनेका थिए ।

No comments: