News

Nov 3, 2008

सडक दुर्घटनामा पाँचजनाको ज्यान गयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवलपरासी र वुटवलमा भएका सडक दुर्घटनामा पाँचजनाको ज्यान गएको छ । अन्य केही यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीका दुइ स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुइजनाको मृत्यु भएको हो । नौ यात्रु घाइते छन् ।ना२ख ९०२२ नम्बर बस र ना१च ६४६४ नम्बर भ्यान आइतबार राति नवलपरासीको पिठौली गाविसमा आपसमा ठक्कर खाँदा दुइजनाको मृत्यु भएको हो । भ्यानचालक पर्साका अफ्ताब आलम र सनाखत हुन नसकेका अर्का एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।पश्चिमी क्षेत्रबाट बुटवल गइरहेको ना२ ख ७८७५ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको लु५प १७ नम्बर मोटरसाइकललाई ठक्कर दिंदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनमा ज्यान गुमाउनेमा रुपन्देहीका रमेश खनाल, स्याङजाका अस्मिता भुजेल र उनका छोरा विश्व रहेको प्रहरीले जनाएको छ ।

माओवादी र एमालेले दुइ पार्टीबीच सम्बन्ध सुधार गर्ने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागी मुख्य दुइ राजनीतिक दल नेकपा माओवादी र नेकपा एमालेले दुइ पार्टीबीच सम्बन्ध सुधार र समन्वयका साथै सरकार सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले एक संयुक्त समिति गठन गर्ने सहमति जनाएका छन् ।नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो सहमति जनाएको हो । समितिमा नेकपा माओवादीका तर्फबाट मोहन वैद्य 'किरण' र नेकपा एमालेबाट पूर्वमहासचिव माधवकुमार नेपाल संयोजक रहनुभएको माओवादीका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बताउनुभयो ।समितिका सदस्यमा माओवादीका डा. बाबुराम भट्टर्राई, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र दीनानाथ शर्मा तथा एमालेका भरतमोहन अधिकारी, वामदेव गौतम, केपी शर्मा ओली, भीमबहादुर रावल र विद्यादेवी भण्डारी हुनुहुन्छ । समितिले सरकार सञ्चालनका क्रममा दुइ पार्टीबीच आपसी समझदारी विकास गर्ने तथा विभिन्न ठाउँमा भएका झडपलाई नियन्त्रण गरी त्यसअनुसारको सहमतिको सन्देश पुर्‍याउने मन्त्री महराले बताउनुभयो । समितिको पहिलो बैठकले नेपाली काङ्ग्रेसलाई माओवादी लडाकु समायोजन विशेष समितिमा ल्याउन दुवैतर्फबाट पहल गर्ने निर्णय गरेको जनाइएको छ ।यसैगरी धादिङ र ताप्लेजुङमा दुइ पार्टीका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न दुइ छुट्टाछुटटै समितिसमेत गठन गरेको छ ।

सेना समायोजनका लागि जनमतसङ्ग्रह गर्नुपर्ने अवस्था आउन सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका नेता दीनानाथ शर्माले पूर्वसहमति र सम्झौता उल्लङ्घन गर्ने प्रयास भए सेना समायोजनका लागि जनमतसङ्ग्रह गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।शर्माले आफैंले गरेको प्रतिबद्धता र सहमति कार्यान्वयनका लागि आलटाल गर्न खोज्ने जुनसुकै राजनीतिक पार्टीलाई अब सचेत नेपाली जनता माफी दिन तयार छैनन् भन्नुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको मागबमोजिम माओवादीतर्फबाट संयोजक नरहेको अवस्थामा विशेष समितिमा काङ्ग्रेसको प्रतिनिधित्व हुने विश्वास उहाँले गर्नुभयो ।नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले राज्यको संरक्षणमा दण्डहीनताको संस्कृति बढेको, शिविरमा रहेका हतियार तथा लडाकुको अनुगमन प्रभावकारी नभएको तथा शान्ति सम्झौता कार्यान्वयन नभएको भनी चिन्ता व्यक्त गर्दै विद्यमान अवस्थामा विशेष समितिमा काङ्ग्रेस सहभागी नहुने स्पष्ट गर्नुभयो ।नेकपा एमालेका नेता भीम रावलले प्रमुख राजनीतिक पार्टी नेपाली काङ्ग्रेसलाई पनि सो समितिमा सहभागी गराउनुपर्नेमा जोड दिंदै राष्ट्रिय हित र जनतालाई केन्द्रमा राखेर गम्भीरताका साथ सेना समायोजन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

Nov 2, 2008

बुद्धबाट प्रेरणा लिएको छु - बान की मुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले विश्वभरि नै शान्ति स्थापनाका लागि काम गर्न भगवान् बुद्धबाट प्रेरणा पाएको बताउनुभएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका सिलसिलामा शनिबार यहाँ आउनुभएका महासचिव बानले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै बुद्धको जन्मथलोको सुन्दरता र वैभव देखेर आफू निकै भावविभोर भएको स्पष्ट पार्नुभयो। उहाँले बुद्धले स्वेच्छाले सुखसयललाई त्यागेर जीवनका वास्तविक दुःखहरूलाई बुझन र अरूलाई ती दुःखबाट पार लगाउनका लागि सहयोग गर्दै मानवजीवनका लागि प्रस्तुत गर्नुभएको उदाहरणबाट ज्यादै प्रभावित भएको बताउनुभयो।महासचिव बानले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन तथा त्यहाँको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वका बारेमा जानकारी लिनुभयो। उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.केशवमान शाक्य र प्रमुख पुरातत्त्वविद् वसन्त बिडारीले लुम्बिनी गुरुयोजना र त्यसको वर्तमान अवस्थाबारे जानकारी दिनुभएको थियो।

छठ पर्वको ब्रत आजदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइवासीहरुले सूर्यको पूजाअर्चना गरेर मनाउने महापर्व छठ आज आइतबारदेखि सुरु भएको छ । कात्तिक कृष्ण चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको पहिलो दिन आज नहायखाय अर्थात अरबा अरबाइन हो । ब्रतालुहरुले आजैदेखि चार दिनसम्म माछा, मासु, लसुन, प्याज, कोदो र मुसुरोका दाल नखाने चलन रहेको छ ।नङ काटी र नहाइधोइ गरी आजदेखि नै उनीहरु चोखा भएर बस्ने गर्दछन् । यसैगरी, पर्वको दोस्रो दिन खरना गरिन्छ । भोलि दिनभर उपवास बसेर साँझपख चन्द्रमालाई खिर चढाइन्छ र त्यही खिर व्रतालुले खाने गरिन्छ ।आउँदो मंगलबार षष्ठीको दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ भने त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समाप्त हुनेछ । यसैबीच, सम्पूर्ण तराइ सहित सहित काठमाडौमा छठको तयारी र पूजास्थल घाटको सरसफाई गर्ने कार्य शुरु भइसकेको छ ।

विश्व बैङ्कले तीनवटा परियोजना कार्यान्वयनका लागि सहयोग उपलब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व बैङ्कले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाललाई एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ अनुदान र एक अर्ब ३३ करोड ८० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण गरी जम्मा दुइ अर्ब ८३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।ती तीन परियोजनाका लागि नेपाल सरकार र विश्व बैङ्कबीच तीनवटा छुट्टाछुट्टै सम्झौता भएका छन् । पहिलो सम्झौताअन्तर्गत बैङ्कले सामाजिक सुरक्षा सञ्जाल परियोजनाका लागि करिब एक अर्ब १० करोड २० लाख रुपैयाँ अनुदान र २१ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्नेछ । परियोजनाको उद्देश्य खाद्यान्न अपर्याप्त भएका जिल्लाहरूमा छोटो अवधिमा विपन्न परिवारका लागि खाद्यान्न र आधारभूत आवश्यकताको पहुँच बढाउनु रहेको छ । परियोजनामा खाद्यान्नका लागि काम, दुर्गम क्षेत्रमा बीउबिजनको प्रयोगमा सहयोगजस्ता कार्यक्रम समावेश छन् ।बैङ्कले दोस्रो सम्झौताअन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामा अतिरिक्त लगानीका लागि एक अर्ब १२ करोड ७० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । आयोजनाको उद्देश्य सिँचाइसहितको कृषि उत्पादकत्व बढाउनु, छनोट गरिएका सिँचाइ कार्यक्रमहरूको व्यवस्थापन गर्नु र सिञ्चित जलस्रोत व्यवस्थापनका लागि क्षमता अभिवृद्धि गर्नु रहेको छ । आयोजनामा सानास्तरका र आधुनिक सिँचाइ प्रविधि, उन्नत बीउ र माटो व्यवस्थापनको स्थानीय उत्पादनजस्ता कार्यक्रम रहेका छन् ।त्यसैगरी बैङ्कले तेस्रो सम्झौताअन्तर्गत खाद्यान्न मूल्य सङ्कट सम्बोधन कार्यक्रमका लागि ३९ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ । सो परियोजनाका उद्देश्य र यसमा समाविष्ट कार्यक्रमहरू सामाजिक सुरक्षा सञ्जाल परियोजनाजस्तै छन् ।ती सम्झौतामा आइतबार अर्थ मन्त्रालयमा अर्थसचिव रामेश्वरप्रसाद खनाल र विश्व बैङ्कका देशीय निर्देशक सुसान जी गोल्डमार्कले हस्ताक्षर गर्नुभयो ।

आदिवासी जनजाति साँस्कृतिक महोत्सव तानसेनमा शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०६५ आज आइतबारदेखि पाल्पाको तानसेनमा शुरु भएको छ । २८ गते सम्म चल्ने महोत्सवको २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहे पनि आजैबाट गोष्ठी शुरु भएको छ । महोत्सवमा नेपालमा रहेका ५९ वटा जनजातिहरुका झाँकी, स्थानीय समुदायका नाच, झाँकीहरु देखाइने आयोजकले जनाएको छ । जातीय स्वायतत्ता र आत्मनिर्णयको अधिकार स्वाधीन, संघीय र सम्वृद्ध नेपाल निर्माणको मूल आधार भन्ने नारासहित शुरु भएको महोत्सवमा ५ वटा गोष्ठी, नमुना सभासद बैठक राखिएको छ । महोत्सव अन्तर्गत २३ देखि २७ सम्म बस्ने नमुना सभासद् बैठकले आदिवासी जनजातिको संविधानमा हक अधिकार सुनिश्चत गर्नका लागि पाल्पा घोषणापत्र तयार गरिने नेपाल अदिवासी जनजाति महासंघले जनाएको छ ।