News

Feb 1, 2013

डेकेन्द्र हत्याका ५ अभियुक्त जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ माघ,जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापा हत्याका पक्राउ परेका पाँच अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आदेश लगतै अभियुक्तहरुलाई जिल्ला कारगार चलान गरिएको छ । बादी र प्रतिवादी पक्षको बहस सकिएपछि शुक्रबार न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । ‘प्राप्त प्रमाणहरुका आधारमा कसुर देखिने भएकाले पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ’ अदालतका श्रेस्तेदार आनन्दराज पन्तले अनलाइनखबरसँग टेलिफोनमा भन्नुभयो । ‘तर, यो अन्तिम फैसला होइन, थुनछेक आदेशमात्रै हो ।’-उहाँले भन्नुभयो । फरार चार अभियुक्तलाई भने अदालतले वारेन्ट जारी गरेको छ । थापाको हत्यामा संलग्न भएको आरोपमा ९ जना माओवादी कार्यकर्ता विरुद्ध मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) अनुसार सर्वस्वसहित जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो । डेकेन्द्र हत्याको अभियोगमा प्रहरीले पुष २१ गते लक्ष्मीराम घर्ती, जयबहादुर शाही, निरक घर्तीमगर, वीरबहादुर केसी र हरिलाल पुनलाई पक्राउ गरेको थियो । महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले द्वन्द्वकालको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग हेर्ने भन्दै अनुसन्धान राख्न आदेश दिनुभएको थियो । तर, सर्वोच्च अदालतले अनुसन्धान नरोक्न आदेश दिएपछि पुनः अनुसन्धान सुचारु गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत पक्राउ परेका ५ सहित ९ जनाविरुद्ध माघ १५ गते जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको थियो । मुद्दामा जाहेली वाला डेकेन्द्र पत्नी लक्ष्मीको तर्फबाट सरकारी वकिल डम्बर काफ्लेसहित अभिवक्ताहरु वसन्त गौतम, कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललितबहादुर मल्ल र गोविन्द बन्दीले बहस गर्नुभएको थियो । यस्तै अभियुक्तहरुका पक्षबाट काठमाडौंबाट गएका अधिवक्ताहरु गोपाल सिवाकोटी चिन्तन, केदार गुरागाई र कपिल पोखरेलले बहस गर्नुभएको थियो ।

No comments: