News

Jan 30, 2013

सत्तारुढ गठबन्धनका २१ दलको आम सभा खुलामञ्चमा जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माघ १७ सत्तारुढ गठबन्धनका २१ दलको आम सभा खुलामञ्चमा जारी छ। बाबुराम भट्टराई नेतृत्वको सरकारबिरुद्ध बिपक्षीले विरोधका कार्यक्रम सञ्चालन गर्न थालेपछि सत्तारुढ लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले जनजागरणका लागि सभा आयोजना गरेको हो। सभामा प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्। सभालाई सम्बोधन गर्दै एनकेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन चाहनेहरु गठबन्धनमा केन्द्रित भएको बताए। 'यो विशुद्ध कुर्सीको निम्ति नभइ मुद्दाको निम्ति निर्माण भएको गठबन्धन हो', उनले भने। सभाका वक्ताले अधिकांश समय विपक्षीलाई गाली गरे पनि दाहालले भने- 'विपक्षीलाई आरोप गर्ने सभा हुनु हुँदैन यो। यो हाम्रा मुद्दा भन्ने सभा हो। तपाइँहरुले आज सुन्नुभयो सभा कसैको भण्डाफोर गर्ने हिसाबले भएको छैन।' संघीयताविरुद्ध विभिन्न खाले षड्यन्त्र भइरहेको बताउँदै दाहालले नयाँ राष्ट्रिय एकताको तागत पैदा गरेर अघि बढ्न गठबन्धन जरुरी भएको उल्लेख गरे। उनले कांग्रेस एमालेलाई आह्वान गर्दै भने- 'तपाइँहरुले अहंकार गरिराख्नु भो भने यसले तपाइँहरुलाई ठूलो क्षति हुनेवाला छ।' विपक्षीको घमण्ड कायम रहे अन्तिम लडाइँ सुरु गरेर अस्तित्व समाप्त पार्दिने चेतावनी दाहालको थियो। सभालाई सम्बोधन गर्दै एनेकपा माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरु परिवर्तनको प्रक्रिया पूरा गरेर अघि जान चाहेको बताए। सरकार प्रमुखको जिम्मेवारीमा रहेका उनले २२ वर्षसम्म सरकार चलाउनेहरुले अहिलेको विसंगत अवस्थाको दोष आफूहरुलाई दिन नमिल्ने जिकिर गरे। राजधानीको सडक फराकिलो पार्ने कार्यलाई ठूलो उपलब्धिको रुपमा व्याख्या गर्दै उनले सरकार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए। वाइसिएलले काभ्रेका पत्रकारलाई कुटेको र दैलेखका पत्रकार विस्थापित भएको घटनाबारे मिडियामा आएको विषयलाई सम्बोधन गर्दै उनले भने- 'यो सरकार सबभन्दा बढी पत्रकारप्रति प्रतिबद्ध सरकार हो।' कांग्रेस एमाले चुनावदेखि भागेको बताउँदै प्रधानमन्त्री भट्टराईले उनीहरुलाई नत्थी लगाएर चुनावमा ल्याउने बताए। 
 *** सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने- 'संघीयताविरोध विपक्षीविरुद्ध यो गठबन्धन बनाइएको हो। पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नआएसम्म गठबन्धन कायम रहनु पर्छ।' उनले संविधानसभाको चुनावबाटै पहिचान सहितको संघीयता प्राप्त गर्ने दाबी गरे। कांग्रेस एमालेका नेताहरुलाई उनले गठबन्धनको विरोध गर्न छोड्न आग्रह गर्दै गच्छदारले प्याकेजको सहमतिका लागि आउन कांग्रेस-एमालेलाई आग्रह गरे। 
 *** तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विपक्षीहरुले सत्ता मात्र खोजेकाले समाधान निस्कन नसकेको बताए। सभालाई दलिलत जनजाती पार्टीका विश्वेन्द्र पासवान, सद्भावना पार्टीका राजेन्द्र महतो बोलेका छन्। खुलामञ्च प्रधानमन्त्री बाबुराम भट्टराई, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत गठबन्धनमा रहेका दलहरुका शीर्ष नेता उपस्थित छन्। 
 *** बाबुराम भट्टराई नेतृत्वको सरकारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज राजधानीका विभिन्न ठाउँबाट निकालिएको र्‍याली अहिले खुलामञ्चमा सभामा परिणत भएको छ। विपक्षी गठबन्धनले हिजो सहिदगेटमा कोणसभा र र्‍याली गर्दै शक्ति प्रदर्शन गरेलगत्तै सत्तापक्षीयले पनि आज त्यस्तै कार्यक्रम गरेको हो। यसअघि खुलामंचमा हुने कार्यक्रमको लागि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निस्कने क्रममा काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको थियो। महानगरीय ट्राफिक महाशाखाका अनुसार भद्रकालीको र्‍यालिका कारण सिंहदरबारबाट भद्रकालीतर्फ जाने सवारी साधनलाई सिंहदरबारबाट डाइभर्सन गरिएको छ। त्यस्तै त्रिचन्द्र क्याम्पसबाट शुरु भएको र्‍यालीको कारण पुतली सडकबाट बागबजार हुँदै चल्ने सवारी साधनहरु चल्न सकेका छैनन्। र्‍यालिकै कारण चक्रपथ भएर भित्र चल्ने सार्वजनिक स वारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ । बानेश्वर , तिनकुने ,सिंहदरबार , पद्मोदयमोड , पुतली सडक, त्रिपुरेश्वर , कालिमाटी, कुपन्डोल, बसुन्धारा लगायत विभिन्न स्थानमा सवारी चाप रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

No comments: