News

Jan 11, 2009

हङकङमा ७४ औं भूपी जयन्ती सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/प्रकाश केसी
जनजाति साहित्य समूह हङकङको आयोजनामा ७४ औं भूपी जयन्ती जोर्डनस्थित याक एण्ड यती तोङ्वा बारमा एक समारोहका साथ सम्पन्न भएको छ । समूहका
अध्यक्ष भूपेन्द्र चेम्जोङको सभापतित्वमा बसेको उक्त कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियो, जसमध्ये पहिलो चरणमा अतिथि आसन ग्रहण गराउने तथा आदिवासी जनजाति साहित्यसम्वन्धि कार्यपत्रको सार्वजनिक रुपमा व्यक्त गरिने गरिएको थियो । हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञात, यनआरयन एसिया प्यासिफिक कोअर्डिनेटर गणेश इजम, हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु आदि अन्य अतिथिहरु थिए जसलाई आआफ्नै स्थानमा आसन ग्रहण गराइएको थियो ।समूहका राई चन्द्र दुमीले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए । भूपी सेरचनको तस्वीरमा सबैबाट फूल अर्पण गरिएपछि देश सुब्बाले स्वागत मन्तव्यले उपस्थित सबैलाई दिइएको समयभन्दा दुई घण्टा ढिलो शुरु भएको उक्त कार्यक्रममा स्वागत गरेका थिए । खोटाङ समाज हङकङले खोटाङ निवासी १५ वर्षीय अपाँग गणेश राईलाई सहयोगस्वरुप हङकङ डलर पाँच हलार पाँचसय एघार कान्तिपुर पत्रिकाको हङकङ सम्वाददाता निर्मल श्रेष्ठको हातमा हस्तान्तरण समाजका अध्यक्ष भोगेन्द्र राईले सोही कार्यक्रममा गरेका थिए । जनजाति साहित्य समूह हङकङले यसरी भूपी सेरचनको जन्म जयन्ती मनाउने गरेको यो तेस्रो वर्ष थियो । रकमको हस्तान्तरणपछि सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले जनजाति साहित्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । जनजातिका सम्वन्धमा लेखिएका साहित्यहरु जनजाति साहित्य हो भन्दै व्राहृमणवादी नेपाली साहित्यको धारमा दमित अवस्थामा रहेको जनजाति साहित्यलाई उकास्नका लागि अबको दिनमा प्रज्ञा प्रतिष्ठानमा जनजाति साहित्य प्रतिष्ठान पनि प्रज्ञा प्रतिष्ठानको एक अंगको रुपमा स्थापना गराई जनजाति साहित्यको विकास गराउनु पर्दछ भन्ने आफ्नो ६ पेजको उक्त कार्यपत्र अज्ञातबाट पढेर सुनाइएपछि सोही कार्यपत्रमाथि टिप्पणीहरु गर्ने दोस्रो चरणको कार्यक्रम राखिएको थियो । भूपी जयन्तीमा वास्तवमा भूपी सेरचनसम्वन्धि चर्चाहरु गर्ने वा त्यसैलाई आधार बनएर कविताहरु गर्ने गरिनुको साटो उक्त भूपी जयन्तीलाई आदिवासी वा जनजाति मुद्दाको कार्यक्रम बनाइएको आलोचना कार्यक्रममा उपस्थितहरुबाटै लगाइएको छ भने हाङयुग अज्ञातको उक्त ६ पेजको लामो कार्यपत्रलाई लामो भएको, बरु पहिला कविता पाठ गरौं भन्ने श्रोता लहरबाट आएको आवाजलाई अज्ञातबाट ध्यान दिएर सुन्न अनि नसुन्ने भए हलबाहिर जानका लागि माइकबाटै भनिनु अशोभनीय भएको थियो ।हाङयुग अज्ञातको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रमको दोस्रो चरणको कार्यक्रमको शुरुमा गणेश इजमले थालनी गरेका थिए । इजमलाई हतारमा टिप्पणी गर्ने जिम्मा दिइएजस्तै गरी हाङयुग अज्ञातको गहकिलो कार्यपत्रमाथि सरसर्ती आफूले टिप्पणी गर्न नमिल्ने जनाउँदै आफ्नो सानो उही टिप्पणीकै क्रममा समाज विभाजित हुन सक्ला भन्ने आफ्नो सानो आसयको चर्चा गरेका थिए । टिप्पणीकारका रुपमा बोल्ने अर्का वक्ता शरण सुब्बाले जनजाति साहित्यको कार्यपत्रलाई स्वीकार्दै समाजमा व्याप्त हिन्दू दृष्टिकोणलाई बदल्नु पर्ने र त्यसको गर्नका लागि जनजातिभित्र अद्यावधि रहेका हिन्दू संस्कारलाई हटाउनु जरुरी भएको बताएका थिए भने सुब्बाको लगत्तै नरेश सुनुवारले हाङयुग अज्ञातको कार्यपत्रलाई स्वीकारेका थिए । सुनुवारपछि बोल्ने वक्ता भोगेन्द्र एक्लेले नेपाली मूलधारका साहित्यसँग समकक्षीमा उभिनका लागि जनजाति साहित्य प्रतिष्ठान बनाउनु पर्ने राय राख्ने हाङयुग अज्ञातको कार्यपत्रमा नरमी देखाइएको आरोप लगाई पज्ञा प्रतिष्ठानकै हाराहारीमै जनजाति प्रतिष्ठान बनाउनु पर्ने भनेर लेखिनुपर्ने र त्यसैअनुरुप जनजातिहरु लाग्नु पर्ने धारणा राखेका थिए । अन्तिममा टिप्पणी उठाउने प्रदीप कन्दङ्वाले हाङयुग अज्ञातको उक्त कार्यपत्रलार्य सम्पूर्णतः स्वीकारेका थिए ।तेस्रो चरणको कार्यक्रममा लगभग दुई दर्जन हङकङेली कवि तथा कवयत्रीहरुबाट आआफ्ना कविताहरु पाठ गरिएका थिए । बाल कविहरु आकाश राई र निङ्वा मादेनबाट आआफ्ना कविताहरु पाठ गरिएपछि चन्द्र
मादेन आन्छन्, प्रकाश रोदुङ, अशोक राई, पिताम्बर राई, प्रेम कोरङ्गी, कमल पौडेल, नरेश सुनुवार, भोगेन एक्ले,टंक सम्वाहाम्फे,शरण सुब्बा, देश सुब्बा,भूपेन्द्र चेम्जोङ,गणेश इजम,हिमकला रार्इ,केवलगंगा गुरुंग आदिले कविताहरु पाठ गरेका थिए । अन्त्यमा कार्यक्रमका सभापति भूपेन्द्र चेम्जोङले उपस्थित सबैलाई धन्यवाद दिई कार्यक्रमको औपचारिक विसर्जन गरेका थिए ।कार्यक्रमका चर्चा गर्ने क्रममा लक्ष्मी प्रसाद देबकोटा, माधव घिमिरे, लेखनाथ पौड्याल ब्राहृमण कविहरुका कविताहरुका समालोजनाका दर्जनौं पुस्तकहरु साझा पुस्तक भण्डारमा भएको तर भूपी सेरचन जनजाति कवि भएकोले हुनसक्छ, उनको एउटै पनि समालोचनाको पुस्तकहरु नभएकोले नेपाल सरकारले जनजाति साहित्यकारलाई पाखा लगाउने प्रपञ्च गरेको भन्ने आरोप लगाइएको थियो । भूपी सेरचन जनजाति कवि भनाई साँघुरो परिदृश्यमा राख्ने जमर्को गरिएकोमा जनजाति मूलका एक कवि असन्तुष्टी व्यक्त्याउँदै थिए ।

No comments: