News

Jan 9, 2009

सोह्र घण्टा बिजुलीको अभाव खेप्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हाल दैनिक बाह्र घण्टाको लोडशेडिंगबाट आजित नेपालीहरुले अब आउने सातादेखि सोह्र घण्टा बिजुलीको अभाव खेप्नुपर्ने भएको छ। एक साता अघिसम्मपनि प्राधिकरणका अधिकारीहरु माघ महिनाको अन्त्यबाटमात्रै दैनिक सोह्र घण्टाको लोड शेडिंग हुने बताइरहेका थिए। तर अब त्यो अन्धकारको भार एक महिना अगाडिदेखिनै अर्थात आउने आईतबारदेखि ग्राहकहरुले बेहोर्नुपर्ने भएको छ। प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले भने, - "नदीमा पानीको बहाव घटेपछि उत्पादनमा आएको ठूलो ह्रासका कारण अब दैनिक सोह्र घण्टा लोड शेडिंग नगरी सुख छैन।" पर्याप्त बिजुली आपूर्ति गर्न नसकेर छटपटाएको प्राधिकरणको नयाँ टाउको दुखाइ बनेको छ ठाउँठाउँमा स्थानीय समुदायले त्यहाँ उत्पादित बिजुलीको स्थानीय क्षेत्रमै खपतमा प्राथमिकता हुनुपर्छ भन्ने मागका साथ गरिएका आन्दोलनहरु।
प्राधिकरणले एउटा सार्वजनिक अपील प्रकाशित गरी स्थानिय वासीहरुलाई आफ्नै क्षेत्रको मात्र हित नसोची देशप्रति सम्वेदनशील भई सहयोग गर्न आग्रह गरेको छ। भाटका अनुसार यस्तो समस्या सिन्धुपाल्चोक, त्रिशुली, नवलपरासी, कञ्चनपुर, पर्वत र हेटौंडा लगायका ठाउँहरुमा परिरहेको छ। प्राधिकरणको समस्याको चाङ यतिमात्रै भने होइन। शहरका ग्राहकहरुमध्ये कैयौंले इन्भर्टर राखेर बिजुली बाल्न थालेपछि प्राधिकरणको आपूर्ति झनै चौपट हुन पुगेको छ। लम्बेतान लोडशेडिंगका कारण उद्योगहरुको उत्पादन क्षमता अहिलेनै असी प्रतिशत घटिसकेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। सोह्र घण्टे तालिकाले उनीहरुको काम अझ अस्तव्यस्त बनाउने पक्का छ।नेपालका निजी टेलिभिजन प्रसारण संस्थाहरुले त प्रसारण संकटकालको घोषणा गर्दै अबदेखि राती बाह्र बजेदेखि बिहान पाँच बजेसम्म आफ्ना प्रसारण बन्द गर्ने जानकारी दिएका छन्। उनीहरुले टेलिभिजन ब्रोडकास्टर्स नेपाल नामक संस्थाको उद्घाटन गरेपछि काठमाण्डौमा त्यस्तो घोषणा गरेका थिए। नेपालका होटलहरुको अवस्थापनि उत्तिकै नाजुक भएको व्यवसायीहरुको भनाइ छ। होटल संघका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले भने, चौबीसै घण्टा बिजुली नभइ नहुने होटलहरुलाई अब बाँच्न गाह्रो भइसक्यो।दुई साता अगाडि सरकारले राष्ट्रिय विद्युत संकटको घोषणा गर्दै तत्काल यो समस्या समाधान गर्न पहल गर्ने जानकारी दिएको थियो। तर अधिकारीहरुले कोशीले भत्काएको विद्युत ट्रान्समिशन लाइन आगामी दुई महिनामा बनेपछि मात्रै केही राहत पु-याउन सकिने जनाउ दिएका छन्। हाम्रा संवाददाता भन्छन्, त्यतिञ्जेलसम्म जलश्रोतमा निकै धनी देश भनेर चिनिने नेपालीहरुलाई एक्काइसौं शताब्दीमापनि टुकि युगमै फर्किनु बाहेक अर्को उपाय देखिंदैन।

No comments: