News

Jan 20, 2009

अस्ट्रेलियाली लेखक ह्यारी तीन वर्ष जेल सजाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक/ थाइल्यान्डको राजतन्त्रलाई अपमान गरेको आरोपमा अस्ट्रेलियाली लेखक ह्यारी निकोलाइडिसलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । निकोलाइडिसले चार वर्षअगाडि उपन्यास लेखेका थिए । उपन्यासमा नाम नखुलाइएका युवराजका बारेमा छोटो अनुच्छेद लेखिएको छ । उनको उपन्यास केवल सात प्रति मात्र बिक्री भएको थियो । गत वर्ष अगस्टमा थाइल्यान्ड छोड्दै गर्दा ह्यारी निकोलाइडिसलाई गिरफ्तार गरिएको थियो । 'भर्सिमिलिच्युड' शीर्षकको सो उपन्यास लेखक निकोलाइडिसले आफै प्रकाशित गरेका थिए । खुट्टामा नेल बाँधिएका र जेलको पहिरन लगाएर अदालत उपस्थित भएका निकोलाइडिसले बैंककको अपराध अदालतमा सोमबार आरोप स्विकारेका छन् । न्यायाधीशले छिटोछिटो फैसला गर्दै भने- 'उनले लेखेको पुस्तकले राजा, युवराज र थाइल्यान्डको राजतन्त्रको अपमान गरेको छ ।' सुरुमा निकोलाइडिसलाई ६ वर्ष जेल सजाय सुनाइएको थियो । तर, आरोप स्विकारेको भन्दै जेल सजाय घटाएर तीन वर्ष बनाइयो । थाइल्यान्डमा राजतन्त्रविरोधी धार बढिरहेको छ । तर, यससँगै प्रहरी र सैनिकले राजतन्त्रविरोधी विचार दबाउन कैयौं व्यक्तिलाई गिरफ्तार गरेको छ । तीन हजारभन्दा बढी वेबसाइटहरू बन्द गरिएका छन् । नोभेम्बरमा राजतन्त्रविरोधी भाषण गरेको आरोपमा एक राजनीतिक कार्यकर्तालाई ६ वर्ष जेल सजाय सुनाइएको छ । गिरफ्तार गरिएका कैयौं व्यक्ति फैसलाको सुनुवाईको प्रतीक्षामा छन् । यसैगरी, थाइल्यान्डका एक प्रमुख वामपन्थी राजनीतिक टिप्पणीकारलाई गत वर्ष छापिएको उनको एक किताबमा त्यसअघिको वर्ष सैनिक 'कू'को सन्दर्भमा गाँसेर राजालाई बेइज्जत गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेको छ । यी टिप्पणीकार बैंककको चुलालोङकोर्न विश्वविद्यालयका गिल्स उङ्पकोर्न हुन् । उनले सैनिक र डेमोक्रेट पार्टीको नेतृत्वको सरकारले विपक्षी दबाउन कानुनको उपयोग गरेको भन्दै ती सबै अभियोग अस्वीकार गरेका छन् । 'यो कानुन स्वतन्त्र वाणी नष्ट गर्न उपयोग गरिएको छ'- उनले आफूमाथिको आरोप सुनेपछि बैंकको केन्द्रीय प्रहरी प्रभागको बाहिर संवाददाताहरूसँग भने- 'यी कानुनहरू सैन्य कारबाहीबाट शक्तिमा आएका सैनिक र सरकारको बचाऊ गर्नका लागि बनाइएका हुन् । यथार्थमा यी कानुन राजतन्त्रको रक्षाका लागि होइनन् ।' थाइल्यान्डमा राजतन्त्रको अपमान गर्नु अति नै गम्भीर मामला मानिन्छ । केही मानिस राजा भूमिबोल अदुल्यादेजलाई द्यौताको औतारका रूपमा मान्ने गर्छन् । कानुनअनुसार राजनीतिकले बारबार यस कानुनको उल्लंघन गरेको खण्डमा उनीहरूलाई १५ वर्षसम्म कारावासको सजाय दिन सकिन्छ ।

No comments: