News

Apr 5, 2009

पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता सोमबारबाट सुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता सोमबार (आज) देखि दशरथ रंगाशालामा भव्य समारोहबीच सुरु हुँदै छ । दुई/दुईपटकसम्म स्थगित भएको सो प्रतियोगिता तेस्रोपटक हुने भएपछि राखेप परिसरको खेलकुद चहलपहल ह्वात्तै बढेको छ । 'मिनी साफ गेम' को संज्ञा दिइएको बृहत् प्रतियोगिता भव्य रूपमा मनाउन सबै क्षेत्र खटिरहेका छन् । पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको जानकारी राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव तथा प्रतियोगिता कार्यकारी समितिका अध्यक्ष जीवनराम श्रेष्ठले दिएका छन् । 'छोटो समयको अवधिमा पनि सबै तयारी गरिसकेका छौं,' सदस्य-सचिव श्रेष्ठले भने । प्रतियोगिताको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् । प्रतियोगितामा पाँच विकास क्षेत्र तथा तीन विभागीय टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ३ हजार १ सय ७३ जना खेलाडीले २४ चैतदेखि ३० सम्म प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पदक गणना खेलमा १ सय ९२ स्वर्ण, २ सय ९० रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछ । पदक गणना हुने २१ खेल फुटबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते, भारोत्तोलन, भलिबल, टेबुल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, चेस, ह्यान्डबल, खोखो, शारीरिक सुगठन, आइटिएफ, फुलकन्ट्याक्ट तथा हक्की हुन् । पदक गणना नहुने खेलका ९७ स्वर्ण, रजत र कास्य गरी १ सय २० कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने बृहत् खेलकुद प्रतियोगिताको पहिलो संस्करण ०३८ सालमा काठमाडौंमा भएको थियो । जसमा ७८ स्वर्ण, ७६ रजत तथा ७२ कास्य गरी २ सय २६ पदकका लागि प्रतिस्पर्धा भएको थियो । पहिलोमा १६ खेल समावेश थियो । यसैगरी, ०४० सालमा पोखरामा दोस्रो संस्करण भयो । नौ दिनसम्म चलेको प्रतियोगितामा १ सय १९ स्वर्ण, १ सय १९ रजत तथा १ सय ३२ कास्य गरी ३ सय ७० पदकका लागि प्रतिस्पर्धा भएको थियो । यसमा १९ खेलबीच पदक भिडन्त भएको थियो । तेस्रो प्रतियोगिता ०४२ सालमा वीरगन्जमा सम्पन्न भयो । २१ खेलमा १ सय ४६ स्वर्ण, १ सय ४७ रजत तथा १ सय ८१ गरी ४ सय ४७ पदकका निमित्त प्रतिस्पर्धा भएको थियो । करिब १४ वर्षको अन्तरालपछि वीरगन्जमा चौथो संस्करण भएको थियो । ०५५ सालमा वीगरन्जमा भएको बृहत् खेलमा १२ खेल समावेश गरियो । जसमा १ सय ४० स्वर्ण, १ सय ४० रजत तथा १ सय ८९ कास्य गरी ४ सय ६८ पदकका निमित्त प्रतिस्पर्धा भएको थियो । ०५७ सालमा सुदूरपश्चिमाञ्चलको धनगढीमा र ०५८ सालमा काठमाडौंमा हुने भनिएको प्रतियोगिता हुन सकेन् । काठमाडौंमा हुने भनिएको प्रतियोगिताको एक दिनअघि राजा वीरेन्द्रको वंश विनाश दरबार हत्याकाडण्डले स्थगित भएको थियो ।

No comments: