News

Apr 5, 2009

संसदको कारवाही फेरि संचालन गर्न प्रचण्डले परामर्श शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लगातार अवरुद्ध रहँदै आएको व्यवस्थापिका संसदको कारवाही फेरि संचालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका नेताहरुसँग परामर्श शुरु गरेका छन्।तर उनको प्रयास अझै सफल हुन सकेको छैन।स्थितिलाई सामान्य बनाउन प्रधानमन्त्रीले आइतबार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंग छलफल गरेका थिए।तर खनालले केही दिनअघि बुटवलमा हत्या गरिएका आफ्ना कार्यकर्ताको हत्यारालाई तत्काल कानुनको कठघरामा उभ्याउनुपर्ने पूर्वशर्त दोहोर्‍याएका थिए।आइतबार प्रधानमन्त्री प्रचण्डसंगको भेटमा नेकपा एमाले अध्यक्ष खनालले केही दिनअघि बुटवलमा एमाले कार्यकर्ता प्रचण्ड थैबको हत्या एकजना माओवादी कार्यकर्ताले गरेको बताएका थिए।नेकपा एमालेले ती माओवादी कार्यकर्तालाई कानुनको कठघरामा उभ्याइएपछि मात्र सदनको कारवाही अगाडि बढ्नसक्ने अडान राखेको छ। प्रधानमन्त्रीसंगको भेटपछि अध्यक्ष खनालले बीबीसीसित भने, “मैंलै प्रचण्डको रुख सकारात्मक पाएँ। अब उहाँहरुले हत्यारालाई पक्राउ गर्नुभयो भने त कुरा खुलिहाल्यो नि।”सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका कठिनाइहरुलाई बढाउँदै मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्ना पुराना मागहरुको सूचीबारे यही बेला माओवादीको पुन: ध्यानाकर्षण गराएको छ।नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्णम घिमिरेले भने, ''माओवादीले आफ्ना प्रतिबद्धता पालना गर्ने र देशमा शान्ति सुरक्षाको स्थिति सुध्रिनेमा सबैलाई विश्वस्त नपारेसम्म सदन चल्न सक्दैन।'' “अब आश्वासनका भरमा देश चल्न सक्दैन।”स्थितिको गम्भीरतालाई आइतबार नै एकीकृत नेकपा माओवादी केन्द्रिय सचिवालयको एउटा अनौपचारिक बैठकले समीक्षा गरेको थियो।उक्त बैठकले सदनको कारवाहीलाई अघि बढाउने वातावरण तयार गर्नका लागि सरकारभित्र र बाहिर रहेका सबै दलहरुसँग छलफल गरेर तिनलाई विश्वासमा लिनुपर्ने निष्कर्ष निकालेको बताइएको छ।त्यसो त ९ दिन अघि आरम्भ भएको संसदको हिउँदे अधिवेशन हिउँद याम सकिएपछि मात्रै शुरु भएको थियो।बीबीसी नेपाली सेवाका एकजना संवाददाता भन्छन्, सरकारभित्र र बाहिर रहेका अधिकांश दलहरुले सरकारको कामकारवाही र रवैयाप्रति गम्भीर आपत्ती जनाएको स्थितिले प्रचण्ड सरकारको लागि शुभ संकेत गर्दैन।

No comments: