News

Apr 5, 2009

उत्तर कोरियाले शनिबार अन्तरिक्षयान प्रक्षेपण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सियोल/ उत्तर कोरियाले शनिबार अन्तरिक्षयान प्रक्षेपण गरेको छ । मुलुकको दीर्घकालीन अन्तरिक्ष विकास योजनाअन्तर्गत क्वाङम्योङसोङ- २ नामक सञ्चार भूउपग्रह उन्हा- २ नामक रकेटमा राखी प्रक्षेपण गरिएको र सफलतापूर्वक कक्षमा स्थापित गरेको बताइएको छ । सो अन्तरिक्षयानलाई प्रक्षेपण गरिएको नौ मिनेट दुई सेकेन्डमा कक्षमा स्थापित गरिएको उत्तर कोरियाली अधिकारीहरूले दाबी गरेका छन् । दक्षिण कोरियाली अधिकारीले शनिबार साढे ११ बजे एक रकेट प्रक्षेपण गरिएको बताएका छन् । प्योङयाङले यसलाई सञ्चार उपग्रह भनेको छ । धेरै विश्लेषकले यस प्रक्षेपणलाई उत्तर कोरियाली राज्यले क्षेप्यास्त्र हान्ने आफ्नो क्षमता परीक्षण गरेको हुनसक्ने अनुमान गरेका छन् । तायपोदोङ- २ नामक सो क्षेप्यास्त्र चार हजार माइल क्षमताको रहेको अनुमान छ । केही विश्लेषकका अनुसार यसले पश्चिमी अमेरिकामा पनि प्रहार गर्न सक्छ । उत्तर कोरियाको लामो दूरीको तायपादोङ नामक रकेट परीक्षण गर्ने योजनाले उत्तरपूर्वी एसियामा फेरि एकपटक तनाव सिर्जना गरेको थियो । प्योङयाङले अन्तरिक्षमा सञ्चार उपग्रह राख्ने बताएको थियो भने अमेरिका, जापान, र दक्षिण कोरियाले भने संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न लागेको बताएका थिए । प्योङयाङले अपि्रल ४ देखि ८ तारिखबीच रकेट प्रक्षेपण गर्ने सूचना दिएको थियो । समुद्री मार्ग र हवाई सवारी बन्द गरिएका थिए । यसको प्रत्युत्तरमा अमेरिका, जापान र दक्षिण कोरियाले त्यस क्षेत्रमा पाँचवटा अत्याधुनिक क्षेप्यास्त्रनाशक यन्त्र पठाएका छन् । जापानले सबैभन्दा तीखो प्रतिक्रिया दिँदै जापानी भूभागमा क्षेप्यास्त्र खस्ने खतरा देखिए त्यस्तो रकेटलाई नष्ट गर्न आफू तयार रहेको बताएको छ । उत्तर कोरियाले कसैले रकेट खसाल्ने प्रयास गरे युद्ध सुरु भएको ठानिने घोषणा गरेको छ । उसले प्रक्षेपणको जासुसी गर्न खोज्ने कुनै पनि अमेरिकी विमानलाई तत्कालै खसालिदिने बताएको छ । रकेट प्रक्षेपणलाई 'उक्साउने कार्य' भन्दै अमेरिकाले सामान्यतया तनाव शिथिल पार्ने प्रयास गरेको छ । दक्षिण कोरियामा अमेरिकी सेनाका प्रमुख जनरल वाल्टर सार्पले गत फेब्रुअरीमा सैनिक कारबाहीका साथै अन्य सबै विकल्प खुला रहेको चेतावनी दिएका थिए ।

No comments: