News

Apr 8, 2009

फागुनमा १३.१ प्रतिशत मूल्यवृद्धि मुद्रास्फीति १३.७ प्रतिशत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछिल्ला महिनामा मूल्यवृद्धि क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले आइतबार जारी गरेको मूल्य सूचकांकमा चालू आर्थिक वर्षको आठ महिना अर्थात् फागुन/माघ तुलनामा मूल्यवृद्धिमा सामान्य गिरावट आएको हो । फागुनमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति १३.१ प्रतिशतमा झरेको छ । माघ महिनामा मुद्रास्फीति १३.७ प्रतिशत रहेको थियो भने पुसमा १४.१ प्रतिशत थियो ।अघिल्लो वर्ष फागुन महिनाको तुलनामा भने अहिलेको मूल्यवृद्धि उच्च रहेको छ । अघिल्लो फागुनमा यस्तो मुद्रास्फीति ७.२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक १७.१ प्रतिशत उच्च दरले वृद्धि भएको र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक ८.८ प्रतिशत वृद्धि भएका कारण समग्र उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षभन्दा समीक्षा अवधिमा अधिक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यी समूहको मूल्य सूचकांक वृद्धि क्रमशः ९.४ प्रतिशत र ४.९ प्रतिशत थियो । फागुनमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये चिनी तथा चिनीजन्य वस्तुको मूल्य वृद्धि सबैभन्दा बढी ५३.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष सो उपसमूहको मूल्यमा ८.४ प्रतिशत ह्रास आएको थियो । यसैगरी समीक्षा अवधिमा माछा, मासु तथा फुल, दलहन र तरकारी तथा फलफूल मूल्य क्रमशः २५.२ प्रतिशत, २४.६ प्रतिशत र २१.८ प्रतिशत वृद्धि भएको छ । ०६४ फागुनमा यी उपसमूहको मूल्यवृद्धि क्रमशः ५.३ प्रतिशत, १३.७ प्रतिशत र (-१.८) प्रतिशत थियो । साथै, खाद्यान्न उपसमूहको वाषिर्क बिन्दुगत मूल्यवृद्धि १३.० प्रतिशत रहेको छ । ०६४ फागुनमा सो उपसमूहको वाषिर्क बिन्दुगत मूल्यवृद्धि १४.९ प्रतिशत रहेको थियो । यसैगरी फागुनमा गैर-खाद्यवस्तु तथा सेवा समूहका वस्तुमध्ये सूर्ती तथा सूर्तीजन्य वस्तुको वाषिर्क बिन्दुगत मूल्यवृद्धि १६.३ प्रतिशत रहेको छ । गत वर्ष त्यस्तो वृद्धि ८.३ प्रतिशत थियो । त्यसैगरी समीक्षा अवधिमा यातायात तथा सञ्चार उपसमूहको वाषिर्क बिन्दुगत मूल्यवृद्धि १३.५ प्रतिशत रहेको छ, जुन गत वर्ष १.१ प्रतिशत थियो । क्षेत्रगत आधारमा समीक्षा अवधिमा काठमाडौंमा सबैभन्दा बढी १३.४ प्रतिशत मूल्यवृद्धि भएको छ भने तराईमा १३.३ प्रतिशत र पहाडमा १२.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो वृद्धिदर क्रमशः ७.० प्रतिशत, ७.१ प्रतिशत र ७.५ प्रतिशत थियो । फागुनमा वाषिर्क बिन्दुगत अन्तर्निहित मुद्रास्फीति १२.५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सो मुद्रास्फीति ६.१ प्रतिशत रहेको थियो ।यसैगरी राष्ट्रिय थोक मूल्य सूचकांकको वाषिर्क बिन्दुगत वृद्धिदर २०६४ फागुनमा ६.६ प्रतिशत रहेकामा ०६५ फागुनमा १२.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा थोकमूल्यअन्तर्गतका कृषिजन्य वस्तु, आयातीत वस्तु र स्वदेशी उत्पादित वस्तुको मूल्य क्रमशः १५.३, १०.० र ८.८ प्रतिशत वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ती वस्तुको मूल्य क्रमशः ४.९ प्रतिशत, ७.८ र ९.० प्रतिशत वृद्धि भएको थियो । त्यस्तै, कृषिजन्य वस्तुमध्ये गत वर्षको फागुनमा १२.७ प्रतिशत ह्रास भएको फलफूल तथा तरकारीको वाषिर्क बिन्दुगत मूल्य सूचकांक समीक्षा अवधिमा सबैभन्दा बढी ३१.८ प्रतिशत बढेको छ । यसैगरी, पशुजन्य उत्पादनको वाषिर्क बिन्दुगत मूल्यवृद्धि २३.२ प्रतिशत र दलहनको १५.४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ती वस्तुको वाषिर्क मूल्यवृद्धि क्रमशः ६.१ प्रतिशत र १३.४ प्रतिशत थियो ।०६५ फागुनमा स्वदेशमा उत्पादित वस्तुमध्ये पेय पदार्थ तथा सूर्तिसम्बन्धी वस्तु मूल्य १३.३ प्रतिशतले वृद्धि भएको छ, जुन गत वर्ष ५.० प्रतिशत रहेको थियो । साथै, आयातित वस्तुमध्ये ०६५ फागुनमा कपडाको वाषिर्क विन्दुगत मूल्य २०.३ प्रतिशत वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ती वस्तुको मूल्य ४.० प्रतिशत ह्रास भएको थियो । समीक्षा अवधिमा यातायात तथा मेसिनरी वस्तु मूल्य १८.५ प्रतिशत वृद्धि भएको छ, जुन गत वर्षको सोही अवधिमा ६.३ प्रतिशत थियो ।फागुन महिनामा वाषिर्क बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क २०.३ प्रतिशत वृद्धि भएको छ । ०६४ फाल्गुनमा सो सूचकांक ९.० प्रतिशत बढेको थियो । ०६५ असोजदेखि सरकारी कर्मचारीलगायत सुरक्षाकर्मी, संस्थान कर्मचारी, शिक्षक आदिको तलब वृद्धि भएकाले सो अवधिमा तलब तथा ज्यालादर सूचकांकमा बढी चाप परेको हो । तलब तथा ज्यालादरमध्ये तलब उपसूचकांक समीक्षा अवधिमा २०.८ प्रतिशत वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०.९ प्रतिशत बढेको थियो । ज्यालादर उपसूचकांक समीक्षा अवधिमा २०.१ प्रतिशत बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो सूचकांक ८.४ प्रतिशत बढेको थियो । ०६५ फाल्गुनमा ज्यालादरअन्तर्गत कृषि मजदुर, औद्योगिक मजदुर र निर्माण मजदुरको ज्यालादर सूचकांक क्रमशः २६.९ प्रतिशत, १०.६ प्रतिशत र १८.१ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो सूचकांक क्रमशः ६.० प्रतिशत, ११.६ प्रतिशत र १०.९ प्रतिशत वृद्धि भएको थियो ।

No comments: