News

Apr 8, 2009

अमेरिकी कंग्रेसका सदस्यहरू फिडेल क्यास्ट्रोसँग दुर्लभ भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका/ अमेरिकी कंग्रेसका सदस्यहरूले पूर्वक्युबाली राष्ट्रप्रमुख फिडेल क्यास्ट्रोसँग दुर्लभै हुने भेट गरेका छन् र उनी काममा व्यस्त रहेको र ऊर्जा सम्पन्न रहेको बताएका छन् । अमेरिकी अधिकारीसँगको यो भेट फिडेल क्यास्ट्रो २००६ मा आन्द्राको आपतकालीन शल्यक्रिया गरेपछिको पहिलो भेट बताइएको छ । उनी बिरामी भएपछि सार्वजनिक रूपमा देखापरेका थिएनन् र आफ्नो भाइ राउल क्यास्ट्रोलाई शक्ति हस्तान्तरण गरेका थिए । विश्लेषकका अनुसार यस भेटले क्युबा र अमेरिकाबीचको तनाव शिथिल गर्न बढ्दो इच्छाको संकेत हो । ती तीन अमेरिकी अधिकारीहरूले ८२ वर्षीय क्रान्तिकारी नेता क्यास्ट्रोले क्युबाले कसरी राष्ट्रपति बाराक ओबामालाई दुई देशबीचको सम्बन्ध सामान्य बनाउन मद्दत गर्न सक्छ भनी सोधेको बताएका थिए । 'पक्कै पनि उनी बिरामी थिए,' प्रमण्डलका नेता बार्बरा लीले भनिन्, 'तर, हामीले भेट्दा सबैले उनलाई धेरै स्वस्थ, धेरै ऊर्जाशील र धेरै स्पष्ट सोचका देख्यौँ ।' अर्की कंग्रेस सदस्य लाउरा रिचर्डसनले भनिन्, 'उनले ठाडै हाम्रा आँखामा आँखा मिलाए, उनलाई के हुँदै छ भन्ने थाहा थियो र हामी राष्ट्रपति ओबामालाई कसरी सहयोग गर्न सक्छौँ भनेर हामीलाई सोधे ।' कंग्रेसका डेमोक्र्याट सांसदहरूको सात सदस्यीय टोली क्युबा-अमेरिकाबीचको सम्बन्ध सुधार गर्ने उपाय खोज्दै अहिले क्युबाको भ्रमण गरिरहेको छ । तर, क्यास्ट्रोसँगको भेटमा तीमध्ये तीनजनाले मात्रै उपस्थित थिए । प्रमण्डलले सोमबार राउल क्यास्ट्रोसँग पनि भेट गरेका थियो । वासिङ्टनस्थित पत्रकारका अनुसार यो भ्रमण दुई देशको समयमा परिवर्तन आएको संकेत हो । राष्ट्रपति ओबामाले चाँडै नै २००४ मा जर्ज बुसका पालामा क्युबामाथि भ्रमण तथा क्युबाली अमेरिकालीहरूको रेमिटान्समा लगाइएको प्रतिबन्ध खुकुलो तुल्याउने घोषणा गर्ने आशा गरिएको छ । गत हप्ता कंग्रेसमा सबै अमेरिकीलाई निर्बाध भ्रमण गर्न पाउने गरी एक विधेयक ल्याइएको थियो । एक प्रतिष्ठित समाचारपत्रमा फिडेल क्यास्ट्रोले क्युबाले अमेरिकासँग कुराकानी गर्न कुनै डर नमानेको बताएका थिए भनी छापिएको छ । तर, कसैले पनि ५० वर्ष पुरानो अमेरिकी व्यापार प्रतिबन्ध हट्ला भनी अपेक्षा राखेका छैनन् ।

No comments: