News

Oct 15, 2009

सुजाताले आफ्नो विरोध गर्नेहरूलाई कारबाही गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएर आफ्नो विरोध गर्ने कार्यसमितिका पदाधिकारीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ। नेपाली कांग्रेसले भने उपप्रधानमन्त्री नियुक्ति प्रकरणमा प्रस्ट हुन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई नै बैठकमा उपस्थित गराउन पदाधिकारीहरूलाई जिम्मेवारी दिएको छ। आफूलाई पार्टीको संस्थागत पद्धति उल्लंघन गरेर उपप्रधानमन्त्री बनाइएको टिप्पणी आएपछि केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री कोइरालाले पदाधिकारीहरूलाई नै कारबाही गर्ने धम्कीसमेत दिनुभयो।करिब पाँच घण्टा चलेको बैठकमा शुरूमा कसैले पनि उपप्रधानमन्त्री नियुक्ति प्रकरणसम्बन्धमा प्रश्न उठाएका थिएनन् तर करिब अन्त्य अन्त्यमा नरहरि आचार्यले प्रसंग उठाएपछि पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि चर्को विरोध शुरू गरेका थिए। ‘उपप्रधानमन्त्री नियुक्तिको विषयमा पार्टी पदाधिकारीहरूका फरकफरक टिप्पणी आएका छन्, उपप्रधानमन्त्री नियुक्ति प्रकरणमा पार्टीको धारणा के हो भन्ने प्रस्ट हुनुपर्छ’ -आचार्यले भन्नुभएको थियो।नेता आचार्यपछि गोविन्दराज जोशी, अर्जुननरसिंह केसी, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बलबहादुर केसी, चिरञ्जीवी वाग्ले, डा. रामशरण महतलगायतले पद्धतिलाई उल्लंघन गर्दै सुजातालाई उपप्रधानमन्त्री बनाइएको भन्दै आपत्ति गर्नुभएको थियो। उपप्रधानमन्त्री कोइरालाले पार्टी उपसभापति पौडेल र केन्द्रीय सदस्य महतलाई भने झम्टिनुभएको थियो।‘पार्टी बिगार्ने तपाईं हो’, कोइरालाले उपसभापति पौडललाई बीचमै रोकेर आपत्ति गर्नुभएको थियो- ‘पार्टीका कार्यवाहक सभापति सुशील कोइरालाले अर्जुननरसिंह केसीलाई सहमहामन्त्री र प्रवक्ता बनाउँदा कसैले विरोध गर्नु नपर्ने मलाई उपप्रधानमन्त्री बनाउँदा किन विरोध ?’ उपप्रधानमन्त्री कोइरालाले सबै पदाधिकारीहरूलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नै नेता बनाइदिएकाले फुर्ती नगर्नसमेत चेतावनी दिनुभयो।केन्द्रीय सदस्य डा.महत बोलिरहँदा कोइरालाले हस्तक्षेप गरेपछि दुईबीचमा निकैबेर तनाव भयो। ‘यो केन्द्रीय समितिको बैठक हो, तपाईं पँधेर्नीजस्तो कुरा नगर्नोस्’ -डा. महतले आक्रोशित हुँदै भन्नुभएको थियो।आफ्नाविरुद्ध बोल्ने नेताहरूलाई बीचमै रोक्ने र झम्टिहाल्ने कार्य उपप्रधानमन्त्री कोइरालाले गरे पनि बैठकको अध्यक्षता गरिरहनुभएका कावा सभापति सुशील कोइरालाले रोक्न सक्नुभएन। बैठकमा नेपाली कांग्रेसबाट मन्त्री भएकाहरूले भने सुजातालाई उपप्रधानमन्त्री बनाएको प्रकरणको प्रतिरक्षा गरेका थिए।बैठकले महासमिति बैठकका लागि उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, उपसभापति प्रकाशमान श्रेष्ठको संयोजकत्वमा विवाद निरूपण समिति, चक्र बास्तोलाको संयोजकत्वमा संविधान निर्माण र राज्य पुनःसंरचना समिति र कृष्ण सिटौलाको संयोजकत्वमा पार्टी विधान संशोधन समिति गठन गरेको छ।

No comments: