News

Jan 2, 2009

मागेको साइकलबाट प्रहरी गस्ती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ पुस सरकारले शान्ति-सुरक्षा सुदृढ गर्न तराईमा विशेष सुरक्षा रणनीति लागू गरे पनि गस्तीमा निस्कने प्रहरीलाई स्रोत-साधनको अभाव छ । सवारीसाधन अभावमा ग्रामीण क्षेत्रका प्रहरी गाउँलेसँग साइकल मागेर गस्ती गर्न बाध्य छन् । सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील सप्तरीमा दैनिकजसो हत्या, अपहरण, लुटपाट घटना भइरहेका छन् । तर, ग्रामीण क्षेत्रका प्रहरी कार्यालयमा भने सवारीसाधन छैनन् । केही कार्यालयमा सवारीसाधन भए पनि इन्धन अभाव रहेको प्रहरीहरू बताउँछन् । साधन-स्रोतको अभावमा गाउँलेको साइकल मागेर भए पनि गस्ती गरिरहेको प्रहरी चौकी महुलीका सई गोपालबहादुर थामीले बताए । उनले भने, 'शान्ति-सुरक्षाको मूल दायित्व पूरा गर्न साइकलबाटै भए पनि गस्ती गरेका छौँ ।' सुरक्षा रणनीति लागू गरे पनि सरकारले आवश्यक स्रोत-साधन उपलब्ध नगराएको प्रहरीको गुनासो छ । सीमित स्रोत-साधनबाट पनि भ्याएसम्म गस्ती, पेट्रोलिङ गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । सरकारी तहबाट स्रोत-साधन पर्याप्त उपलब्ध गराए शान्ति-सुरक्षा स्थापना गर्न सहज हुने बताउँदै उनले भने, 'साधन-स्रोतको कमीलाई पूरा गर्न पहल गर्नुपर्छ ।' सो इलाका प्रहरी कार्यालयअन्तर्गत पाँचवटा चौकीमा कुनै सवारीसाधन छैनन् । प्रहरी निरीक्षक पराजुली भन्छन्, 'साधन अभावमा गाउँलेको साइकल मागेर सुरक्षा दिनुपर्ने बाध्यता छ ।' सरकारले उपलब्ध गराएको स्रोत-साधन पर्याप्त नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले स्विकारे । केही मात्रामा उपलब्ध स्रोत-साधनबाट शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहेको उनले बताए । सप्तरीमा अञ्चल, जिल्ला, इलाका, चौकी गरी ३९ वटा प्रहरी कार्यालय छन् । केही कार्यालयबाहेक अरूमा प्रशस्त भौतिक स्रोत-साधनको कमी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भुटानमा माओवादी आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा रहेका भुटानी माओवादी लडाकूले भुटानमा शक्तिशाली बम विस्फोट गराई चारजना वन कर्मचारी (रेन्जर) को हत्या गरेका छन् । रेन्जरको हत्यापछि भुटान सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।भुटानी प्रहरी प्रवक्ताको भनाइ उद्धृत गर्दै एक प्रसिद्ध भारतीय समाचार एजेन्सीले जनाएअनुसार बिहीबार साँझपख दक्षिणी भुटानको सार्पाङ जिल्लाको सिंघे गाउँमा विस्फोट गराइएको थियो । '६ जना भुटानी वनरक्षक सारपाङ सहरमा किनमेल गरी फिब्सु गाउँस्थित आफ्नो शिविरतर्फ र्फकंदै गर्दा उनीहरू चढेको ट्याक्टर सडकमा बिछ्याइएको धरापमा ठोकिन पुगेको थियो,' प्रवक्ताले भने, 'विस्फोटपछि चारजनालाई गुरिल्लाहरूले गोली ठोके र पछि तिनका लासलाई झिकेर आगो लगाए । विद्रोहीहरूले वनरक्षकका बन्दुक खोसे । दुईजना केही गरेर बाँच्न त बाँचे, तर नराम्ररी घाइते हुन पुगे । यो काम नेपालमा रहेका भुटानी कम्युनिस्ट पार्टीको हुन सक्छ ।'नेपाली मूलका भुटानीहरू बढी संख्यामा आबद्ध सो पार्टी भुटानी शाहीतन्त्रको विरोधमा हिंसात्मक संघर्षमा उत्रेको छ । भुटानी फौजले मे महिनामा पाँच भुटानी कम्युनिस्ट विद्रोहीलाई हत्या गरी अन्य १७ जनालाई पक्रेको थियो ।

प्रचण्ड दोस्रो दिन पनि सम्बोधन नगरीकनै फर्किएका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने तयारीसहित बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोस्रो दिन पनि सम्बोधन नगरीकनै फर्किएका छन् । कांग्रेससित बल्लतल्ल कुरा मिले पनि साना दलले नयाँ बखेडा झिकेर बैठक अवरुद्ध बनाए । यसअघि १३ पुसमा पनि सम्बोधन गर्न संसद् पुगेका प्रधानमन्त्री चार घन्टा कुरेर फर्केका थिए । गत २६ कात्तिकमा भएको नौबुँदे सहमतिको समयसीमा तोकेर कार्यान्वयन गर्ने सम्बन्धमा कांग्रेस नेताहरूसित बिहीबार सहमति भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, सरकारले संसद्मा ल्याएको छात्रवृत्तिसम्बन्धी (तेस्रो संशोधन) विधेयकमा दलित विद्यार्थीको कोटा घटाइएको विरोधमा दलित जनजाति पार्टीलगायतका साना दलहरूले सदन अवरुद्ध गरे । प्रधानमन्त्री प्रचण्डले बैठकस्थलमै दलित जनजाति पार्टी र चुरेभावर राष्ट्रिय एकता पार्टीका सभासद्हरूसित करिब एक घन्टा छलफल गरेका थिए । साना दलहरूले विधेयकमा कटाइएको दलित छात्रवृत्ति कोटा बढाइनुपर्ने अडान राखेपछि सहमति हुन सकेन । उनीहरूले रोस्ट्रम घेरेर सदन चल्न नदिने चेतावनीसमेत प्रधानमन्त्रीलाई दिएका थिए । यसअघि दलित विद्यार्थीलाई दिइँदै आएको १५ प्रतिशत छात्रवृत्ति कोटा घटाएर विधेयकमा ९ प्रतिशतमा बनाइएको थियो । सहमति हुन नसकेपछि संसद् बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि स्थगित गरिएको छ । बैठक लगातार सातौंपटक स्थगित गरिएको हो । सरकारी प्रतिबद्धताअनुसार आफ्ना नौबुँदे माग कार्यान्वयन नभएको भन्दै कांग्रेसले बैठक बहिस्कार गर्न थालेपछि गत ३ पुसदेखि संसद् स्थगित हुँदै आएको छ ।'कांग्रेससित सहमति भएको थियो । छात्रवृत्तिसम्बन्धी विधेयकमा कुरा मिलेन । त्यसैले हिँडेँ,' बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसित भने । दलित जनजाति पार्टीका एकमात्र सभासद् विसेन्द्र पासवानले भने सरकारले विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने बताए । 'कुरा समावेशी गर्ने अनि दलितलाई मार्ने ढंगले विधेयक ल्याउने ? सरकारले विधेयक फिर्ता लिनुपर्छ,' उनले भने ।शिक्षामन्त्री रेणु यादवले भने निजामती ऐनलाई आधार बनाएर नै विधेयक तयार गरेकाले कसैमाथि भेदभाव नगरिएको बताइन् । 'कसैमाथि भेदभाव गरिएको छैन । यस्तो ढंगले न त कुनै विधेयक पारित हुन्छ न नयाँ नेपाल बन्छ,' उनले पत्रकारहरूसित भनिन् ।यसअघि, प्रधानमन्त्री प्रचण्ड कांग्रेसका नौबुँदे माग समयसीमा तोकेर कार्यान्वयन गर्न तयार भएका थिए । कांग्रेस नेताहरू र प्रधानमन्त्री प्रचण्डबीच बिहीबार साँझ बालुवाटारमा झन्डै तीन घन्टा लामो छलफलपछि सरकार सहमतिमा आएको हो । यस सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले सदनसमक्ष प्रतिबद्धता जनाउने सहमति दुई पक्षबीच भएको थियो । कब्जा गरिएका सबै सम्पत्ति तीन महिनाभित्र फिर्ता गर्ने र तीन हप्ताभित्र वाइसिएलको अर्धसैनिक संरचना विघटन गरिने सहमति भएको छ । त्यस्तै, कांग्रेसका अन्य सात माग पनि पूरा गर्न सरकार तयार भएको छ । यसैबीच, तराई मधेस लोकतान्त्रिक पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माओवादी नेतृत्वको सरकारले आफ्ना माग कार्यान्वयनका सम्बन्धमा उदासीनता देखाएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

राजधानीमा लगातार विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ पुससुन्धाराको काठमाडौं मलअगाडि बिहीबार मध्याह्न बम विस्फोट भएको छ । विस्फोटमा परी एक भारतीय नागरिक घाइते भएका छन् । भारत बिहारका १६ वर्षीय विमलकुमार गुप्ताको वीर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार अज्ञात समूहले कालो प्लास्टिकमा छोडेको बम विस्फोट भएको थियो । विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेका सातैजना महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।विस्फोट तराईकेन्दि्रत हिंसात्मक गतिविधि गर्दै आएको रणवीर सेनाले गराएको प्रहरीले बताएको छ । भूमिगत संगठन रणवीर सेनाले पाँच दिनभित्र उपत्यकामा गराएको यो तेस्रो विस्फोट हो । शनिबारबाट उसले उपत्यकामा विस्फोटको शृंखला सुरु गरेको थियो । शनिबार बिहान १०:१५ मा त्रिभुवन विमानस्थलको गेटअगाडि रणवीर सेनाले पहिलो विस्फोट गराएको थियो । सो विस्फोटमा बालाजुनिवासी सुष्मा श्रेष्ठ सामान्य घाइते भएकी थिइन् । सोही सेनाले आइतबार बिहान ६:४५ मा दरबार हाइस्कुलअगाडि सुतली बम पड्काएको थियो । काठमाडौं परिसर प्रमुख नवराज सिलवालले मानवीय क्षतिभन्दा पनि जनजीवन आतंकित बनाएर चर्चा बटुल्न रणवीर सेना क्रियाशील भएको बताएका छन् । उनले भने, 'उनीहरूको टार्गेट सानोसानो स्केलमा विस्फोट गराएर आफ्नो प्रचार गराउनु देखिएको छ ।'रणवीर सेनाले हिन्दू अधिराज्यको माग गर्दै सशस्त्र संघर्षको घोषणा गरेको छ । रणवीर सेनाले संविधानसभा चुनावलगत्तै उपत्यकामा हिंसात्मक गतिविधिलाई तीव्रता दिए पनि आठ महिनादेखि यो संगठन निष्त्रिmय बनेको थियो । रणवीर सेनाले नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको निवास, जमल, रत्नपार्क, नयाँबानेश्वर क्षेत्रमा पटकपटक बम विस्फोट गराइसकेको छ । उपत्यकामा बम विस्फोटको घटना तीव्र भएपछि प्रहरी रणवीर सेनाको खोजीमा सक्रिय भएको छ । तर, उसले अहिलेसम्म रणवीर सेनासँग सम्बद्ध कसैलाई पक्राउ भने गर्न सकेको छैन । सिलवालले रणवीर सेनाका व्यक्तिको खोजीका लागि इन्टेलिजेन्सलाई सक्रिय बनाएर सूचना संकलन गरिरहेको बताए । सुरक्षा स्रोतका अनुसार रणवीर सेनाका प्रमुख भैरव सिंह हुन् । भारतको विहारमा रणवीर सेनाको नाममा भूमिपतिहरूको व्यक्तिगत सेना क्रियाशील छ । सो सेनाले आफ्नो मुख्य तारो भारतीय माओवादीलाई बनाउँदै आएको छ । भारतीय माओवादीहरूले व्यक्तिगत जग्गा कब्जा गर्न थालेपछि विहारको अगदी जातिले १९९४ मा यो सेना निर्माण गरेको थियो । नेपालमा क्रियाशील रहेको रणवीर सेना विहारमै क्रियाशील रणवीर सेना नै रहेको सुरक्षास्रोतको दाबी छ । एसपी सिलवालले भने विहारमा क्रियाशील रणवीर सेना र नेपालमा क्रियाशील एकै हुन् या होइनन् अहिले नै ठोकुवा गर्न नसकिने बताए । विस्फोटको घटनामा तीव्रता आएपछि उपत्यकामा शनिबार बेलुकाबाटै प्रहरी सक्रियता बढाइएको छ । अपराधी लज तथा होटलमा लुकेको आशंकामा प्रहरीले छापा मार्ने क्रमलाई समेत तीव्र बनाएको सिलवालले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ पुस,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो रहेको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । विमानस्थल सुधारका लागि तत्काल कदम चाल्न अख्तियारले सरकारलाई कडा निर्देशन दिएको छ । अख्तियारले विमानस्थलको अवस्थाका बारेमा अध्ययनका लागि एक महिनाअघि कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदनले विमानस्थल भद्रगोल अवस्थामा रहेको औंल्याएको छ । प्रतिवेदनका अनुसार विमानस्थलमा राहदानी सक्कली भए-नभएको जाँच्ने उपकरणसमेत प्रयोगमा छैन । आयोगका कामु प्रमुख आयुक्त ललितबहादुर लिम्बूले राहदानी परीक्षण नहुने भएकाले विमानस्थलबाट कुख्यात आतंककारीसमेत सजिलै नेपाल प्रवेश गर्न सक्ने बताए ।उनले भने, 'देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यति भ्रद्रगोल हुन्छ भनेर कल्पनासमेत गर्न सकिँदैन ।'अख्तियारले बिहीबार रक्षा, परराष्ट्र, गृहलगायत मन्त्रालयका सचिवलाई बोलाएर सुधारका लागि निर्देशन दिएको छ । एक महिनाभित्र सुधार नभए सम्बन्धित अधिकारीमाथि कारबाही गर्नेसमेत अख्तियारले जनाएको छ । सचिवहरूलाई लिम्बूले भने, 'जसले गल्ती गरेको छ त्यसलाई अख्तियारले कारबाही गर्छ । अब बहाना बनाई हात खुम्चाएर बस्न कोही पनि पाउँदैन ।' एक महिनापछि विमानस्थल सुधारमा भएको प्रगतिको बारेमा फेरि अनुसन्धान गर्ने उनले जानकारी गराए । कार्यक्रममा निम्ताइए पनि श्रम-सचिव भने अनुपस्थित रहे । अख्तियारले शुक्रबार उनलाई फेरि डाकेको छ । अख्तियारको प्रतिवेदनका अनुसार विमानस्थलमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । शौचालय फोहोर भएर जानै नसक्ने अवस्थामा छ । लुगाभत्ता पाउने धेरै कर्मचारी अनौपचारिक लुगा लगाएर विमानस्थलमा जाने गरेको देखिएको छ । धेरै कर्मचारीले आफ्नो परिचय खुलाउने कार्डसमेत लगाउँदैनन् । त्रिभुवन विमानस्थलमा दैनिक १९ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् । सातामा सोमबार, बिहीबार र शनिबार सबैभन्दा बढी भीडभाड हुन्छ । तर, विमानस्थलमा यात्रुहरूलाई ट्रलीको सुविधासमेत पर्याप्त छैन । यात्रुले ट्रली नपाएर पसिना चुहाउँदै ब्याग बोकेर ओहोरदोहोर गर्नुपरेको प्रमुख आयुक्त लिम्बू बताउँछन् । विमानस्थलमा अहिले नाम मात्रका दुई सय ट्रली छन् । धेरैको चक्का खुस्किएर गुडाउन नमिल्ने अवस्थामा छन् । विमानस्थलमा सुरक्षका लागि ३० वटा सिसिटिभी जडान गरिएको छ । तर, पाँच सिसिटिभी काम गर्न छाडिसकेका छन् भने काम गर्ने टिभीको समेत राम्ररी सदुपयोग हुन सकेको छैन । विमानस्थलको मुख्य द्वार तथा प्रस्थान र आगमन कक्षजस्ता यात्रुको अति भीड हुने ठाउँमा सिसिटिभी राखिएको छैन । प्रतिवेदनका अनुसार यात्रुले बोक्ने झोलाको विद्युतीय चेकजाच गर्ने मेसिनसमेत काम नगर्ने अवस्थामा छ । अध्यागमन विभागले विमानस्थलमा राखेका २२ डेक्सले प्रभावकारी रूपमा काम गर्न नसकेको प्रतिवेदनले औंल्याएको छ । विमानस्थलमा रहेका धेरै कम्प्युटरले लामो समयदेखि काम गर्न छाडिसकेका छन् ।विमानस्थलको प्रस्थान र आगमन हलमा फोहोरको व्यवस्थापन हुन सकेको छैन । कर्मचारीको लापरबाहीका कारण अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुको राहदानीमा आगमनको छापसमेत नलगाउने गरिएको अनुसन्धानले देखाएको छ ।विमानस्थल आर्थिक अनियमिता र भ्रष्टाचारको अखडा भएको भन्दै अख्तियारले पाइला-पाइलमा पैसा असुल्ने काम हुने गरेको औंल्याएको छ । विमानस्थलमा रहेका ट्याक्सी प्रयोग गर्दा यात्रु ठगिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

Jan 1, 2009

नेपाली महासंघ हङकङको दशौं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङ नेपाली महासंघले हिजो याउमातईस्थित कम्युनिटिहलको एक सभा कक्षमा आफ्नो दशौं वार्षिकोत्सवको कार्यक्रम तथा दश वर्षको अवधिलाई आधार मानेर,
गत सालबाट सञ्चालनमा ल्याइएको पदक तथा पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिँदै समाजका विभिन्न व्यक्तित्वहरुलाई कदर गर्ने, सम्मानित गर्ने तथा पुरस्कृत गर्ने कार्यलाई समारोहको स्वरुपमा सम्पन्न गर्‍यो । यस दशकको अवधिमा नेपाली साहित्यलाई टेवा दिँदै पुस्तकहरुको प्रकाशन गर्ने साहित्यकारहरु, नेपाली गीत-संगीतमा योगदान दिँदै क्यासेट, सीडीका साँगीतिक एलबमहरुको सार्वजनिक गरेका सँगीतकारसहित गायक, गायिकाहरु, खेलकूद क्षेत्रको तेक्वान्दो, सितेरियो तथा फुटबल जस्ता खेलहरुमा लागेर पदक जित्ने खेलाडीहरुसहित तिनका प्रशिक्षकहरु, नेपाली विद्यालयका अधिकारीहरुलगायत हङकङ नेपाली महासंघलाई आर्थिक सहयोग दिने दाता अनि हङकङेली नेपाली समाजलाई एकत्रित गराएर अनि सबैलाई मिलाएर लानका लागि अनवरत प्रयास गर्ने महासंघका संस्थापक तथा भूतपूर्व पदाधिकारीहरु आदिलाई प्रशंसा पत्र, कदर पत्र, प्रशंसा पत्र, तथा पदक र प्रमाण पत्रहरु प्रदान गर्‍यो ।
दिइएको समयभन्दा ढिलो शुरु भएको उक्त दशौं वार्षिक उत्सवको कार्यक्रमलाई महासँघका महासचिव वसन्त निरौलाले सञ्चालन गरेका थिए । महासंघका उपाध्यक्ष हर्क रानामगरले नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई महासंघको तर्फबाट स्वागत गरेका थिए । हङकङ नेपाली महावाणिज्यदूतावासबाट महावाणिज्यदूत केशव प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा बसेको उक्त औपचारिक कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष हेम लिम्बूले गरेका थिए । महासंघका संस्थापक अध्यक्ष मणिकिराँत वान्तवा, भूतपूर्व अध्यक्ष गणेश इजम, भूतपूर्व अध्यक्ष्य हेजेन राई, यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञात, आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वा आदि अतिथिहरु रहेका थिए ।
सचिवालय सदस्य किसन राईले पदक तथा पुरस्कार वितरणको र त्यसमा महासंघले अख्तियार गरेको वर्गिकरण, महासंघले निकालेको नतिजाको आधारको
बारेमा विस्तृतमा चर्चा गर्ने क्रममा महासंघले पुरस्कार तथा पदकहरु वितरण गर्ने कार्यलाई निरन्तरता दिनका लागि, अनि निरन्तरता जगाउने अभिप्रायले समाजमा एक पटक आएर अहिले विलाउन थाल्दै गरेका व्यक्तित्वहरुलाई फेरि जगाउनका लागि पनि दिँदै गरेको खुलासा गरेपछि विधिवत रुपमा कदर तथा प्रशंसा पत्रहरुको वितरण प्रमुख अतिथि केशव प्रसाद भट्टराई, महासंघका संस्थापक अध्यक्ष मणि किराँत वान्तवा, भूतपूर्व अध्यक्ष गणेश इजम, यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, भूतपूर्व अध्यक्ष हेजेन राईबाट भएको थियो ।
उक्त कदर तथा प्रशंसा पत्रहरु प्राप्त गर्ने साहित्यकारहरु, गायक, गायिका तथा संगीतकारहरु, प्रशिक्षक तथा खेलाडीहरु, महासंघका दाताहरु, विद्यालयका अधिकारीहरु, महासंघका भूतपूर्व पदाधिकारीहरु आदिका नाम तथा योगदानहरुको लिस्ट निम्न छन्ः-
प्रशंसापत्र-पुस्तकाकार रुपमा साहित्य सिर्जना गरेवापत :-
प्रद्वय (शब्दघोष जिजीविषाको :कथा संग्रह), नेपाल कुस्सा (छोटो फ्रक :उपन्यास), प्रकाश छाङ्छाराई (पुल तरेपछि हराएको मान्छे :कविता संग्रह), राई चन्द्र दुमी (मीठू :कथा संग्रह), मालिकराम राई (मालिकराम राईका कथाहरु :कथा संग्रह), रामकृष्ण वान्तवा (सघन तुँवालो :उपन्यास), हिमकला राई (चौतारा :कथा संग्रह) तथा कदर-पत्र पुस्तकाकार रुपमा साहित्य सिर्जना गरेवापत : नरेश सुनुवार (जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले..सेक्सेलेले :कविता संग्रह), देश सुब्बा (आदिवासी :उपन्यास) र प्रकाश के.सी. (हङकङ डायरी :संस्मरण सँगालो)(टंक सम्वाहाम्फे - युद्ध भित्र उभिएका वुद्धहरु)
त्यस्तै गीत तथा संगीतमा प्रशंसापत्र-
गीति सँगालो निकालेवापत वीरबहादुर थापा, डीबी पालुङ्वा, डम्बर गुरुङ, ज्ञान सुब्बा, कविन राई, यल.बी. मुखिया, लक्ष्मण गुरुङ, महेश शील्पकार, नन्द चङ्सु, फुर्वा शेर्पा, रामकृष्ण वान्तवा, सोम थापा, श्याम गुरुङ, शीतल पुन, टोपराज लामा, लक्ष्मी सम्वाहाम्फे, विनोद मेखु राई, पारु सुनुवार र हिमकला राई थिए भने यही विधामा कदरपत्र पाउनेहरु दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, अन्तिम राई, टंक सम्वाहाम्फे र भगत सुब्बा थिए । खेलकूद विधामा प्रशंसापत्र प्राप्त गर्नेहरु राजु गुरुङ (यचकेयनटीए), राजेश श्रेष्ठ (सितेरियो करांते), कुश थापा (न्यू जेनेरेसन तेक्वान्दो), प्रेम थापा (न्यू जेनेरेसन तेक्वान्दो), रबिल सुब्बा (न्यू जेनरेसन तेक्वान्दो), क्षेत्र गुरुङ (न्यू जेनेरेसन तेक्वान्दो), मीलन राई (एभरेष्ट तेक्वान्दो) र दिलप्रसाद लिम्बू (एभरेष्ट तेक्वान्दो) तथा कदरपत्र पाउनेहरुमा तुलशीकुमार गुरुङ (यचकेयनटीएका लागि), राजु खड्का (न्यू जेनेरेसन तेक्वान्दोका लागि), रबिन नाल्बो (एभरेष्ट तेक्वान्दोका लागि) र हरि तामाङ (कोरियन तेक्वान्दो-हरि तामाङ क्लवको लागि) थिए ।
नेपालीका व्यवस्थापनमा सञ्चालित विद्यालयहरुका व्यवस्थापक वा प्रतिनिधिहरुलाई विद्यालयका लागि कदरपत्र प्रदान गरिएको थियो जसमा पनटेसिया प्राथमिक विद्यालयका लागि उत्तरमान लिम्बू, लिटल बड्स किन्डर गार्टनका लागि धन थापा, पृष्टियन किन्डर गार्टनका लागि जगदिश आले र सगरमाथा किन्डर गार्टनका लागि कमला राई र ट्यालेन्ट हण्टको व्यवस्थापन तथा सञ्चालनका लागि सञ्चालिका लक्ष्मी राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । पत्रकारितातर्फ कुलप्रसाद गुरुङ (नेपाल पोस्ट), देबराज राई (आलोपालो डट कम), क्रान्ति सुब्बा (अविराम), अधिराज राई (मूलबाटो डट कम) र मातृदीप राई (फोटोपत्रकारिता)लाई प्रशंसा पत्र र किसन राई (एभरेष्ट), पसन तमू (यचके नेपाल डट कम) र जगत गुरुङ (फोटो पत्रकारिता)लाई कदरपत्र प्रदान गरिएको थियो । हङकङ नेपाली महासंघलाई निरन्तर रुपमा आर्थिक सहयोग गर्ने दाताहरुमा राजेन्द्र कुमार श्रेष्ठ, जगन नाथ ज्ञवाली, तेज बहादुर राई, कालु घले, वाई.बी. राई, उत्तरमान लिम्बू, धन थापा, त्रिलोक विश्वकर्मा र टंक रानामगरलाई कदरपत्र प्रदान गरिएको थियो भने महासंघले हङकङेली नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने प्रयासमा लाग्ने आफ्ना संस्थापक अध्यक्ष मणिकिराँत वान्तवालाई सम्मान पत्र तथा अन्य भूतपूर्व अध्यक्षहरु भोलानाथ थापामगर, गणेश इजम र हेजेन राईलाई कदरपत्र प्रदान गरिएको थियो ।
हङकङ नेपाली महासंघले गत सालबाट वितरण गर्ने गरेको हङकङ नेपाली पुरस्कार तथा हङकङ नेपाली पदक र त्यसलाई यो पटक कसरी प्रदान गरिँदैछ भन्ने बारेमा महासंघका अध्यक्ष तथा कार्यक्रमका सभापति हेम लिम्बूले प्रकाश पारेका थिए । जसमा अनलाइन मिडिया, छापा मिडिया, खेल सितेरियो, साहित्य संस्थालाई महासंघले छानेको बताएपछि कङकङ नेपाली पदक (प्रथम, दोस्रा तथा तेस्रा) प्रदान गरिएको थियो, जो निम्न प्रकारका छन्ः-
नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेलाई साहित्य विधाको लागि हङकङ नेपाली पदक -प्रथम, यचके नेपाल डट कमका सम्पादक पसन तमूलाई पत्रकारिता विधाको लागि हङकङ नेपाली पदक (दोस्रा), फुटबलका पूर्व खेलाडी तथा वर्तमान प्रशिक्षक विकास गुरुङलाई खेलकूद विधाका लागि हङकङ नेपाली पदक (दोस्रा), सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङलाई पत्रकारिताको लागि हङकङ नेपाली पदक (तेस्रा) नेपाल डट यचकेका सम्पादक प्रकाश के.सी.लाई पत्रकारिताको लागि हङकङ नेपाली पदक (तेस्रा), सितेरियो कराँते डो, गोर्खा कम्युनिटिका हेम पुनलाई खेलकूद विधाका लागि हङकङ नेपाली पदक (तेस्रा) र एभरेष्ट फूटबल क्लवकी नैना गुरुङलाई खेलकूद विधाको लागि हङकङ नेपाली पदक (तेस्रा) ।
अन्त्यमा, प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराईबाट छोटो मन्तव्य सकिएपछि, सभापति हेम लिम्बूले कार्यक्रमको विसर्जन गरेका थिए । कार्यक्रममा हङकङेली नेपाली समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरुको राम्रो उपस्थिति रहेको थियो । कार्यक्रम ०८ बजे शुरु भई १० बजे राति समाप्त भएको थियो ।

लिम्बुवान मोर्चा र मञ्चबीच एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी निकट लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्वुवान स्वायत्त सरोकार मञ्च विच एकता भएको छ। मंगलवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणा गरियो । दुवै संगठनको न्युनतम लIय लिम्वुवान स्वायत्त राज्यको प्राप्ती भएको र लिम्वु जातीको मुक्तिका लागि जारी संघर्षको न्युनतम अवधारणा समान रहेकोले एकता सम्भव भएको मोर्चाका अध्यक्ष श्रीप्रसाद जवेगुले बताउनुभयो। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जयकुमार केरुङ्गले आत्मनिर्णयको अधिकार सहितको लिम्वुवान स्वायत्त राज्य स्थापना गर्ने अभियानलाई निर्णायक र परिणाममुखी बनाउन दुवै राजनैतिक संगठनहरु विच एकता गरिएको बताउनुभयो।