News

Jan 2, 2009

मागेको साइकलबाट प्रहरी गस्ती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ पुस सरकारले शान्ति-सुरक्षा सुदृढ गर्न तराईमा विशेष सुरक्षा रणनीति लागू गरे पनि गस्तीमा निस्कने प्रहरीलाई स्रोत-साधनको अभाव छ । सवारीसाधन अभावमा ग्रामीण क्षेत्रका प्रहरी गाउँलेसँग साइकल मागेर गस्ती गर्न बाध्य छन् । सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील सप्तरीमा दैनिकजसो हत्या, अपहरण, लुटपाट घटना भइरहेका छन् । तर, ग्रामीण क्षेत्रका प्रहरी कार्यालयमा भने सवारीसाधन छैनन् । केही कार्यालयमा सवारीसाधन भए पनि इन्धन अभाव रहेको प्रहरीहरू बताउँछन् । साधन-स्रोतको अभावमा गाउँलेको साइकल मागेर भए पनि गस्ती गरिरहेको प्रहरी चौकी महुलीका सई गोपालबहादुर थामीले बताए । उनले भने, 'शान्ति-सुरक्षाको मूल दायित्व पूरा गर्न साइकलबाटै भए पनि गस्ती गरेका छौँ ।' सुरक्षा रणनीति लागू गरे पनि सरकारले आवश्यक स्रोत-साधन उपलब्ध नगराएको प्रहरीको गुनासो छ । सीमित स्रोत-साधनबाट पनि भ्याएसम्म गस्ती, पेट्रोलिङ गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । सरकारी तहबाट स्रोत-साधन पर्याप्त उपलब्ध गराए शान्ति-सुरक्षा स्थापना गर्न सहज हुने बताउँदै उनले भने, 'साधन-स्रोतको कमीलाई पूरा गर्न पहल गर्नुपर्छ ।' सो इलाका प्रहरी कार्यालयअन्तर्गत पाँचवटा चौकीमा कुनै सवारीसाधन छैनन् । प्रहरी निरीक्षक पराजुली भन्छन्, 'साधन अभावमा गाउँलेको साइकल मागेर सुरक्षा दिनुपर्ने बाध्यता छ ।' सरकारले उपलब्ध गराएको स्रोत-साधन पर्याप्त नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले स्विकारे । केही मात्रामा उपलब्ध स्रोत-साधनबाट शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहेको उनले बताए । सप्तरीमा अञ्चल, जिल्ला, इलाका, चौकी गरी ३९ वटा प्रहरी कार्यालय छन् । केही कार्यालयबाहेक अरूमा प्रशस्त भौतिक स्रोत-साधनको कमी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments: